आजदेखि चितवनमा अटोमोबाइल व्यवसायीको भेला

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शुक्रबार र शनिबार चितवनमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । नाडाका पूर्वअध्यक्ष, नाडाका सातै प्रदेश अध्यक्षलगायत पदाधिकारी तथा नाडाका केन्द्रीय कार्यसमितिको सहभागितामा अटोमोबाइलको वर्तमान अवस्थाबारेमा दुईदिने बृहत् छलफल तथा अन्तरक्रिया हुने नाडाले जनाएको छ ।

नाडा तथा नाडाका प्रदेश एसोसिएसनबीच नेपालको समग्र अटोमोबाइल क्षेत्रले भोग्नुपरिरहेका समस्या र बैंकको उच्च ब्याजदरलगायत चालु पुँजी कर्जा लागूले गरेको जोखिम भार र एलसी मार्जिन सम्बन्धमा व्यवसायीले कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ । नाडाले यसअघि मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत् प्रथम चरणको आन्दोलन घोषणा गरी २२ गते काठमाडौंलगायत सातवटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधन र १५० सिसीभन्दा माथिका मोटरसाइकल आयात खुलाए पनि ब्याजदरलगायत समस्याका कारण अटोमोबाइल व्यवसाय सहजरूपमा सञ्चालन हुन सक्ने अवस्था नरहेको नाडाले जनाएको छ ।

दुईदिने अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा प्रस्तुति दिनुहुनेछ । सोही क्रममा नाडाको १३औँ केन्द्रीय कार्यसमितिको बैठक पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?