डेब्युमा अहमदको कीर्तिमान

Read Time = 2 mins

कराँची । इंग्ल्याण्डका युवा स्पिनर रेहान अहमदले डेब्यु खेलमै विश्व कीर्तिमानी कायम गर्नुभएको छ । तेस्रो टेस्ट खेलमा पाकिस्तानविरुद्ध डेब्यु गर्नुभएका अहमदले कम उमेरमा ५ विकेट लिने कीर्तिमान कायम गर्नुभएको हो । अहमदले १४.५ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ५ विकेट लिनुभयो । उहाँले १८ वर्ष १२८ दिनमा यो उपलब्धि हासिल गर्नुभएको थियो ।

रेहानले अष्ट्रेलिया कप्तान प्याट कमिन्सको विश्व कीर्तिमान भंग गर्नुभएको हो । प्याट कमिन्सले १८ वर्ष १९६ दिनमा पाँच विकेट लिनुभएको थियो ।

जितका लागि १६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले तेस्रो दिनको खेल सकिँदा १७ ओभरमा २ विकेट गुमाउँदै ११२ रन बनाएको छ । इंग्ल्याण्डका ओपनर बेन डकेट ३८ बलमा ८ चौकासहित ५० तथा कप्तान बेन स्टोक्स १० रनमा अविजित रहनुभएको छ ।

त्यसअघि घरेलु टोली पाकिस्तान दोस्रो इनिङमा २१६ रनमा अलआउट भएको थियोे । पाकिस्तानका कप्तान बाबर आजमले १०४ बलमा ७ चौकासहित सर्वाधिक ५४ तथा साउद सकिलले १३३ बलमा ६ चौकासहित ५३ रन बनाउनुभएको थियो ।

त्यसअघि दोस्रो दिन इंग्ल्याण्ड पहिलो इनिङमा ३५४ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका युवा ब्याटर हृयारी बु्रकले १५० बलमा ८ चौका र ३ छक्कासहित १११ रनको शतकीय इनिङ खेल्नुका साथै विकेटकिपर बेन फोक्स १ सय २१ बलमा ६ चौकासहित ६४ रनमा आउट हुनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?