स्याङ्जा गण्डकी प्रदेश च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

स्याङ्जा । जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बागलुङ भलिबल संघलाई ३-२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१-२५ ले गुमाएको थियो ।

त्यसपछि दोस्रो र तेस्रो सेट क्रमशः २५-२३ र २५-२३ ले आफ्नो पक्षमा पार्दै स्याङ्जा खेलमा फर्किएको थियो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा सुरुवातमा पछि रहेको स्याङ्जाले १८-१८ को बराबरीबाट अग्रता लिँदै २२-१९ को अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा २८-३० ले सेट गुमाउन पुग्यो ।

निर्णायक तथा पाँचौँ सेट प्रतिस्पर्धात्मक बने पनि स्याङ्जा १५-१३ को सेटमा विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । यस्तै, जिल्ला भलिबल संघ नवलपुरले कास्की जिल्ला भलिबल संघलाई २५-२२, २५-१६ र २६-२४ ले हराएर तेस्रो स्थान हासिल गरेको छ ।

च्याम्पियन बनेको स्याङ्जाले दुई लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको बागलुङले एक लाख रुपैयाँ हात पारेको छ । तेस्रो भएको नवलपुरले ५० हजार र सान्त्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् । स्याङ्जाका कप्तान हरि पाण्डे प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बन्नुभयो । सर्वाेत्कृष्ट बन्नुभएका हरिले २० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

नवलपुरका घनश्याम चौधरी उत्कृष्ट सर्भर, स्याङ्जाका देवु राना उत्कृष्ट ब्लकर, स्याङ्जाकै राजन दर्लामी मगर उत्कृष्ट लिवेरो, बागलुङका प्रकाश सुनार स्पाइकर, बागलुङकै मीन सुनार उत्कृष्ट सेटर र स्याङ्जाका राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक चुनिनुभएको छ । उहाँहरूले समान १० हजार रुपैयाँ हात पार्नुभएको छ ।

६ पुसबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक गण्डकीका बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखा गरी नौ टोलीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?