लिफ्ट योजनाबाट तिला नदिको पानी गाउँ पुगेपछि लिही र लर्मिका स्थानीयमा छायो खुसियाली

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-२ स्थित लिही र लर्मि गाउँमा लिफ्ट योजनाबाट तिला नदिको पानी गाउँमै पुगेपछि स्थानीयवासिमा खुसियाली छाएको छ । बर्षोदेखि आकाशे पानीको भरमा परेका सो गाउँका स्थानीयवासि लाई अनुकूलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार संघीय वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमले स्थानीय साझेदार संस्था पेस नेपालमार्फत २०१९ देखि चारवर्षे क्याफ्स कर्णाली परियोजनाले लिफ्ट सिँचाइ योजनाबाट गाउँमा पानी पुगेको लिही लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले जानकारी दिनुभयो ।

'सुरुमा लिफ्ट योजना सौर्य ऊर्जाबाट सञ्चालन गर्ने योजना थियो, तर परियोजनाले उक्त आयोजनाको दिगोपनका लागि निकट भविष्यमा जोडिँदै गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनको सुनिश्चितता पर्खिरहेका थियौं अध्यक्ष रावलले भन्नुभयो ।'  जिल्लामा राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएपछि मात्र आयोजनाको निर्माणकार्य सुरु गरियो। अन्ततः पहाडको टुप्पोमा नदीको पानी लिफ्टमार्फत पुर्‍याएर समुदायको सपना साकार भएको लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष रावतले जानकारी दिनुभयो ।

नदीको पानी गाउँमा पुग्ला भन्ने विश्वास गरेका थिएनन् क्याफ्स कर्णाली परियोजनाबाट पानी पुग्याे यसमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालादेखि स्थानीय सरकारलाई धन्यवाद दिँदै स्थानीयवासि नन्ददेवी बोहराले भन्नुभयो ,' लिही र लर्मि गाउँका स्थानीयवासिको सपना साकार भयो, अब हिउँदे याममा तरकारी लगाउन, स्याउ र ओखरसहित अन्य अन्नबालीको खेतीमा सिचाइ गर्न सहज हुनेछ ।'

यस आयोजनाले ३२ हेक्टर जमिनमा सिँचाइ गर्न सक्ने गरी ६० एचपी पम्पिङ संरचनासहितको इन्टेक, १०० केभी विद्युतीय ट्रान्सफर्मरसहितको पावरहाउस, एक हजार तीन सस २० मिटर मुख्यपाइप लाइन, एक सय घनमिटरको रिजर्भवायर ट्यांकी र चारवटा ३० घनमिटरका वितरण पोखरी निर्माण गरेको छ ।

आयोजनाको कुल लागत एक करोड ३५ लाख ११ हजार चार सय ६२ रुपैयाँ थियो । जसमा समुदायका धेरैजसो घरधुरीले छोटो चरणको रोजगारी प्राप्त गरी आफ्नो बैंक खातामा ज्यालाको रूपमा २५ लाख २४ हजार १८ रुपैयाँ नगद प्राप्त गरेकाछन् । आयोजनालाई दिगो रूपमा सञ्चालन गर्नका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिने पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो ।

अन्य सिँचाइ प्रणालीको तुलनामा लिफ्ट सिँचाइ प्रणाली तुलनात्मक रूपमा महँगो छ । उक्त समुदायमा सिँचाइको अन्य विकल्प नभएकाले हामी लिफ्ट सिँचाइ प्रणालीमा गएका हौँ । यसले स्थानीय समुदायको उत्पादन र जीविकोपार्जनमा सुधार ल्याउनुका साथै जलवायु परिर्वतन अनुकूलनमा टेवा पुग्ने पेस नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

तिला गाउँपालिका-२ वडाध्यक्ष चन्द्रबहादुर बोहराका अनुसार सो आयोजनाबाट तीन सय ३८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याएको र व्यावसायिक फलफूल र तरकारी खेती गर्न मद्दत पुगेको छ । तिला गाउँपालिकाको लिही, लर्मी र रारा गाउँमा सिँचाइका लागि पानीको अभाव प्रमुख समस्या हुने गरेको छ । हिउँदे याममा खेतीपातीको समयमा पानीका मुहान सुक्दा कृषकहरू वर्षाको पानीमा मात्रै भर पर्नुपरेको छ ।

यस क्षेत्रमा फलफूल खेती विशेष गरी स्याउ, ओखर तथा तरकारी खेतीको उच्च सम्भावना रहेको छ । कर्णाली राजमार्ग नजिकै रहेकाे सो गाउँहरुमा उत्पादनलाई राम्रो मूल्यमा बेच्नका लागि बजार उपलब्ध हुने अवस्था छ। तर, सिँचाइका लागि पानी नहुँदा किसानले सोचेजस्तो उत्पादन गर्न नसकेको राराका स्थानीयवासि हिरे नेपालीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?