नेपालमा शिक्षा व्यवस्थापनको चुनौती

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जित वैभव भाषामै रहन्छन् पछिसम्म यी- सम
विषय प्रवेश :
(विद्यानाम नरस्य रूपमधिकं प्रच्छन्न गुप्तं धनम्)
(शिक्ष् भावमा अ+टाप) शासने धातुबाट यसरी शिक्षा शब्द बन्छ । कडा शासन या अनुशासनबेगर नयाँ कुरा सिक्न नसकिने भएको हुनाले सकारात्मक शासन या अनुशासनको आवश्यकता पर्दछ भन्ने अर्थ हुन्छ शिक्षाको । कुनै पनि काम गर्न योग्य बन्ने इच्छा, निष्णात बन्ने चाहना या अध्यापन शिक्षण आदिलाई पनि शिक्षा नै भनिन्छ । आजका पृष्ठभूमिमा बसेर शिक्षाका सम्बन्धमा चिन्तन गर्दा मानवले आविष्कार गरेका अनेकौं कुराहरू आउँछन् । सबैभन्दा पहिले मान्छेले भाषाको आविष्कार गरेर सबै प्राणीलाई जित्यो । भाषाका अभावमा मान्छे पनि वनमा र ओडारहरूमा एउटा असभ्य बरबर जातिका रूपबाट पारस्परिक भावना या कुरा आदानप्रदान गर्ने प्राणीका रूपमा मान्छे विकसित भयो तर समस्या सकिएका थिएनन् ।

यसलाई कसरी सबै जातिमा पुर्‍याउने ? आविष्कृत वस्तुलाई स्थिरीकरण कसरी गर्ने ? जीवनभोगाइका क्रममा आएका सबै कुरालाई व्यक्त गर्ने शब्दावली या ध्वनिको आविष्कार कसरी गर्ने ? यी समस्याका पहाड मान्छेका मनमा थिए । कमिलो, मौरी, हात्ती, अरिंगाल आदि समूहमा बसेर पनि जातीय उन्नति कुनै पनि प्रकारले गर्न सकेका छैनन् आजका दिनसम्म पनि । हात्ती विशाल कायमात्रै छैन । यसको शारीरिक बलका अगाडि बाघ पनि डराउन विवश छ । उता जलचरमा पनि हृवेल त्यस्तै बलियो र भीमकाय भएको जीव मानिन्छ । यिनका अगाडि पिलन्धरे मान्छे त के थियो र तर आज यसैले विश्व विजय गर्‍यो । यो यति बलियो भएको भाषाका कारणले हो ।

आजको नेपालमा पनि संस्कृत शिक्षा र सरकारी आधुनिक शिक्षा संस्कृत भाषा साहित्य, संस्कार संस्कृतिका साथै आचरणमा गुरुकुलीय शिक्षाका शिक्षार्थी अब्बल रहेका देखिन्छन् । गुरुकुलको शिक्षा पनि गुरु पढेका जान्नेसुन्ने छन् भने तिनको त्यो स्तरीयता त्यहाँको शिक्षा प्रणाली विद्यार्थीको ज्ञानको गम्भीरता आदिमा पनि देखिन्छ ।

भाषाको आविष्कार यसको कल्पना गर्ने र योजना बनाउने दिमागीय शक्तिका कारणले हो । पछि यसले लिपिको पनि आविष्कार गरेर त चार चाँद लायो । अब विश्वमा भएका सारा जीवमध्ये मान्छे सर्वोच्च स्थापित भयो तर पनि मान्छे सन्तुष्ट भएर बसेन । सन्तुष्टिले प्रगतिमा बाधा पार्छ भन्ने उसको सिद्धान्त रहृयो । भाषा र लिपिको विकासपछि उसले विश्वको स्वरूपलाई नै परिवर्तन गर्ने गरी शिक्षाको व्यवस्था र विश्वविद्यालयसम्मका आविष्कारले आजको विश्व चमचम बनेको देखिन्छ ।

