यस्तो छ नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक जीवन

Read Time = 4 mins

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जन्म वि.सं. २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठा छोराका रूपमा जन्मिनुभएका दाहालले प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिनुभयो । वि.सं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर माविबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७-२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गर्नुभयो । त्यस्तै वि.सं. २०३१-२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुभएको थियो । उहाँले एमपीएसम्मको अध्ययन गर्नुभएको छ ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौँथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । वि.सं. २०४१ मा नेकपा (मसाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री हुनुभयो ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

वि.सं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएको थियो । विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बनेका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँ वि.सं. २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभयो । यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं-१० र रोल्पा-२ बाट निर्वाचित भई २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभएको थियो । संविधान निर्माणपछि नेपाली कांग्रेसको समर्थनमा २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा गोरखा-२ बाट प्रतिनिधिसभामा निर्वाचित दाहाल कांग्रेससहितको सत्तारूढ गठबन्धनमा सहमति नभएपछि तेस्रोपटक नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?