प्रजातान्त्रिक आन्दोलनको इतिहास र विनोद दाहाल ‘वत्स’

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 20 mins

पृष्टभूमि :
(पठतो पापनाशनम्)
‘सजातो येन जातेन याति वंश समुन्नतिम्’
अहिले केही दिनदेखि म विनोद दाहाल ‘वत्स’ का केही पुस्तक पढ्दै थिएँ । एक दिन हिमालय टाइम्सका अफिसमा गएका बेला उहाँले केही पुस्तक मलाई दिनुभएको थियो । ती पुस्तक पढ्दा म सबैभन्दा बढी (अन्तरंग २०७९) बाट रोमाञ्चित भएँ भने त्यसपछि ‘नेपालको लोकतान्त्रिक आन्दोलन ओखलढुंगा’ (२०७३) ले रोमाञ्चित बनायो भनेसँगै खिस्स हाँसेर बसेको ‘ओखलढुंगा सशस्त्र क्रान्ति’ (२०७२) ले पनि मेरो ध्यान आफूतिरै तानो । यसो भएको हुनाले आज म यिनै दुई विधामा केन्द्रित रहेर मेरा मनका कुरा राख्ने प्रयत्न गर्दै छु । विनोद दाहाल‘ वत्स’ को प्राज्ञिक व्यक्तित्व स्रष्टा, द्रष्टा, पत्रकार, इतिहासकार जस्ता क्षेत्रमा फैलेको देखिन्छ ।

यो एक प्रकारको अन्तर्वार्ता हो तापनि यसले अवलम्बन गरेको विधि आफ्नै प्रकारको पनि रहेको देखिन्छ । अहिले भवन निर्माणका क्षेत्रमा अनेकौं रङका चिप्स टाँसेर घरका भित्तादेखि भुइँसम्मलाई छिर्केमिर्के बनाउने शैलीको विकास भएको छ । भवन विज्ञानले त्यसलाई मोज्याक विधि भन्छ । समाजका अन्य क्षेत्रमा यसलाई मोज्याक कल्चर पनि भनिन्छ । साहित्यमा पनि जर्मनीका चिन्तक सर्जक आन्दे्रई ब्रेख्तले विधा भञ्जन गरेर निबन्ध पढ्दा उपन्यासको स्वाद र पद्यकविता पढ्दा थाहै नपाई गद्यका पांक्ति पढ्न पुगिने कतै भने कतै नाटकीय संवादमा लगेर पाठकलाई रुमल्याउँदा एक प्रकारको रोमाञ्चीय अनुभवको आस्वाद हाम्रा चेतनाले गर्न लाग्दछ ।

अन्तरंग पढ्दा रमाइलो लाग्छ तर दाहालले छानेका यी प्रतिभालाई दाहालले आफ्नै आधारमा छाने पनि राज्यले आधार बनाएर छान्ने हो भने कतिपय नछानिन पनि सक्ने देखिन्छन् । यो दाहालको नितान्त वैयक्तिक रोजाइ र रुचिको कुरो हो । मैले छान्ने भनेको मेरै रुचिको कुरो हो ।

यस प्रकारको विधा भञ्जन रुचाउने र नरुचाउने दुवै प्रकारका पाठक रहेका देखिन्छन् । यसका पनि जरा खोज्ने हो भने ऋग्वेदमा केही ऋचा यस्ता पनि भेटिन्छन् जो आधा भाग पद्यमा छन् भने भणितिको आधाभागमा गद्यात्मकता रहेको पनि भेटिन्छ । यजुर्वेदका ऋचामा पनि गद्यात्मक गायनभित्रै नाटकीय संवाद र अभिनयको सन्निवेशन भएको देखिन्छ । यो एक प्रकारको विधा भञ्जनै हो । खैरो चर्मवालाले भनेका कुरामात्र प्रामाणिक हुने हाम्रो गिदीबोसे दिमागले मान्ला नमान्ला भन्ने चिन्ता पनि गर्नु छैन मैले । हुन त यसलाई पनि टुप्पी, जनै र कन्धनी सर्वस्व ठान्ने कथित पण्डितका मार्गको रोग तँलाई पनि लागेछ भन्लान् बुज्रुकले भनिरहून् ।

