असफल राजनीति, दोष कसको ?

चूडामणि कोइराला
Read Time = 15 mins

नेपालको इतिहासमै २०४६ सालको राजनीतिक आन्दोलन नै आजसम्म भएको ठूलो परिवर्तनको मूल आन्दोलन हो । त्यसपछि राजनीतिक आन्दोलन भए तर ती सबै व्यक्ति स्वार्थ सिद्धमा मात्र सीमित भए र भइरहेका छन् । अहिलेसम्म धेरै दल र नेताले शासन सत्ता सञ्चालन गर्ने नाममा देश र जनतालाई गुमनाम बनाए । आमजनताले दिल खोलेर अपेक्षाकृत सुधार र परिवर्तन यो भयो भन्ने अवस्था कहाँ छ ? कुन व्यवस्था छ ? कुन राजनीतिक दलले भन्न सक्छन् देश जनताको समुन्नतिका लागि राजनीति ? सबै तन्त्रमा दल मात्र हाबी भएको अवस्था छ आज ।

नेपाली जनताले भोग्न पाएको एउटा कुरो वाक स्वतन्त्रता तर पूर्ण कार्यान्वयनको अवस्था चाहिँ राज्यबाट न्यून रहेको छ । त्यो पनि परिधि र बन्धनमा रहेर । त्यही भएर यहाँ सही र गलतको विरोध हुन्छ । नीति नियम, कानुनको यहाँ राज्य र राज्यका निकायबाटै वर्खिलाप गरिन्छ । ‘रातभरि रुँघो बुढी ज्यूँदै’ भन्ने उखान चरितार्थ भएको छ । आठ वर्ष लगाएर बनाएको नेपालको जारी संविधान राजनीतिक दलहरू र राज्यका केही निकायहरूलाई काउसो बनेको छ । सधैँ राजनीतिका नामबाट देशलाई अस्थिर बनाइराख्ने एउटा मोर्चागामी तत्व सदा हावी छ । जुन सबै शक्ति र भक्तिका मतियार बनी नारदको स्वरूपमा मखुण्डो धारी मतिया बनेका छन् । नेपालमा रहेका सबै राजनीतिक दल त्यही तत्वको इशारामा चलायमान हुँदै आएका छन् ।

संविधानमा लेखिएका अक्षर सबै नेपाली लिपि हुन् तर कार्यान्ययन चाहिँ कसरी भइरहेको छ सबै जानकार नै छौँ । संविधानमा सार्वभौम राज्य, आवधिक निर्वाचनद्वारा नेतृत्व चयन गर्ने, शक्ति पृथकीकरण तथा नियन्त्रण, सन्तुलनको सिद्धान्तलाई अवलम्बन गर्ने भनिएको छ । यतिमात्र कहाँ होर, निर्वाचित जनप्रतिनिधिद्वारा कानुन निर्माण गर्ने, कानुनको हेराइमा सबै समान हुने, मानव अधिकारको प्रत्याभूतिलगायत मूलभूत अधिकार भएको हाम्रो देशको शासन व्यवस्था संविधानमा छ । कानुन उत्कृष्ट छ, व्यवहार, कार्यान्वयन र परिपालना शून्य गतिहीन नै छ ।

आज नेपालमा जे जस्तो परिस्थिति भए पनि जनतासँग प्रत्यक्ष सरोकार भएका विषयमा व्यक्तिभन्दा प्रणालीको विकास गर्न नेतृत्वलाई कतै छेकथुन भएको अवस्था छैन । यदि नेपालको राजनीतिक नेतृत्व सक्षम भएको भए अरू कुनै दातृ निकायको आर्थिक व्ययभार हाम्रा लागि आवश्यक नै थिएन ।

संविधान (विधान) परिवर्तन समय सापेक्ष हुन्छ । कानुन परिवर्तनशील हुन्छ र भइरहेको छ । समय सापेक्ष कानुन संशोधन हुने भएपछि प्रजातान्त्रिक प्रणालीलाई गलत भन्न सकिँदैन । प्रजातान्त्रिक व्यवस्था राम्रो हुँदा-हुँदै पनि किन हाम्रो मुलुकमा शासन उत्कृष्ट हुन सकेन ? गम्भीर प्रश्न हामी सामू पलपल यही विषयमा खडा भइरहेको छ । यसो हुनुमा एउटैमात्र कारण छैन । राजनीतिक दलको व्यक्ति स्वार्थ सिद्ध भाव रहेको अवश्य छ र हो । सरकारमा जाने भनेको राजनीतिक दलको नेता नै हो । जुन दलको जो व्यक्ति सरकारमा गए पनि ऊ अहंकारी बन्ने गरेको छ । कुर्सीका भोका नेताले कुर्सी पाएपछि जनभावनाका चाहना सबै तिलाञ्जलि दिएर आफ्नो कृपावादको रै-रवैयामा रम्ने गरेका छन् । रम्न पनि कति रम्ने त्यो हेक्का नेतामा हुनै छाड्यो ।

