एमाले र सत्ता गठबन्धनका बलिया उम्मेदवारलाई रोक्न जुम्लामा ज्ञानेन्द्र शाहीको शक्ति कति ?

विजय रावत जुम्ला, संवाददाता
Read Time = 11 mins

जुम्ला । आसन्न मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी रहदाँ जुम्लाको चुनावी चहलपहल निकै तातिरहको छ । आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दलका केन्द्रिय तहका नेतादेखी जिल्ला तहका नेता गाउँ पसेकाछन् । पार्टीका पुरानै एजेन्डा लिएर गाउँमा भोट माग्न उम्मेदवार र कार्यकर्तालाई भ्याइ-नभ्याई भएको छ ।

हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजकबाट राजनीतिकमा प्रदेश गरेका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता समेत हुनुहुन्छ । जुम्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका शाही सत्ता गठबन्धनका र एमालेका बलिया उम्मेदवारलाई रोक्न उहाँको शक्तिलाई आम चासोको रुपमा जुम्लालाई हेरिएको छ । राष्ट्रिय स्तरमा निकै चर्चा र लोकप्रियता बटुलेका शाहीले रोजेको निर्वाचन क्षेत्र जुम्लाबारे अहिले चर्चा-परिचर्चा भइरहेको छ । शाहीले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रिय स्तरमै सुरु भएको छ । उहाँको उम्मेदवारीसँगै जुम्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवार पनि निकै दबाबमा देखिएका छन ।

कस्तो छ जुम्लाको अवस्था ?

जुम्ला एक सघीय निर्वाचन क्षेत्र र दुई प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ । जिल्लाको कुल मतदाता संख्या ६८ हजार ६३८ जना रहेको छ । प्रदेश (क) को मतदाता संख्या ३६ हजार ७८३ जना, प्रदेश (ख) मा ३१ हजार ८५५ जना मतदाता संख्या रहेको छ । प्रदेश सभा (क) मा पातारासी गाउँपालिका, गुठिचौर, तातोपानी र चन्दननाथ नगरपालिका गरी जम्मा चारवटा स्थानीय तह पर्छन् । प्रदेश सभा (ख) मा तिला गाउँपालिका, हिमा, सिंजा र कनकासुन्दरी गरी जम्मा चारवटा स्थानीय तह रहेकाछन् ।

गएको स्थानीय तह निर्वाचन मतको आधार हेर्दा जुम्ला कांग्रेस बलियो क्षेत्रको रुपमा चिनिन्छ । जहाँ सत्ता गठबन्धनबाट लोकप्रिय मानिएकी पुर्व राज्यमन्त्री गोमा गौतम कुवँर चुनावी मैदानमा हुनुहुन्छ । कुवँरले (२०७०) सालको निर्वाचनमा माओवादी केन्द्रबाट सामानुपातिक सासंद्हुदै पशुपन्छी विकास राज्यमन्त्रीको जिम्मेवारी समेत बहन गरीसक्नु भएकाे छ । २०७४ मा भएको संघीय निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुदाँ काँग्रेसका देवेन्द्र बहादुर शाहीलाई झण्डै दोब्बर मत अन्तरले माओवादी केन्द्रका गजेन्द्र बहादुर महतले जित हाँसिल गर्नुभएकाे थियाे ।

एमालेका हेभिवेट उम्मेदवार रतननाथ योगीले सत्ता गठबन्धनको तर्फबाट चुनावी मैदानमा होमिएकी गोमा गौतमको सामान गर्नुपर्ने देखिन्छ । स्थानीय तहदेखी राष्ट्रियसम्म परिचय बनाएका पुर्व तिला गाउँपालिका अध्यक्ष तथा एमाले जुम्ला जिल्ला इन्चार्ज योगी चुनावी मैदानमा उत्रिनुभएकाे छ । जुम्लाको चुनावी लेखाजोखा गर्दै गर्दा मुख्यगरी तीन वटा फ्याक्टरलाई विश्लेषण गर्नुपर्ने देखिन्छ । २०७४ को चुनावी समिक्षा, गत वैशाख ३० को स्थानीय तहमा दलहरुले पाएको मतको हिसाब र उम्मेदवारको व्यक्तिगत लोकप्रियता ।

२०७४ को चुनावी नतिजालाई हेर्दा,जुम्लाको एकमात्र संघीय निर्वाचन क्षेत्रमा माओवादीका लागि निकै अनुकुल चुनावी क्षेत्र हो । २०७४ मा झण्डै दोब्बर मतले जितेका माओवादीका उम्मेदवार महत यसपटक चुनावी मैदानमा आएका छैन ।