अन्तर्वार्ता भनेको प्राश्निकका प्रश्नका परिधिमा रहेर उत्तरदाताले दिएका उत्तरका प्रसंगलाई समातेर उत्तरदाताका आन्तरिक कुरा खोतल्ने विधि हो । यस दृष्टिले उत्तम कुँवर अब्बल दर्जाका अन्तर्वार्ताकार रहेका देखिन्छन् । राजनीतिक वृत्तमा धेरै पहिले रत्नाकर भारती नामका एकजना पत्रकार बीबीसीमा थिए । उनी जस्तासुकै गुहृय नखोल्ने नेताका पनि आन्द्राभुँडी छताछुल्ल पारेर छाड्थे । भित्री रहस्य खोलेर अन्तर्वार्ता छाप्ने गर्दथे पदम ठकुराठी ।

यसपछि हरिहर विरही यस क्षेत्रमा आशालाग्दा किरण बनेर आएका थिए तर यिनी पनि पत्रकारिता नै छाडेर तिरोहित भए । पुरुषोत्तम दाहालले चलाएको रेडियो नेपालको ‘घटना र विचार’ विश्लेषण र प्रस्तुति निकै आकर्षक थियो । त्यो पनि हराएर बिलाएर गयो । यज्ञनिधि दाहालको साहित्यिक कार्यक्रम पनि निकै आकर्षक र ज्ञानवद्र्धकभन्दा पनि श्रवणीय थियो । यसरी नै यस क्षेत्रमा नेत्र एटमले पनि कलम चलाएर एउटा कृति निकालेका छन् । उनको प्राध्यापकीय व्यक्तित्वले किचेर अन्तर्वार्ता दिने व्यक्ति धूमिल भएको भेटेँ मैले ।
विषय विवरण :
(क) अन्तरंग ः
‘जोजो पर्छ अगाडि त्यैसित नरो जानेछ व्यर्थै वचनः’
दाहाल नेपाली भाषासाहित्यमा खारिएका स्रष्टाद्रष्टा हुन् भन्न सकिन्छ । पुस्तक पढ्दा र त्यहाँ समेटिएका व्यक्तिलाई हेर्दा लाग्छ उनी योजना मनमा बनाउँछन्, दिमागमा पकाउँछन् । मनसा चिन्तितं कार्यं वचसा नप्रकाशयेत् भन्ने कुरामा दाहाल विश्वस्त रहेका पाइन्छन् । उनको योजना अनौपचारिक छ । कुरो आरम्भ भएपछि तीनपोए डोरीका पोया खोलिँदै गए झैँ पात्र आफ्ना अन्तर तहलाई बहि¥याउन थाल्दछ । दाहाल कतै सामुन्ने देखिन्छन् त कतै उनी विलुप्तावस्थामा गएका छन् । यसले अन्तर्वार्तामा पनि नाटकीय आस्वाद थपेको पाठकलाई अनुभव हुन्छ । यही विधि मखुण्डीले प्रयोग गरो भने दुवै पक्षका आन्द्राभुँडी समाजसमक्ष छताछुल्ल बनाइदिन्छ ।

यसमा लब्ध प्रतिष्ठितदेखि प्रतिष्ठा कमाउन दिलोज्यानले लागेका र आए आँप गए झटारो भनेर आफूलाई लागेका पेशामा संलग्न सबै प्रकारलाई चिन्न धौधौ पर्नेसम्म परेका देखिन्छन् । पुस्तकको नामकरण पनि अभिधार्थमा नै राखेका छन् । ‘अन्तरंग’ भित्री कुरा गरेर कुनै लेखक कुनै समाजसेवी कुनै राजनीति कर्मी कुनै सन्तमहन्त साहुसेठ कसैका पनि आन्तरिक तहलाई केही शब्दका माध्यमले समाजसमक्ष सम्प्रेषित गर्ने विधि नै अन्तर्वार्ता या आन्तरिक संवाद विधि हो । साहित्यमा यसको राम्रो प्रयोग हुनसक्छ । अखबारमा पनि देशका जल्दाबल्दा समस्या र दृष्टिकोणका प्रांगणमा उभिएर जनता र विज्ञवर्गलाई सुसूचित गर्ने उपयुक्त माध्यमका रूपमा यसलाई उपयोग गर्न सकिन्छ ।