असन्तुष्टिका उपलब्धि :
नेपालमा भर्खरै निर्वाचन भयो । यो निर्वाचनले देशका समस्या सुल्झाउनेभन्दा बल्झाउने त्रास बढी अनुभव गर्दै छन् विद्वान्हरू । सरकार राज्य सञ्चालकमात्र होइन देशवासीको अभिभावक र अभिप्रेरक पनि हो । नयाँ कामका निमित्त अभिप्रेरणा दिने र व्यक्ति या समुदायका आपतविपद्मा अभिभावक बनेर प्रस्तुत हुनु राज्य (सरकार) को मूल दायित्व हो । सरकार भनेको जनप्रतिनिधिको समूहबाट बने पनि जनताले त्यसको अनुभव गर्न नसक्दा भने समस्या पैदा हुँदोरहेछ । पञ्चायतकालभन्दा पहिले त्रिभुवन विश्वविद्यालय नेपालमा खुल्यो । यसले नेपालको परम्परित शिक्षा संस्कृतलाई पनि यसै विश्वविद्यालयमा राख्यो ।

राजकीय संस्कृत प्रधान पाठशाला र वेदपाठशालाका नामबाट देशभरि केही पाठशाला थिए । अर्कातिर भारतमा भएको बेलायती उपनिवेशले ल्याएको बेलायती परम्पराको शिक्षाको अनुकरण गर्दै हामीले त्यो बेला पटना विश्वविद्यालय र कलकत्ता शिक्षणालयको स्वीकृतिमा प्राथमिक, माध्यमिक र महाविद्यालयीय शिक्षाको व्यवस्था गरेको कुरो स्पष्टै छ । भारतमा बेलायती उपनिवेशपछि तिनले सोचे, के गर्दा कालकालान्तरसम्म हाम्रो प्रभाव भारतमा रहला भनेर । यसका निमित्त धेरैले काम गरे तीमध्य एक हुन् लर्ड मेकाले ।

यिनले भारतीय उपमहाद्वीपमा प्रचलित (१) गुरुकुलीय शिक्षा, (२) विद्यालयीय शिक्षा (३) महाविद्यालयीय र विश्वविद्यालयीय शिक्षाको व्यवस्था भत्काइयो । यसरी नै गुम्बा शिक्षा, मदरसा शिक्षा र गुरुहरूले चलाएका वाक्परीक्षा प्रणालीका उच्च शिक्षाको जरै उखेलियो । यी सबैका स्थानमा (१) प्राथमिक विद्यालय (प्राइमरी स्कुल) पहाडका गाउँ–गाउँदेखि तराईका गाउँ–गाउँमा भएका भाषा पाठशाला पनि समाप्त गरिए । (२) निम्न माध्यमिक विद्यालय (मिडिल स्कुल) (३) माध्यमिक विद्यालय (हाइस्कुल) (४) कलेज (आइए र बिए) (५) युनिभर्सिटी एमए, पिएचडी आदि ।

यसरी लर्ड मेकालेले आरम्भ गराएको शैक्षणिक संस्थाको सोपानक्रम यस प्रकारको रहेको देखिन्छ । विश्वविद्यालयको आविष्कारले विश्वलाई राम्रो, नराम्रो दुवै गतिलाई अघि बढाउन सक्ने एकमात्र संस्था भनेको विश्वविद्यालय हो । यसको सुव्यवस्थापनले नव–नव आविष्कार गरेर विश्वलाई अर्कै गतिमा पुर्‍याउन सक्छ भने गलत व्यवस्थापनले गलत मानवीय संसाधनको विकास गरेर विश्वलाई नै केही दिन, केही क्षणमा नै ध्वस्त पनि गर्न सक्छ ।

वर्तमान नेपालको शिक्षा प्रणाली :
आजको नेपालमा पनि संस्कृत शिक्षा (गुरुकुलीय (स्वेच्छिक) र सरकारी) आधुनिक शिक्षा (प्राइभेट, सरकारी, आवासीय) संस्कृत भाषासाहित्य, संस्कार संस्कृतिका साथै आचरणमा गुरुकुलीय शिक्षाका शिक्षार्थी अब्बल रहेको देखिन्छन् । गुरुकुलको शिक्षा पनि गुरु पढेका जान्नेसुन्ने छन् भने तिनको त्यो स्तरीयता त्यहाँको शिक्षा प्रणाली विद्यार्थीको ज्ञानको गम्भीरता आदिमा पनि देखिन्छ भने रहरले चलाएका गुरुकुलका विद्यार्थी, गुरु, शिक्षा प्रणाली नै पनि राज्य र समाजका लागि समस्या हुनसक्ने सम्भावना अस्वीकार्न सकिँदैन । झापा जिल्लामा प्रचलित २७ वटा गुरुकुलमध्ये केहीमात्रको सम्भावना राम्रो देखिन्छ । सबैभन्दा राम्रो गुरुकुलीय शिक्षा देवघाट धामको महेश गुरुकुल र हरिहर गुरुकुलमा रहेको देखिन्छ ।