अर्कोतिर, गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा जुम्लामा ६० वडामध्ये कांग्रेसले २६ वडाध्यक्ष जितेर पहिलो र बलियो शक्तिको रुपमा देखिन्छ । १९ वडामा अध्यक्ष जितेर दोस्रो, माओवादी केन्द्र भएको छ । ७-७ वडाध्यक्ष जितेर तेस्रोमा एमाले र एकीकृत समाजवादी शक्तिको रुपमा देखिएका छन् । नेमकिपाले जिल्लाको सिंजा गाउँपालिकाको वडा नं. ६ मात्रै एक वडाध्यक्ष जितेको छ । दुई जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएकाछन् । स्थानीय तहको निर्वाचनमा जिल्लाको कनकासुन्दरी गाउँपालिको अध्यक्ष,उपाध्यक्ष र वडा नं. ३ वडाध्यक्ष मात्र कांग्रेसले जितेको छ । बाकी वडा नं.१,२,४ र ५ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । वडा नं. ६ मा एमाले ,७ मा समाजवादी र ८ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेकाछन् ।

त्यस्तै गुठिचौरमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष समाजवादीले जितेको छ । जम्मा ५ मात्र वडा रहेको गुठिचौरमा वडा नंं. १ र ४ मा कांग्रेसले अध्यक्ष जितेको छ । ३ मा स्वतन्त्र उम्मेदवार,२ मा समाजवादी र ५ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । पातारासीमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थियो । पातारासीको वडा नं. २,५,६,७ वडाध्यक्षमा कांग्रेसले जितेको छ । वडा नं. १,३,४ मा माओवादीले वडाध्यक्ष जितेको छ । एमाले र समाजवादीले कुनै वडामा आफ्नो अस्तित्व राख्न सकेन । तातोपानीमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले बाजी पारेको छ ।

आठवटा वडामध्ये तातोपानीमा कांग्रेसले वडा नं. १,३,५ मा वडाध्यक्ष जितेको छ । वडा नंं. २,४,७ मा एमाले जितेको छ । ८ मा समाजवादी र ६ मा माओवादी केन्द्रले वडाध्यक्षमा जितेको छ । त्यस्तै तिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । तिलाका नौवटा वडामध्ये कांग्रेसले वडा नं. २,३,५,६,८,९ मा वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले वडा नं. १,७ मा वडाध्यक्ष जितेको छ । एमालेले ४ मा मात्र वडाध्यक्ष जितेको छ । सिंजामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको छ । सिंजाका ६ वडामध्ये कांग्रेसले वडा नं.१,२,एमालेले-४ माओवादी केन्द्रले वडा नं.२,३ र नेपाल मजदुर किसान पार्टीले वडा नं.-६ मा वडाध्यक्ष मात्र जितेको छ ।

त्यस्तै यहाँको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको थियो । हिमा जम्मा सातवटा वडामध्ये वडा नं. १,५,६ मा कांग्रेस,३,४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । २,७ वडामा समाजवादीले जितेको छ । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा प्रमुख स्वतन्त्रबाट राजुसिंह कठायत र उपप्रमुखमा कांग्रेसले जित हासिल गरेको थियो । दशवटा वडा रहेको नगरपालिकामा कांग्रेसले वडा नं. १,२,४,६,८ मा वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले वडा नं. ३,५,९,१० मा वडाध्यक्ष जितेको छ । समाजवादीले -७ मा मात्रै वडाध्यक्ष जितेको छ । नगरमा एमाले कुनै वडामा अध्यक्षमा विजयी हासिल गर्ने सकेन ।

जसलाई हेर्दा, जुम्लामा समग्र गठबन्धन निकै बलियो र शक्तिशालि देखिन्छ । कांग्रेस,समाजवादी र माओवादी केन्द्रको मत हिसाब गर्दा एमाले र राप्रपा भन्दा गठबन्धनको तेब्बर मतले अगाडि देखिन्छ । तर, चुनाव कसको पक्षमा जान्छ भन्ने निर्क्याेल ०७४ को नतिजा र हालै सम्पन्न स्थानीय तहको निर्वाचनले मात्रै गर्न सकिन्न । मतदाताले पार्टीभन्दा उम्मेदवारलाई पनि चयन गर्ने गरेका उदाहरण पनि थुप्रै छन् । जुम्लाको सबालमा पनि उम्मेदवारको चयन पनि निकै महत्वपूर्ण मान्न सकिन्छ । गठबन्धनका उम्मेदवारसँगै एमाले,राप्रपा र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्ले चुनावी मैदानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?