नयाँ सरकारलाई समस्या सुनाउन निजी क्षेत्रको दौडधुप

Read Time = 7 mins

काठमाडौं । नयाँ सरकार गठनसँगै निजी क्षेत्रले नवनियुक्त उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको भेटघाटलाई तीव्रता दिएको छ । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निजी क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ भने दिउँसो अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रवि लामिछानेसँग भेट गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालसँग नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले मंगलबार उहाँको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका समस्याबारे ध्यानाकर्षण गराउनुभयो ।

उहाँले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याका रूपमा देखापरेको चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने बताउनुभयो । तत्काल अन्य विषयभन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने उहाँको भनाइ थियो ।

सबैभन्दा बढी समस्याका रूपमा देखापरेको चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने निजी क्षेत्रको माग छ ।

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको जानकारी गराउँदै गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोहीअनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताउनुुभयो । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र नै अहिले संकुचित हुँदै गएको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट सो सम्बन्धमा विशेष निर्णयसमेत भइसकेको जानकारी गराउँदै अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिमण्डललाई भन्नुभयो, ‘महासंघ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुुभयो, त्यही विषयमा तपाईंहरू चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुुभएको छ, सरकारले यसलाई गम्भीररूपमा लिन्छ ।’ प्रधानमन्त्री दाहालले महासंघका तर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र सो सम्बन्धमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने आश्वासन दिएको महासंघले जनाएको छ ।

त्यसैगरी महासंघका अध्यक्ष गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतको उपस्थितिमा अर्थमन्त्री पौडेलसँग पनि छलफल गरेको छ । सो अवसरमा मन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति सरकार गम्भीर रहेको र सरकार निजी क्षेत्रबीचको सम्बन्ध अन्योन्याश्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, त्यो मनोबल उच्च बनाएर काम गर्ने मेरो पहिलो प्राथमिकता हुन्छ, म तपाईंहरूकै प्रतिनिधिजस्तै भएर समस्या समाधानमा अग्रसर हुन्छु ।’

महासंघ प्रतिनिधिमण्डलले सोही दिन नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि भेट गरी मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ब्रिफिङ गरेको छ । सो अवसरमा महासंघले महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्यसमितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रबन्धका लागि अनुरोध गरेको थियो । त्यस्तै, सीमा क्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणका साथै शान्तिसुरक्षामा पनि जोड दिएको छ । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझाव गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयन गर्न सकेको सहयोगको आश्वासन दिएको महासंघले जनाएको छ ।

त्यसैगरी नेपाल उद्योग परिसंघ प्रतिनिधिमण्डलले पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारण उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको जनाएको छ । परिसंघले प्रधानमन्त्री दाहालसँग पनि भेट गरी निजी क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?