पाल्पाको न्वागी मेला : नयाँ धान देवतालाई चढाइयो !

दही, चामल खाँदै सोरठी नाचेर रमाइलो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 11 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्थित रैनादेवी मन्दिर परिसर गोखुङ्गामा लागेको दुई दिने न्वागी मेला सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।

यहाँ प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ । वर्षौंदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनमा बृहत्त मेला लाग्ने गर्दछ । नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको हो । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याउने प्रचलन भूवनपोखरी क्षेत्रमा छैन । यदि प्रयोग गरियो भने घरमा अनिष्ट हुने धार्मिक विश्वास छ । यसैले यहाँका किसानले परम्परागत रूपमा न्वागी खाने र पर्वका रूपमा मनाउने गर्छन् । दशैं, तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गरिएको छ ।

यहाँ न्वागी पर्वका दिन देवीलाई काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक चढाइसकेपछि त्यसलाई प्रसादस्वरुप खाने परम्परा रही आएको छ । यसरी चढाएपछि मात्र घरमा भित्र्याइएको नयाँ धानको भात खाने गरिन्छ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरुको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् ।

न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँंगै मौलिक संस्कृति, जीवन पद्धति, कृषक तथा कला संस्कृतिसँग गासिएको छ । रैनादेवी छहरा गाउँपालिकाले इतिहास, परम्परा, कलासंस्कृति जर्गेना गर्दै रैनादेवी धार्मिक क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन दुई दिने न्वागी मेलाको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले बताउनुभयो । न्वागी मेलामा आउने सबै भक्तजन, पर्यटक, तथा दर्शकहरुलाई रैनादेवी मन्दिरमा दही, चामल खुवाउने व्यवस्था मिलाइएको थियो । मेलामा सोरठी नाच प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

मेला समापनका दिन उक्त क्षेत्रमा पुग्नुभएका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले पश्चिम पाल्पाको ठूलो पर्वको रुपमा न्वागी पर्व रहेको बताउनुभयो । न्वागी पर्व परम्परागत कलासंस्कृतिको प्रदर्शन, जर्गेना, तथा स्थानीयतहमा मनोरञ्जनको प्रदान गर्ने पर्व रहेको उहाँको भनाई छ ।

पश्चिम पाल्पामाको साथै गुल्मी र अर्घाखाँचीमा रैनादेवीको ठूलो महिमा र आस्था रहेकाले दिनहुँ धार्मिक पर्यटकले चहल–पहल बढ्दै गएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफुले पहल गर्ने सभामुख घर्तिमगरले बताउनुभयो । विस्तृत परियोजना बनाएर ल्याए बजेटको कमी हुन नदिने उहाँले भुवनपोखरीवासीलाई विश्वास दिलाउनुभयो । आफु भुवनपोखरी क्षेत्रको पनि जनप्रतिनिधी भएकाले यस क्षेत्रको विकास निर्माणमा आफ्नो प्रथामिकता रहेको सभामुख घर्तिको भनाई छ ।

मेलामा पुग्नुभएका जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समितिकी पूर्व कार्यवाहक प्रमुख मिरा मरासिनी, गाउँपालिकाका पूर्व अध्यक्ष राम बहादुर कार्की लगायतले ऐतिहासिक न्वागी मेलाको संरक्षणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिनुुभएको थियो । केही बर्ष देखी गाउँपालिकाले स्थानीय कला संस्कृति बचाउन, युवा पुस्तामा कला संस्कृति सिकाउन न्वागी महोत्सवमा स्थानीय भजन, पञ्चेबाजाको प्रस्तुती र सोरठी ठूलो नाचलाई प्रतियोगिताको रुपमा सञ्चालन गर्दै आएको रैनादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष मिन बहादुर दर्लामीले बताउनुभयो ।