अनलाइन पत्रपत्रिकाको विकासका बेला पनि यसको महिमा घट्दैन झनै बढ्छ । हस्तलिखित पत्रकारितामा पनि यो प्रभावकारी मानिन्छ । दाहालका यस पुस्तकमा चिकित्सक, शिक्षक तथा सर्जक, सिर्जना मात्रैमा संलग्न लेखक, चल्ताफिर्ता कवि, कीर्तिमानका घेरामा घेरिन रुचाउने व्यक्ति, सार्वजनिक स्थलदेखि गगनचुम्बी महलका मानक, बुढेसकालका शब्द साधक, लेखन र प्रशासनक्षेत्रका प्रतिभा आदि जम्मा २१ जना स्रष्टा द्रष्टा, समाजसेवी आत्मपोषी, राष्ट्रसेवक आदिका चरित्रलाई चित्रण गरेका छन् ।

यो पढ्दा रमाइलो लाग्छ तर दाहालले छानेका यी प्रतिभालाई दाहालले आफ्नै आधारमा छाने पनि राज्यले आधार बनाएर छान्ने हो भने कतिपय नछानिन पनि सक्ने देखिन्छन् । यो दाहालको नितान्त वैयक्तिक रोजाइ र रुचिको कुरो हो । मैले छान्ने भनेको मेरै रुचिको कुरो हो । यसमा कसैले टाउको दुखाउनुको कुनै अर्थ छैन ।

(ख) नेपालको लोकतान्त्रिक आन्दोलनमा ओखल्ढुंगा :
एकान्तस्थलमा बसीबसीकन ती मूर्ति कुँद्नेहरू
यो पुस्तक ओखल्ढुंगा जिल्लाको राजनीतिक गतिविधिसँग सम्बद्ध राजनीतिक इतिहास हो । नेपाली कांग्रेसको केन्द्रीयतामा समग्र ओखलढुंगा जिल्लाका राजनीतिक र विशेषगरी सत्तापक्षले अवलम्बन गरेका नीति र त्यसका नीति तथा कार्यक्रमसम्मको सशक्त प्रतिरोध गर्ने नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद प्राप्तिका निमित्त चलाएका कार्यक्रमदेखि त्यो स्थिति उत्पन्न गराउने कारणसम्म पनि यसमा विश्लेषण गरिएको देखिन्छ । इति ह आस । यो निश्चय नै पहिले थियो । आरोप प्रमाणीकरण बेगर राजा महेन्द्रले चालेको २०१७ को राष्ट्रघाती कदमका विरुद्ध विश्वेश्वरप्रसाद कोइरालाका नेतृत्वमा नेपाली कांग्रेसले चलाएको प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा अनेकौं मोड र घुम्ती देखापरेका थिए ।

यद्यपि यस प्रकारका राजनीतिक इतिहासका पुस्तक सूर्यमणि अधिकारी, यज्ञनाथ आचार्य, नरहरि आचार्य, गोविन्दमान् सिंह कार्की, राजेश गौतम, प्रदीप गिरि, पुरुषोत्तम बस्नेत जस्ता अनगन्ती लेखकले लेखेका छन् तापनि विनोद ओखलढुंगे भएका हुनाले त्यस जिल्लाका गतिविधिका लेखनमा निश्चय नै उनको आधिकारिकता प्रामाणिक हुन्छ । उनले या उनीजस्तै अरूले दिएका जानकारीमा आश्रित रहेर लेख्नेले भन्दा स्वयं स्रोत व्यक्तिले लेखेको इतिहास प्रामाणिक मानिन्छ मान्नु पनि पर्छ । यो पुस्तक विषय प्रस्तुतिका दृष्टिले पनि व्यवस्थित रहेको देखिन्छ ।