नेपालमा प्रमुख कारण दलहरूमा नेताको असक्षमताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विदेशीको हस्तक्षेप हुने गरेको सर्वत्र जानकारी नै छ । विदेशीहरूको इशाराले गर्दा कुनै पनि व्यवस्था सफल हुन नसकेको र नेपाली जनतालाई एक आपसमा लडाएर आफ्नो स्वार्थमा रमिरहेका विदेशी शासकको प्रवृत्तिलाई हामीले अवज्ञा गर्न नसक्नु नै नेपाल र नेपालीको असक्षमता हो । राजनीति यदि नीति र परिधिमा मात्र हिँडिदिएको भए नेपाल आज स्वर्गको नमुना हुने थियो । अहिले नेताले दिने भाषणमा भन्ने गरिन्छ, म त्यो पदमा पुगे भने नेपाललाई सिंगापुर, थाइल्याण्ड जस्तो बनाएर छोड्छु । आज नेपालमा जे जस्तो परिस्थिति भए पनि जनतासँग प्रत्यक्ष सरोकार भएका विषयमा व्यक्तिभन्दा प्रणालीको विकास गर्न नेतृत्वलाई कतै छेकथुन भएको अवस्था छैन । यदि नेपालको राजनीतिक नेतृत्व सक्षम भएको भए अरू कुनै दातृ निकायको आर्थिक व्ययभार हाम्रा लागि आवश्यक नै थिएन ।

नेपालमा २०४६ को प्रजातन्त्रको उदयपछि जे जति परिवर्तन भए स्वार्थगत रूपमै भए र हुँदै आएका छन् । संवैधानिक अंग तथा राज्यका विभिन्न निकायमा जे जति नेतृत्व आए/गए तर अपवादबाहेक सबै असफल मात्रै भएनन् कुरूप पनि भएर गए । २०७४ मा भएको निर्वाचनमा एमालेमा माओवादी विलय कि मोओवादीमा एमाले विलय भएर बनेको गठबन्धनले लगभग दुई तिहाइ नजिकबाट नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री बन्ने अवसर पाए । उनले सो अवसरलाई पंगु बनाउने कार्य गरे, त्यो अवस्था बताइ रहनुपर्ने छैन किन कि हामी सबैमा जगजाहेर नै छ उनकको त्यो अहंकार । इतिहासमा कहिल्यै नमेटिने दाग लागेका ओलीले ‘कू’ कर्म नै गरे संसद विघठन । जनताको सर्वोपरि निर्वाचित संसद्लाई कार्यकाल अगावै पटक-पटक घाँटी निमोठी विघठन गरे । त्यो कदम नेपाली राजनीतिका लागि अर्को कालो त्यो मसान घाटको रात बन्यो भने जनताका लागि नेकपा एमाले पार्टी र केपी ओली अभिशाप बने । अन्त्यतः ओलीको असंवैधानिक कदमको टुंगो संवैधानिक न्यायालयले लगाउनुपर्‍यो । ताकि न्यायालयले प्रधानमन्त्री केपी ओलीले गरेको दुई पटककै संसद् विघटन असंवैधानिक ठहर गर्‍यो । असफल राजनीति दोष कसको .....?

राजनीतिले नयाँ स्वरूपको निर्माण गर्‍यो, ‘नहुने बेला गोरु ब्याउँछ’ भन्ने उखान चरितार्थ बन्यो । अन्तत : संसद्को दोस्रो दल तथा प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसले अन्य दलको सहयोगमा सरकार सञ्चालनको सु–अवसर पायो र नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने, आज उनी त्यही कदमको बलबाट प्रधानमन्त्री पदमा विराजमान् छन् ।

अब हाम्रो दृष्टिकोण
सबै हामी फूल फूलेको हेर्न रुचाउँछौँ, उज्यालो मन पराउछौँ, आदि नकारात्मकभन्दा सकारात्मक हुन रुचाउँछौँ । नकारात्मक व्यक्ति, विचार, लेख आदि खहरे जसरी आउँछन् र जान्छन्, तर सकारात्मक व्यक्ति, विचार, लेख र मन्थन नदीको गहिराइ जस्तो शान्त हुन्छन् । कतिपय अवस्थामा हामीले बाहिरबाट हेर्दा नकारात्मकता देखिए पनि जो कसैको चाहना र लक्ष्य सकारात्मकतातिर लम्किरहेको हुन्छ ।

