सहकारी दिवसका अवसरमा उत्कृष्ट सहकारी पुरस्कृत

Read Time = 4 mins

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुंगाका सहयात्री भन्दै सहकारीमार्फत् भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघद्वारा १००औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरमा शनिबार आयाजित कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । सहकारी अभियानको सकारात्मक सुझावलाई ग्रहण गर्न सरकार सधैं तयार रहेको भन्दै मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आफू आतुर रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माणमा कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यले पद त्याग गर्नुपर्ने बताउनुभयो । महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी अभियान सरकारसँग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन, २०७२ मा भएको व्यवस्थाअनुसार नै सहकारी संघ/संस्थालाई कर निर्धारण गर्न माग गर्नुभयो ।

घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार
सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । मन्त्री श्रेष्ठले उहाँलाई नगद ५० हजारसहित सम्मान गर्नुभएको हो । उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ दोलखा पुरस्कृत भएको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट प्रत्येक प्रदेशबाट एक/एक प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यीय सहकारी, मधेश प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी, बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी पुरस्कृत भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट बागलुङको कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी, लुम्बिनी प्रदेशबाट बर्दियाको सिको बचत तथा ऋण सहकारी, कर्णालीबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी र सुदूरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी पुरस्कृत भएका छन् । पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?