आफ्नाबारे लेखिएका किताब र निर्माण गरिएका डकुमेन्ट्रीविरुद्ध मुद्दा हाल्ने शोभराजको तयारी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै चार्ल्स शोभराजले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए ।

हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए । त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो ।

तर, यी मुद्दामा १९ वर्ष दुई महिना कैद सजाय भोगिसके पनि आफूमाथि लागेको आरोप भने उनी स्वीकार्दैनन् । यसबारे उनका कानुन व्यवसायी गोपाल शिवाकोटी भन्नुहुन्छ, ‘नेपालमा जन्मकैद गराइयो । त्यो मुद्दामा झुट्टा प्रमाण, कागजात, बयानहरू जुटाएर जबरजस्ती झुट्टा मुद्दामा फसाइयो भन्ने उहाँको भनाइ छ ।’

यसरी झुट्टा मुद्दामा फसाइएको भन्दै शोभराजले सन् २०१०मा संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिमा पत्रसमेत लेखेको उहाँले बताउनुभयो । ‘यहाँ फैसला भएपछि निष्पक्ष सुनुवाइ भएन भनेर संयुक्त राष्ट्रिय संघको मानव अधिकार समितिमा उजुरी पनि हालेका थिए । अनि मानव अधिकार समितिले नै निष्पक्ष भएको देखिएन पुनरावलोकन गर्नू, निर्दोष रहेछ भने क्षतिपूर्ति पनि दिनु भनेर नेपाल सरकारलाई पत्र लेखेको थियो,’ उहाँले भन्नुभयो, ‘८० दिनभित्र जवाफ दिनु भनेर पनि भनिएको थियो । तर नेपाल सरकारले जवाफ फर्काएन ।’

यसरी झुटो आरोप लगाएर बदनाम गराएको र बेइज्जत गर्नेहरूविरुद्ध शोभराजले मुद्दा हाल्नेसमेत उहाँले बताउनुभयो । उनले नेपाल सरकार, उनकाबारे किताब लेख्ने लेखक, डकुमेन्ट्री बनाएर बेइज्जत गर्नेविरुद्ध मुद्दा हाल्ने शिवाकोटीले बताउनुभयो । ‘अब उहाँ स्वदेश फर्किएपछि नेपाल सरकार, उनको बारेमा किताब बनाउने, डकुमेन्ट्री बनाउने, उनले गरेभन्दा बढी बदनाम, बेइज्जत गराउनेहरू विरुद्धमा पनि मुद्दा लड्ने, सबैविरुद्ध मुद्दा लड्ने योजना छ उनको,’ उहाँले भन्नुभयो, ‘बिबिसी, नेटफ्लिक्स, नेपाल सरकारविरुद्ध मुद्दा लड्ने भएका हुन् ।’

केही वर्षअघि कैदीबन्दीहरूको अधिकार, सुविधासम्बन्धी मुद्दा जितेपछि शोभराजले शिवाकोटीसँग सम्पर्क गर्न खोजेका थिए ।

‘कैदीबन्दीहरूको अधिकार, सुविधासम्बन्धी, कोभिडको बेलामा विशेष छुट दिएर राष्ट्रपतिबाट अध्यादेश जारी गराएरै भए पनि गम्भीर प्रकृतिका कसुरदार बाहेकका कैदीबन्दीहरूलाई छाड्ने भन्ने ठूलो मुद्दा जितिएको थियो सर्वोच्चमा,’ उहाँले भन्नुभयो, ‘त्यो मुद्दाबारे सुनेपछि नेपालमा पनि यस्तो वकिल रहेछन् । मेरो काम गरिदिने कोही भएनन् । सहयोग लिनुप¥यो भनेर जेलको चौकीदारसँग कुराकानी गरेको रहेछ ।’ यसरी कुरा आउँदा आफूलाई डर लागेको तर कानुनी सहयोगका लागि आफू तयार भएको पनि शिवाकोटीले बताउनुभयो ।

‘चार्ल्स शोभराजको नाम सुन्दै डर लाग्छ । तैपनि हुन्छ हेरौँला नि भनेको थिएँ । कानुनी सहयोग गर्नलाई त के होला र भनेर कुरा गरियो । तर, पछि केस हेर्दै जाँदा उनीमाथि अन्याय नै भएको देखियो । त्यसयता तीनवटा रिट निवेदन नै हाल्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘यसपालि बन्दी प्रत्यक्षीकरणको रिट हालियो । उनको चालचलन पनि असल देखिएको र सरकारबाट पनि चालचलन खराब रहेको भन्ने जवाफ नआएकाले उनलाई कैदमुक्त गर्न भनिएको हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?