यी दुई गुरुकुल चलाउने सन्यासी रत्न हुन् डा. स्वामी रामानन्द गिरि र स्वामी ज्ञानानन्द सरस्वती । यी दुवै आङ्गल र संस्कृत भाषाका धुरीण विद्वान् भएका हुनाले त्यहाँबाट विश्वको जुनसुकै ठाउँमा पनि आफूलाई सहज व्यवस्थापन गर्ने कला र दक्षता भएका छात्र उत्पादन हुन सकेको देखिन्छ । पौरस्त्य भाषासाहित्य, दर्शन, वैदिक सनातन धर्म-संस्कृतिका क्षेत्रमा यिनले पुर्‍याएको योगदान उपल्ला श्रेणीको छ तर यो कुरो राज्यका नजरमा परेको छैन । राज्यलाई देशमा कति प्रकारका शिक्षा छन् भन्ने पनि थाहा छैन ।

राजनीतिक दाउपेच र अकुत धन कमाएर विदेशी बैंकमा जम्मा गर्ने कुरामा यहाँका प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, सभामुख, एसपी, डिएसपी, सचिवलगायत प्रदेशदेखि गाउँपालिकासम्मका हाकिम ठूलाठालुको जीवनचक्र घुमेको छ । यस्तो किन भयो ? शिक्षा नै मानवजीवनलाई परिष्कार गर्ने, मान्छेभित्रका अनन्त सम्भावना खोतल्ने, खोल्ने र मानव शक्तिको विद्युत् उत्पादन गरेर वितरण गर्ने सर्वोत्तम साधन भनेको शिक्षा नै हो । ग्रिक परम्पराको गणितीय शिक्षा होस् या भारतीय परम्पराको अध्यात्म तत्व मिश्रित शिक्षा होस् । शिक्षाले नै मान्छे मानवबाट देव बन्छ र मानवबाट दानव पनि बन्छ । बनेका उदाहरण पुराण, जातक, त्रिपिटक, बाइबल र कुरान आदिमा पनि उपमा या उदाहरणका रूपमा राखिएका पाइन्छन् ।

नेपालमा अहिले सरकारी शिक्षणालयको अवस्था चिन्ताजनक छ । त्यहांँ दरबन्दी छन् । शिक्षक पनि छन् तर व्यवस्थापन नभएको हुनाले नंगानाचे मैदान भएका छन् विद्यालयहरू । भारतमा सरकारी महाविद्यालयमा नाम निकाल्न सके राम्रो मानिन्छ भने नेपालमा प्राइभेट र सामुदायिक विद्यालयमा भर्ना हुन नपाउने सरकारी विद्यालयमा भर्ना हुन्छन् भने यो नालायकपन सरकारले स्वीकार्नै पर्छ । सरकारले यत्रो साधन, स्रोतको व्यय गरेर पनि हुम्ला-जुम्लाका विद्यालयका विद्यार्थी र काठमाडौं या यस्तै सुगम स्थानका विद्यालयका विद्यार्थीलाई समान अवसर सुविधा पुर्‍याउनु मेरो नैतिक दायित्व हो भन्ने ठानेको संकेत पनि देखिँदैन ।

चीनले, जापानले र कोरियाले आ–आफ्नै भाषाका माध्यमले विकास गरेको देख्दा पनि हाम्रा विद्वान्का गिदीमा भने खैरो छाला, टाई, हृयाट र जिब्रो बटारेर बोल्नुपर्ने अंग्रेजीमा बाहेक ज्ञानविज्ञान र दर्शन तथा नवप्रवर्तन शक्ति अरू कुनै पनि भाषामा छैन भन्ने सोचले घर बनाएको छ । बृहस्पति, ब्रहृमा, विष्णु, शुक्राचार्य, वशिष्ठ, व्यास, शिव, कृष्ण, राम, बलराम र लक्ष्मण के बेलायती शिक्षाबाट आएका थिए ? फिल्मोर तथा नेस्फिल्डको ग्रामर पढेर पाणिनिले व्याकरण लेखेका हुन् कि ? हेमराजको चन्द्रिका र सोमनाथको मध्यचन्द्रिका नै पनि आङ्गल भाषाका प्रभावमा लेखिएका व्याकरण होइनन् । नेपालका सबै क्षेत्रमा देखापरेका समस्या चिन्तनबिनाका गिदीले उत्पादन गरेका समस्या हुन् जस्तो लाग्छ मलाई ।