यस्तो छ मन्दिरको इतिहास

किम्वदन्ती अनुसार रैनादेवी मन्दिरनजिकै न्यौपाने ब्राह्मणले गाई पाल्ने र छहरी मगर गोठाला थिए । गाइले दूध नदिएपछि उनीहरू पिछा गर्दै जाँदा जंगलको बीचमा सुनको मौलोमा गाइले दूध चढाएको देखे । दुवैजनाले सुनको मौलो खोज्दै गए । जति खन्यो उति भासिँदै गयो । मौलोको केही टाउको मात्र देखियो । टाउको भाँचेर ल्याउन खोज्दा रगत निस्कियो । देवी रोई कराई उत्पन्न भएको धार्मिक विश्वास रहेको छ । अहिले पनि यहाँ न्यौपाने ब्राह्मण र छहरीलाई यस्तो किम्बदन्ती छ भन्ने गरिएको छ तर, छहरी मगर गाउँमा छैनन् । न्यौपाने भने पूजा गर्न जाने गर्छन् । खनेको खाल्डो अहिलेसम्म भएको जनविश्वासका आधारमा अझै पनि सोही खाल्डोमै पूजा गरिन्छ । देवीको पूजा गर्ने स्थानमा काठका डाँडाभाटाले छोपेर राखिएको छ । त्यसैलाई मन्दिरको स्वरूप दिइएको व्यवस्थापन समितिले जनाएको छ ।

रैनादेवीको वरपरका प्राकृतिक सम्पदामा ऐतिहासिक स्थलहरू रहेका छन् । माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सुत्रहरू प्राप्त गरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि तथा ज्ञवाली वंशका आदिपुरुष सुमेरुको तपोस्थल रिडी, भृगु वंशीय महर्षिहरू, वाल्मीकि र कपिलमुनिको तपोस्थल यसै क्षेत्रमा पर्दछन् । यो क्षेत्र परापूर्वकालदेखि नै पवित्र भूमिको रुपमा रहेको अनुमान गर्न सकिन्छ । रैनादेवी नाम कसरी रहन गयो भन्ने विषयमा विभिन्न मत पाइन्छन् । गुल्मी र अर्घाखाँचीलगायतका क्षेत्रमा रैनादेवीलाई अहिले पनि गोखुंगाकी देवी भन्ने प्रचलन छ । सन् १९१९ मा रैनादेवीलाई चढाएको घण्टामा ‘रोइनादेवी’ उल्लेख गरिएको छ । त्यस समयमा रैनादेवीलाई ‘रोइनदेवी’ भनिने गरेको पाइन्छ । यस क्षेत्रमा परापूर्व कालदेखि नै मगरहरूको राज्य थियो । त्यसैले धेरैजसो ठाउँहरूको नामाकरण पनि मगर भाषाबाटै भएको छ ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरणको समयमा रैनादेवी सपनामा प्रकट भएपछि अर्कोदिन राजाले हे ! गोखुंगाकी देवी तिमी यदि सत्यकी छौँ भने मैले यो पाडोलाई बलिको रुपमा पठाएको छु’ भनी पाडो बलीको लागि पठाएका थिए ।

अहिले पनि मन्दिरमा जेठोपाडोको बलिदिने परम्परा छ । पाल्पाका सेन वंशीय राजा मुकुन्द सेन द्वितीयले १८२९ तिर रैनादेवीको दैनिक पूजाआजाको लागि ४० मुरी धान फल्ने खेत भुवनपोखरीको लामपातेमा गुठीको रुपमा ताम्रपत्र प्रदान गरेका थिए । रैनादेवी जाने जो कोही पर्यटक तीर्थाटनको भावनाले गोखुङ्गा जाने हो भने हरेक आइतबार, दशैंको नवरात्रभर, वैशाखे पूर्णिमा र वैशाखे पूर्णिको १५ दिन पछि पर्ने छोटी पूजा, चैते दशैं, दशैंको पूर्णिमा र मंसिरको न्वागीमा रैनादेवीमा मेला लाग्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?