चरम खाद्यको संकटमा बाजुराको रुढी गाउँ

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ को रुढी गाउँ आठ वर्षदेखि चरम खाद्य संकटको चपेटामा परेको छ । रुढी गाउँमा रहेका एक सय बढी परिवार बाह्रै महिना चरम खाद्य संकटको चपेटामा परेका हुन् । लगातारको खडेरी र गाउँमा रहेको रुढी सिँचाइ कुलो सुक्खा पहिरोले बगाएपछि खेतीयोग्य जमिन आठ वर्षदेखि बाँझै रहेको स्थानीय वीरबहादुर कार्कीले बताउनुभएको छ । जग्गा भए पनि न पानी प¥यो, न सिँचाइ कुलो बन्यो, पानी आए पनि खेती लगाउने बेला आउँदैन उहाँले गुनासो गर्नुभयो ।

बाह्रै महिना किनेर खानुपर्ने बाध्यता भएपछि यहाँका पुरुष जति रोजगारीका लागि भारतमा जाने गरेको कार्कीको भनाइ छ । दुई करोडभन्दा बढी लगानीमा सिँचाइ कुलो निर्माण भएको केही वर्षमै सुक्खा पहिरोले सिँचाइ कुलो बगाएको थियो । पटक-पटक मर्मत गर्न लागे पनि पहिरोका कारण सिँचाइ कुलो सञ्चालनमा आउन नसकेको यहाँका स्थानीय बताउँछन् । सिँचाइ हुँदा रूढी गाउँ खेतीयोग्य ठाउँका रूपमा चिनिने गरेको थियो । अहिले यहाँ जग्गा बाँझै छ, जग्गा हेरेर चित्त बुझाउनुभन्दा अरू केही काम नभएको स्थानीय दिलबहादुर धामीले बताउनुभयो ।

बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल दूरीमा रहेको यो गाउँमा सरकारको ध्यान जान नसकेको स्थानीयको आरोप छ । ‘बच्चाहरूका लागि खानेकुरा पुर्‍याउन सक्दैनौँ, आफूहरू कसरी पेटभरी खानु, कुनै दिन त खाना नखाएर भोकै बस्नुपर्ने बाध्यता रहेको स्थानीय महिला अर्चना कार्कीले गुनासो गर्नुभयो । नुनको धुलोसँग खाने गरेका छौँ, त्यहीँ पनि मोटो चामलले छाक टारिरहेका छौँ, स्वास्थ्यसमेत कमजोर भएको अर्चनाले बताउनुभयो ।

चरम खाद्य संकटसँगै महिला र बच्चाहरूमा रक्तअल्पता र कुपोषणको समस्या बढ्दै गएको छ । यहाँका स्थानीयले हरियो सागपात, गेडागुडी, फलफूल केही खान पाउँदैनन्, गाउँमा धेरै महिला र बच्चाहरू कुपोषणको सिकार भएको स्वयंसेवीका बिना भुलले बताउनुभयो । महिलाहरूले पेटभरी खान पाउँदैनन्, सुत्केरी महिलाहरू समेत कुपोषित रहेको उहाँले बताउनुभयो । बच्चा पाउने बेला उनीहरूलाई समस्या हुने गरेको समेत उहाँको भनाइ छ । माथि सुक्खा पहिरो छ, तल गाउँ, गाउँ नै जोखिममा रहेको छ, अर्कोतिर लामो समयदेखि खडेरी छ । अन्न लगाउन पाएका छैनन्, पैसा कमाउन पुरुष सबै भारत गएको जानकी तिरुवाले बताउनुभयो । अहिले महिलाहरूमा हातखुट्टा काम्ने, रिंगटा लाग्ने, कमजोरीपन जस्ता समस्या देखा परेको जानकीको अनुभव छ ।

आफूहरू खाद्य असुरक्षित र पहिरोको जोखिममा भएको भन्दै स्थानान्तरणका लागि पटक-पटक सरकारसँग माग र पहल गरेको भए पनि कसैले वास्ता नगरेको स्थानीय चतुर बमले बताउनुभयो । मानव अधिकारको दृष्टिकोणबाट यहाँका बासिन्दाहरूलाई खाद्य अधिकार हनन भएको खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको फियान नेपालका कार्यक्रम निर्देशक अशोक सिंह बताउनुहुन्छ । सामान्य खानसमेत नपाउने, पोषण त उनीहरूका लागि धेरै टाढाको अवस्था हो, उहाँले भन्नुभयो । राज्यले संविधानमा मौलिक हकको व्यवस्था गरेको भए पनि उनीहरू खाद्य अधिकारबाट वञ्चित रहेको सिंहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?