भावी राष्ट्रपतिमा माधव नेपालकाे चर्चा, सुखद राजनीतिक अवतरण

Read Time = 3 mins

काठमाडौं । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् ।

अर्थमन्त्रीसमेत रहनुभएको माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाउनु भयो । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गर्नुभयो । उहाँले सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको पनि नाममा छलफल भएको जनाउनु भएको छ ।

उता, सपथ समारोहमा सहभागीतापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गर्नुभएको छ । उहाँले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गर्नुभएको छ । तर, सञ्चारकर्मीले भावी राष्ट्रपतिमा तपाईको नाम चर्चामा आएको छ भन्ने प्रश्न गर्दा भने, ‘त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् न’ भनेर छलफल भईरहेको बिषयलाई पुष्टि गर्नुभएको छ ।

यद्यपि, उहाँले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने भन्न चाहीँ छुटाउनु भएन ।

यसरी अध्यक्ष नेपालको नाम भावी राष्ट्रपतिमा चर्चा भइरहँदा राजनीतिक वृतामा भने उहाँको सुखद अवतरणका रुपमा समेत चर्चा हुन थालेको छ । लामो समय एमालको नेतृत्व गर्नुभएको नेपालले एक वर्षअघि एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको हो ।

गएको मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उहाँको पार्टीले थ्रेस होल्ड समेत कटाउन नसकेको अवस्थामा १० जना भने सांसद बन्न सफल हुनु भएको छ । पार्टीले सोच अनुसारको नतिजा ल्याएपछि यतिबेला पार्टी भित्रै पनि असन्तोष सुरु हुनु थालेको छ ।

राष्ट्रपतिमा गठबन्धनमा सहमति हुन्छ भने अध्यक्ष नेपालको यो भन्दा सुखद अवतरण कुनै नहुने विश्लेषण हुन थालेको छ ।

यसरी नै एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि भावी राष्ट्रपति इच्छा देखाउँदै आएनु भएको छ । तर, नेकपा एसको भागमा राष्ट्रपति परेपनि उहाँको नाममा सहमति जुट्न नसक्ने जानकारहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?