लुम्बिनी प्रदेशसभा सदस्यको सपथ १६ पुसमा : सरकारका ५५ बुँदे उपलब्धि सार्वजनिक

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । लुम्बिनी प्रदेश सभा सदस्यको सपथग्रहण पुस १६ गते स्थायी राजधानीमा गरिने भएको छ ।
प्रदेश मन्त्रीपरिषद्को सम्पन्न बैठकले पुस १६ गते दिउँसो १ बजे नव निर्मित प्रदेश सभा भवनमा सपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्मा शर्माले जानकारी दिनुभयो।

यस्तै प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ । मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दिपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुग्नु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्व नवलपरासीमा स्वागतद्वारा निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धि मानेको छ । पाँच वर्षे कार्यकालको अन्तिम चरणमा पुगेको वर्तमान सरकारले प्रदेशसभाबाट भएको राजधानीको निर्णय कार्यान्वयन मुख्य उपलब्धिको रुपमा मानेको छ ।

शून्यबाट शुरु भएको प्रदेश सरकारले यो पाँच वर्षको अवधिमा आफ्नै संरचनाबाट प्रशासनिक कार्य शुरु गर्न सकेको उल्लेख गरेको छ । मुकाम बुटवलबाट प्रदेशसभा सञ्चालन र सरकार सञ्चालन गरेको लुम्बिनी प्रदेश सरकारले पाँच वर्षको अवधिभित्र प्रदेशको आफ्नै संरचनामा सदन सञ्चालन र प्रशासनिक केन्द्र सञ्चालन गर्न सक्ने अवस्थामा पुगेकोलाई उपलब्धिको रुपमा राखिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताउनुभयो । ‘शपथग्रहणको बेलामा भाडामा ल्याइएका कुर्सीमा बसेर अघि बढेको प्रदेश अहिले आफ्नै संरचनाबाट सदन र सरकार दुबैको काम गर्ने अवस्थामा पुग्यो । यो ऐतिहासिक उपलब्धि मानेका छौं’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले निर्माण गरेको जगमा टेकेर अब आउने सरकार र प्रदेशसभाले आफ्ना कामहरु अघि बढाउने आशा छ ।’

प्रदेशसभाबाट २०७७ असोज २० गते राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि गत मंसिर २८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरियो । राजधानीको निर्णय कार्यान्वयनसँगै अन्य मन्त्रालय र प्रशासनिक केन्द्रसँग जोडिएका विषयगत कार्यालयहरु स्थापना हुने क्रममा छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक र शपथग्रहण स्थायी राजधानीमा निर्माण भएको संरचनाबाट गरिनेभएको छ । यसलाई पनि प्रदेश सरकारले उपलब्धिको रुपमा लिएको छ । संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल र वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको दुईवटा सरकारले प्रदेशको नेतृत्व गर्नुभयो ।

यी दुबै सरकारको ध्यान राजधानी कार्यान्वनयमा थियो । जसले गर्दा प्रदेश स्थापना भएको पाँच वर्षको अवधि भित्रै प्रदेशले आफ्नै संरचनामा सदन र सरकार दुबै चलाउन सक्ने अवस्थामा पुगेको छ । ‘प्रदेश सरकारको पा‘ँच वर्षे कार्यकालको उपलब्धि नै वर्तमान सरकारको उपलब्धि हुन् । शंकर पोख्रेल मुख्यमन्त्री हुँदा पनि हामी सरकारमै थियौं । त्यतिबेला नेकपा थियो । अहिले त झनै सरकारको नेतृत्व हामीले नै गरिरहेका छौं’– सरकारका प्रवक्ता शर्माले भन्नुभयो– ‘पाँच वर्षे कार्यकालमा भएका कामहरुलाई उपलब्धिको रुपमा लिनुपर्छ ।’

प्रदेश राजधानी कार्यान्वयन दुई चरणबाट गरिएको छ । पहिलो चरण स्थायी संरचनाबाटै प्रशासनिक केन्द्र र सदन सञ्चालन, दोस्रो चरणमा स्थायी संरचना निर्माण गरेर प्रशासनिक केन्द्र र सदन सञ्चालन । अहिले दुबै चरणको काम अघि बढेका छन् । राप्ती प्राविधिक शिक्षालय रहेको स्थानलाई प्रशासनिक केन्द्र मानेर त्यहाँ रहेका पुराना संरचना मर्मत गरेर मन्त्रालय तयार पारेर काम अघि बढिसकेको छ भने दोस्रो चरणमा मन्त्रालयका लागि चाहिने स्थायी संरचना निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढेको छ । राजधानीको गुरुयोजना निर्माण गरेर जग्गा विकास कार्यक्रममार्फत नदी सभ्यतामा आधारित आधुनिक शहरको परिकल्पना गरिएको छ । प्रदेश सरकारले राजधानी निर्माणलाई प्राथमिकतामा राखेको छ ।

लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछिका उपलब्धिलाई ५५ बुँदामा समेटेर सार्वजनिक  गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भालुबाङमा लुम्बिनी प्रदेश सरकारका मुख्य गौरवका आयोजनाको जानकारी दिदै ५५ बुँदे उपलब्धि सार्वजनिक गरिएको छ । राजधानी कार्यान्वयनलाई प्रमुख उपलब्धि मानिएको छ भने लुम्बिनी टेक्निकल विश्वविद्यालय बाँके खजुरामा स्थापना गरिएको विषयलाई दोस्रो उपलब्धिमा समेटिएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेश गौरवको आयोजनाको रुपमा राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पातीहाल्ना, रोल्पा सडक आयोजना समेटिएको थियो । जसअन्तर्गत प्रदेशको राजधानी कार्यान्वयन भएको छ भने खजुरामा प्राविधिक विश्व विद्यालय सञ्चालनको तयारी छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै नमूना अस्पताल निर्माण गर्न थालिएको छ । जसका लागि बजेट र नीति तथा कार्यक्रममा समेटिएको छ । अस्पताल अहिले नमूना बनेको, अस्पतालबाट दिइने उपचार सेवामध्ये ओपिडि सेवाको नाम दर्ता र शैया निःशुल्क उपलब्ध गराइएको उपलब्धिमा समेटिएको छ । पाल्पा रामपुर जीवराज आश्रित, कृष्णसेन इच्छुक पाल्पा रामपुरदेखि रोल्पा जिनाबाङसम्मको १३ किलोमिटर सडक निर्माण भइरहेको छ । यसले पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पाका नागरिकलाई यातायातको पहुँचमा पु¥याउने उल्लेख छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?