नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा रोकिने

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो ।

एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्न लागिएको हो। मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत भारी सवारीसाधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।

काठमाडौंतर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ। काठमाडौँतर्फबाट आउने मालवाहक सवारीसाधनलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीसाधनलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीसाधनलाई अनुकूलता हेरी छडिनेछ। पोखरा–काठमाडौँ सञ्चालन हुने सवारीसाधनलाई सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्नेछ। निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन्।

सडकखण्डको ठाउँठाउँमा मर्मत पनि यसै समय गरिने छ। नारायणगढ-मुग्लिन सडकखण्डमा २० पुल छन्। तीमध्ये पाँच पुल बनिसकेका छन्। बाँकी पुल बन्ने चरणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?