पृष्टभूमि, वण्र्यजिल्लाको परिचय, जिल्लाका कांग्रेसीजन, मुख्यमुख्य कार्यकर्ताको संलग्नता, संदीय प्रतिनिधित्व, ओखलढुंगाको बौद्धिक समुदाय, ओखलढुंगा कांग्रेसका प्रभावशाली व्यक्ति, जिल्ला कांग्रेसका भ्रातृसंगठन, तिनीहरूप्रति शुभभाव राख्ने राजधानीका संघसंगठन आदिका साथै विधिबत् अध्ययनका समग्र अंगउपांग यथास्थान सन्निवेश गरेर यो पुस्तक दाहालले प्रस्तुत गरेका छन् । २०१७ सालमा राजा महेन्द्रले बीजाधान गरेको दलविहीन एकव्यक्तिको सनकमा चल्ने पद्धति थियो ।

पञ्चायत र त्यसका विरुद्ध नेपाली कांग्रेसले देशमा प्रजातन्त्र पुनःस्थापित नहुन्जेल अनवरत रूपमा चलाएको सशस्त्र र निःशस्त्र आन्दोलनका अनेक छिरबिरे चित्र यस पुस्तकमा पढ्न पाइन्छ । इतिहास राजा महाराजाको मात्र लेखिने दिन गए । इतिहास व्यक्तिवृत्तका रूपमा पनि लेखिन्छ । इतिहास जिल्लाजिल्लाको गाउँगाउँको पनि लेखिन्छ । त्रिभुवन विश्वविद्यालयले भिलेज प्रोफायल नामक गाउँजिल्लाको इतिहास लेखाउन थालेको थियो । चेतना भएका विद्यार्थीले लेखेका ती गाउँपरिचयलाई छानेर छाप्ने दिन भने आएन ।

स्नातकोत्तरमा पढेको अनुसन्धान प्रविधिको क्रियान्वयन यस्ता गाउँ प्रोफायलमा अभ्यास गर्न पाउँदा विद्यार्थी धेरै लाभान्वित हुन्थे पनि ।
समग्र नेपाली कांग्रेसका इतिहासमा विशेष महत्व राख्ने ओखलढुंगा जिल्लाको यो इतिवृत्तात्मक लेखनले विशेष चमक ग्रहण गरेको छ । आनुसंगिक दृष्टिले यसले ओखल्ढुंगा, उदयपुर, जनकपुर, महोत्तरी, भारतको विहार तथा वनारसदेखि काठमाडौंसम्म ईषत्एवं व्यापक परिवेश समातेको र स्पर्श गरेको देखिन्छ । ओखलढुंगा जिल्ला मृत्पाषाणादिको क्षेत्रफलयुक्त नेपालका जिल्लाहरूमध्ये एउटा जडवस्तुको नक्सामात्र होइन यो त सजीव, सप्राण व्यक्ति हो जसले धेरै छोराहरू लाएर प्रजातन्त्र ल्याउने काम गरेको छ ।

जसरी एउटा बाबुका छोराका भिन्न व्यक्तित्व प्रकट हुन्छन् त्यसैगरी ओखलढुंगे सपूतको पनि अनेकौं व्यक्तित्व जग्मगाएर आएको भेटिन्छ । यसरी हेर्दा पुस्तक मोटो भए पनि पठनीय र रुचिकर लाग्दो छ । नेपालका कुनै पनि जिल्लाले ओखलढुंगाले जति सहादत दिन सकेको देखिँदैन ।