विकास बजेटमा होइन शिक्षामा हुन्छ :
‘धनै छ सर्वोत्तम सार जे छ’ भन्ने चिन्तनले हामी बिग्रेका हौँ । सुशिक्षाले ती सबै समस्या हटाइदिन्छ । वर्तमान नेपालको प्राथमिक तहदेखि एमएसम्म कतै पनि नैतिक शिक्षाको व्यवस्था छैन । नैतिक शिक्षाबिनाको मान्छे, संस्कार संस्कृतिबिनाको घरायसी वातावरणमा हुर्केका युवायुवतीले आफूलाई जे मन लाग्यो त्यही किसिमले नचलाएर कसरी वर्तने ? यन्नवे भाजने लग्न संस्कारो नान्यथा भवेत् भन्छ नीतिले पनि । संस्कृत शिक्षा, आधुनिक शिक्षा, आधुनिक शिक्षामा पनि निजी, सामुदायिक, सरकारी, मदरसा, गुम्बा, गुरुकुल आदि नामबाट चलेका सबै शिक्षालाई बढ्न पनि दिनैपर्छ र एकरूपता पनि आवश्यक छ नै ।

सरकारले शिक्षाका माध्यमले पनि अनेकौंथरी नागरिक उत्पादन गर्ने गरेका सन्दर्भमा राज्यले एउटा राष्ट्रस्तरीय आधारभूत तहमा मातृभाषामा गाउँ-गाउँमा व्यवस्था मिलाएर, माध्यमिक तहको पाठ्यक्रम बनाएर सातै प्रदेशमा आवास र भोजनसहितका सातवटा माध्यमिक विद्यालय चलाउनुपर्दछ ।

सरकारले शिक्षाका माध्यमले पनि अनेकौंथरी नागरिक उत्पादन गर्ने गरेका सन्दर्भमा राज्यले एउटा राष्ट्रस्तरीय आधारभूत तहमा मातृभाषामा गाउँ-गाउँमा व्यवस्था मिलाएर, माध्यमिक तहको पाठ्यक्रम बनाएर सातै प्रदेशमा आवास र भोजनसहितका सातवटा माध्यमिक विद्यालय चलाउनुपर्दछ । त्यस्ता विद्यालयको समग्र आर्थिक लगानी सरकारी हुनुपर्दछ । विद्यार्थी लिँदा एउटा निश्चित मापदण्ड अपनाएर मानसिकरूपले सक्षम, आर्थिक अवस्थामा मध्यम र निम्न तहको साबित होओस् । सक्नेबाट लिएर नसक्नेलाई दिने नीति अवलम्बन गरिनुपर्दछ । यस प्रकारका विद्यालयको पाठ्यक्रममा संस्कृत, अंग्रेजी, नेपाली, भाषा पढाउनु आवश्यक हुन्छ ।

गणित, विज्ञान र दर्शन ज्ञानात्मक विषयतिर व्यवस्थापन गरिनु आवश्यक छ । सामाजिकतिर इतिहास, भूगोल, समाज संरचना, मनोविज्ञान, कथा, कविता, (बोधात्मक शिक्षाका लागि) । यसरी पाठ्यक्रमको व्यवस्था गर्दा संस्कृतका पनि र आधुनिक विषयका पनि अनेकथरी विधाहरू जसले पढाइ र आर्जनलाई गरिब नेपालीका छोराछोरीले सँगसँगै लिएर उच्च तहसम्म पुग्न सकून् भन्ने कुरालाई दृष्टिगत गरेर व्यवस्था मिलाउनुपर्दछ । नेपाली शिक्षा प्रणालीमा समयको प्रावधान पालन गराउँदा गरिब विद्यार्थी शिक्षाबाटै ठगिए ।
अतः त्यसलाई हटाएर केही अहिले पढेर एक-दुई वर्ष कमाएर त्यो पाठ्यक्रम अघि बढाउन पाउने व्यवस्था गरिनुपर्दछ । यसरी सातवटा आदर्श माध्यमिक विद्यालय पहाड, हिमाल, तराईको सन्तुलन र छात्र एवं छात्राको पनि संख्या सन्तुलन र व्यवस्थापनको सन्तुलन आवश्यक छ । सोच मूल कुरा हो । सोच र चिन्तनले सबै कुराको व्यवस्था मिलाउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?