तर नेपाली राजनीतिका हरेक विषय आमजनमानसले हेर्दा अवस्था ठ्याक्कै उल्टो देख्न सकिन्छ । नेपालको परिवेषमा आममानिसको मनोविज्ञानलाई केवल नकारात्मक हुने परिवेशमात्र बनिरहेको देख्न सकिन्छ राजनीतिबाट । केही कारण त होलान् तर समग्र विषय फरक छ । सरकारको कामकारबाहीमा हामी बढी नकारात्मक पन देख्छौं । किन कि जुन सरकार बने पनि जनभावनामा कहिल्यै रहेन र जनताको सरकार बन्नै सकेन । कारण सरकारको नेतृत्वले आफू र आफ्ना नाताभन्दा बाहिर आँखा नै देख्दैन र देख्यो भने पनि अर्थसँग कुनै पद जन्मेर वा जोडिएर आएको भान हुन्छ । अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनको अनुदान दिनेमा हामी धेरैले विरोध ग¥यौँ । सकारात्मक सोचेनौ, अनि अध्ययन पनि गरेनौं । जुनसुकै विषयमा पनि अध्यन बेगरको विश्लेषण जनताका लागि राज्यले विफल बनाइदियो । अन्ततः कार्यान्वयनमा ल्याएरै छाड्यो । बिना बुझाइको जनताको विरोध सरकारको सकारात्मक कदम बन्यो । सरकार त्यही विषयमा सफल बन्यो सारा जनतामा नैरास्यता ।

जनताले विरोधमात्र गरे भन्नुभन्दा पनि किन विरोध गरिरहेका छन् भनेर बुझ्न र बुझाउन सरकारले सकेन वा चाहेन वा क्षमता भएन । जनताले आज समयको मनोविज्ञान बुझेर राज्य सञ्चालन गर्ने सरकार खोजिरहेका छन् । बन्दै गरेको सरकार पनि जनता लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेझँै भएको छ । जुन दल सरकारबाहिर बस्छ त्यसले सत्ता पक्षको जहिले पनि विरोध गर्नुपर्छ भनेर मानसिकता जागिरहृयो । जनतामाथि के भान छोडियो भने जहिले पनि शक्तिको विरोध, जुन कदममा पनि विरोध गर्नै पर्दछ भन्ने छाप राजनीतिक दलमा रहेको छ । हाम्रो बानी के परिसक्यो भने सरकारका जुन काम पनि नकारात्मक सोच राख्ने गर्दछौं ।

नेपालमा २०४६ को प्रजातन्त्रको उदयपछि जे जति परिवर्तन भए स्वार्थगत रूपमै भए र हुँदै आएका छन् । संवैधानिक अंग तथा राज्यका विभिन्न निकायमा जे जति नेतृत्व आए÷गए तर अपवादबाहेक सबै असफल मात्रै भएनन् कुरूप पनि भएर गए ।

सत्तामा कांग्रेस, नेकपा र माओवादी मात्रको पनि विरोध भएको होइन, अन्य कुनै पार्टी भए पनि विरोध त अवश्य हुन्छ न सही न गलत । अब हाम्रो आचरण के बनिसक्यो भने सत्तामा भएकाको विरोध गर्ने कुरा कुनै प्रथाका रूपमा चलन चल्तीको व्यवस्था बनिसकेको छ आमजनमानसमा । आफ्नो राजनीतिक दल सरकारमा नभए अर्को दलले जनतालाई सरकार अथवा सत्ताविरुद्ध लाग्नुपर्छ भन्ने सिकाइरहे । अहिले आएर सरकारले जनताको मानसिकता तुरुन्तै परिवर्तन हुनुप¥यो भन्दा कसरी सजिलै परिवर्तन होला र ?

देश नयाँ सरकार गठनको अन्तिम तयारीमा छ । अब बन्ने सरकारप्रति जनताको सोच सकारात्मक हुँदै जानेछ तर त्यसका लागि सरकारले अब एकदम सोचेर, विचार पुर्‍याएर, जनताको सर्वोपरी हितमा कसरी काम गर्ने भन्ने ध्येय हुनुपर्दछ । अनि मात्र सरकारको राम्रा कामलाई जनताले सकारात्मक रूपमा ग्रहण गर्नेछन् । जनताले सरकारको किन विरोध मात्र गरे भन्नुभन्दा पनि किन विरोध गरिरहेका छन् भनेर बुझ्नु चाहिँ अब बन्दै गरेको सरकारले सोच्नु उसका लागि बुद्धिमानी हुनेछ । आज नेपालको समय र परिवेषले जनमनको मनोविज्ञान, भावना र अर्थतन्त्रमा आएको संकुचनसँग बुझेर चल्ने सरकारको मागरेको छ । विरोध गरे भनेर रिसाउने सरकारको होइन, विरोध त मेरा लागि अवसर हो भन्ने सरकार र सरकारमा सहभागी दलका नेताहरूले बुझुन् । देशको र जनताको भावना उही सरकारप्रति समाहित हुनेछ । जुन सरकारले जनमनको हित चाहने र जवाफदेही बन्ने क्षमता राख्नेछन् । यही लेखसँगै हिमालय टाइम्स दैनिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर प्रगति, उन्नति र समृद्धिको हार्दिक मंगलमय शुभकामना । सबैको शुभ होस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?