(ग) ओखलढुंगा सशस्त्र क्रान्ति (२०७२) :
मौका आउँछ पर्खंदैन त्यसमा चुक्ने महामूर्ख हो ।
यो दाहालको अर्को प्रजातान्त्रिक क्रान्तिकै महिमोद्गान भएको पुस्तक हो । विषय प्रवेशदेखि अन्तिम बिसाउनीसम्म आठ प्रकरणमा विभाजित यसको कलेवर ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा ओखलढुंगा’ (२०७३) भन्दा साना आकारको भए पनि यसले ओखलढुंगादेखि जनकपुर मटिहानी हुँदै भारतको वनारस, सीतामाढी, मुजफरपुर, सुरसन्ड, मधवापुरजस्ता सामान्य गाउँबस्ती र शहरलाई कतै विशेष किसिमले त कतै सामान्य प्रकारले स्पर्श गरेको देखिन्छ ।

समग्र नेपाली कांग्रेसका इतिहासमा विशेष महत्व राख्ने ओखलढुंगा जिल्लाको यो इतिवृत्तात्मक लेखनले विशेष चमक ग्रहण गरेको छ । आनुसंगिक दृष्टिले यसले ओखल्ढुंगा, उदयपुर, जनकपुर, महोत्तरी, भारतको विहार तथा वनारसदेखि काठमाडौंसम्म ईषत्एवं व्यापक परिवेश समातेको र स्पर्श गरेको देखिन्छ ।

शमशेरबहादुर विष्ट एसपी र लीलाराज विष्ट अञ्चलाधीश भएर राजाको एकछत्रे शासनलाई सुरक्षित राख्न भएका भयानक आपराधिक क्रियाकलापको संक्षिप्त प्रक्षेपण यसमा गरिएको छ । विष्ट द्वय र भरत नेपाल नामका अञ्चलस्तरीय सिआइडी (जसलाई जनसम्पर्क अधिकारी) भनेर सम्बोधन गरिन्थ्यो पञ्चायत कालमा । केशवलाई र हरिहर विरहीलाई सताउन त वीरेन्द्र खुँजेली नामका धनुषाका प्रमुख जिल्ला अधिकारीले विष्टद्वयलाई पनि माथ गरेका थिए । हुन त नेपाली कांग्रेस नै प्रचण्डपथमा गएर विचारलाई अचारमा रूपान्तरण गरेको वर्तमान बेलामा विगतलाई कोट्याएर स्वान्तसुखायबाहेक के नै पाउलान् र लेखक पाठकले पनि । दाहालले नाक घोक्र्याए मैले प्रजातान्त्रिक क्रान्तिको इतिहास लेखेँ भनेर । मैले पनि नाक घोक्र्याएँ लुकेर छिपेर मरेर बाँचेर आफ्ना सहपाठी र तेह्र दिने दाजु काका गुमाएर पनि पुस्तकमा नाम त चढो भनेर ।

अर्को पढन्तेले यसैगरी कुनै न कुनै कुरामा चित्त बुझाउला तर जसका अभियानमा लागेर यत्रा कुरा गरे नेपाली सपूतले ती सपूत सिध्याउन नेपाली कपूतले जेजे गरे आजका नेपाल सञ्चालक । हिजोदेखि त्यो अभियानका योद्धा बन्दै आएका तमाम कांग्रेसी विद्या, केपी र प्रचण्डको पाउपूजक बनेका बेलामा पनि ज्ञान र विवेकको ज्योति निभ्न नदिन केही सरस्वती पुत्र एकान्तमा बसेर आफ्ना स्मृतिलाई विगततिर प्रत्यावर्तन गराएर । भेटेसम्मका पुराना पत्रपत्रिका अनि चिठीपत्रका आधारमा ती सपूत जसले देश र उत्तरवर्ती पुस्ताका निमित्त आत्मालाई आहुति चढाएर हुतात्मा बने तिनले यस्तै कलासाधकलाई आशीर्वाद दिऊन् । ती जो आत्म बेचेर, गठबन्धन गरेर, स्वास्नी र सालासालीका लागि भए पनि सत्ता सयर गर्न गइदिएका छन् । तिनलाई पनि धन्यवाद । वाणीको साधना गर्नेका निमित्त यी तीनवटै पुस्तक पठनीय छन् । संग्रहणीय छन् भन्दै काखे लेखनि बन्द गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?