देउवालाई गगनको आग्रह : उम्मेदवारी फिर्ता लिएर सबै काँग्रेसहरुलाई खुशी हुने मौका दिनुहोस्

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली काँग्रेसहरुमा खुशी र उत्साह हुने बताउनु भयो ।

महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि काँग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गर्नुभयो । उहाँले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गर्नुभयो ।

उहाँले संसदीय दलको नेताको चुनाव नेपाली काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताउनु भयो । महामन्त्री थापाले नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको निर्वाचन भए पश्चात् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरु मध्ये संसदीय दलको निर्वाचन हुन गइरहेको पार्टी नेपाली काँग्रेस मात्रै हो । नेपाली काँग्रेस भित्र हुन लागेको निर्वाचनले पनि काँग्रेस भित्रको आन्तरिक लोकतन्त्रको एउटा परिचय दिइरहेको छ । यो विषयमा हामीलाई सन्तोस र गौरव पनि छ । नेपाली काँग्रेसको संसदीय दलको नेताको उम्मेदवार मलाई प्रश्ताव गर्ने नेता डा. शेखर कोइरालालाई यो क्षणमा आभार प्रकट गर्न चाहन्छु । उहाँलाई आभार र धन्यवाद व्यक्त गर्दछु । उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले मप्रति गर्नुभएको विश्वासलाई हृदयदेखि नमन गर्न चाहन्छु । यो क्षणमा विश्वास,अपेक्षा र अनुरोध गर्छु पार्टी सभापति सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले श्रद्धाका साथमा आग्रह छ । अबको दुई घण्टा पछाडि उम्मेदवारी फिर्ताको समय राखेका छौं । उहाँले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिनेकुरा नेपाली काँग्रेसको जीवनमा एउटा ऐतिहासिक दिन हुनेछ । यसले नेपाली काँग्रेस भित्र एउटा नयाँ उत्साहको तरंग ल्याउनेछ भन्ने विषयमा मनन गर्न आग्रह गर्दछु । रामचन्द्र पौडेललाई पनि नेपाली काँग्रेसको भविष्यप्रति चिन्ता गरेर लोकतन्त्रको बारेमा उहाँले गर्नुभएको चिन्तालाई मनन गर्दै काँग्रेसको भविष्यमा निम्ति काँग्रेस भित्रको परिवर्तनको लागि मनन गर्न आग्रह गर्न चाहन्छु । काँग्रेस नेता प्रकाशमान सिंहलाई पनि अहिलेको क्षणमा विचार गर्न आग्रह गर्नु चाहन्छु । नेपाली काँग्रेसबाट निर्वाचित भएर आउनुभएका सबै सांसदहरुलाई अहिलेको संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन छैन । त्यसैले संसदीय दलको निर्वाचनको लागि मतदान भएर आएका छौं । हामी पार्टीका सदस्यहरु छानेर मतदाता भएका होइनौं । आम जनताले छानेर मतदात भएको हो । म हाल्ने सांसदहरुले हो । सांसदहरुले प्रतिनिधित्व सांसदहरुले गर्नुपर्छ । त्यसैले यो बेला आम मतदाताहरुको माग के छ । उनीहरुले के चाहन्छन् । उनीहरुको प्रतिनिधित्व नेपाली काँग्रेसबाट निर्वाचित सांसदहरुले भोलीको निर्वाचनमा गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टी सभापतिसँग निर्वाचन लड्दै गर्दा विगतमा पार्टी सभापतिसँग उभिएको जस्तै गरी स्मरण गर्नुपर्छ । पार्टीलाई जीवन्तताका लागि यो आवश्यक छ । नेपाली काँग्रेसको भविष्य र अपेक्षासँग यो कुरा जोडिएको छ । नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरेको सुशासन हो । शुशासन र सुखद परिणामका निम्ति काँग्रेसको दाबी हो । यसका निम्ति सांसदहरुले आफ्नो विवेकको प्रयोग गर्नुहुन्छ ।’

महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रश्तावकमा डा. शेखर कोईराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ । संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?