अहङ्कार किन त्याज्य छ ?

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला

कालकोे गतिसँगै प्राकृतिक परिवर्तनका पङ्ख चलिरहन्छन् । नदीको प्रवाहजस्तै समय पनि निरन्तर प्रवाहित भइरहेको हुन्छ । जसलाई रोक्ने सामथ्र्य हाम्रो हातमा छैन । यसको गतिमा चल्न सक्नु नै हाम्रो नियति हो । प्रकृतिलाई रोक्न खाज्नु केवल अहङ्कारमात्र हो, किनकि समयको भेलले हामीलाई निन्तर प्रवाहित गरिरहेकै हुन्छ चाहेर होस् या नचाहेर । यसरी निरन्तर चल्ने प्रवाहमा प्रवाहित हुन नसक्नु अहङ्कारको प्रदर्शन हो । जो प्राकृतिक नियमविरुद्ध हुन्छ । फलस्वरूप हाम्रो अवनतिको आरम्भ हुनपुग्छ ।

वेदान्त दर्शनअनुसार ‘म नै सबै गर्ने हुँ’ भन्ने भावना भएको अन्तःकरणको एक वृत्तिलाई अहङ्कार भनिएको छ । साङ्ख्य दर्शन अनुसार पाँच ज्ञानेन्द्रिय पाँच कर्मेन्द्रिय र मनको उत्पत्ति हुने महत्वको सात्विक अवस्थाको विकार र तामस अवस्थाको पञ्चतन्मात्राको उत्पत्ति, जसबाट क्रमैले पञ्चतत्वको उत्पत्ति हुन्छ । साङ्ख्यमा यसलाई प्रकृति–विकृतिमोह भनिन्छ । ‘सात्विकाहङ्कारात् इन्द्रियाधिष्ठातारो देवामनश्चजातं । राजसाहङ्कारात् दशेन्द्रियाणि जातानि । तामसाहङ्कारात् सूक्ष्मपञ्चभूतानिजातानि ।’ योगशास्त्रमा अविवेक, अहङ्कार र चित्तदेखि मुनि स्वाधिष्ठानसम्म रहने विषयलाई अहङ्कार भनिएको छ । क्रोधले भ्रम, भ्रमले स्मृतिनाश, स्मृतिनाशले बुद्धि विनास हुन्छ । अनि बुद्धि हराएपछि मान्छेको पतन हुन्छ ।
‘क्रोधाद् भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’ (गीता)
क्रोधको अग्नि सबैभन्दा तेज अग्नि हो जसले बुद्धि नष्ट बनाउँछ र मानवलाई अचेतन तुल्याउँछ । लोभले मानवलाई अतृप्त तृष्णामा डुबाउनुका साथै सत्य, नैतिकता र कर्तव्यबाट अलग गरिदिन्छ । मानिसले सम्पन्नता खोज्नु, ज्ञान प्राप्त गर्नु, सफलता चाहनु मानवीय गुण हुन् तर सफलतापश्चात मनमा उत्पन्न हुने मै हुँ भन्ने भाव अहङ्कार हो । आफू नै कर्ता, आफू नै सर्वश्रेष्ठ सम्झनु र अरूको अवमूल्यन गर्नु अहङ्कार हो । अहङ्कारी मानिस प्रशंसाका भोका हुन्छन्, आलोचना त सुन्नै चाहँदैनन् । मानिस प्रशंसामा प्रसन्न हुन्छन्, आलोचनामा क्रोधित हुन्छन् । जुन सर्वथा त्याज्य रहेको कुरा गीताको प्रसङ्गबाट बुझ्न सकिन्छ ।

भस्मासुर आफ्नै अहङ्कारले भस्म भएको हो । शुम्भ-निशुम्भ, रावण, सबैै अहङ्कारका कारण पतन भएका पौराणिक कथा पाइन्छन् । महाभारतमा चेदी देशका नरेश शिशुपाल, अहङ्कारको कारण श्रीकृष्णको हातबाट मारिए । हिरण्याक्ष र हिरण्य कश्यपु पनि अहङ्कारकै कारण पतन भए ।

भस्मासुर आफ्नै अहङ्कारले भस्म भएको हो । शुम्भ–निशुम्भ, रावण, सबैै वरदानी, शक्तिशाली भएर पनि अहङ्कारका कारण पतन भएका पौराणिक कथा पाइन्छन् । महाभारतमा चेदी देशका नरेश शिशुपाल, अहङ्कारको कारण श्रीकृष्णको हातबाट मारिए । त्यस्तै हिरण्याक्ष र हिरण्य कश्यपु जस्ता दैत्यहरू वरदानी भएर पनि अहङ्कारकै कारण पतन भए । भीष्म, द्रोण, कर्ण, अश्वत्थामा जस्ता महारथी साथमा हुँदा पनि दुर्योधन पराजित हुनुको कारण अहङ्कार नै हो । किनकि, अहङ्कारले बुद्धि भ्रष्ट बनाउँछ, विवेकहीन बनाउँछ । यसरी विवकहीन भएका दुर्योधनले केवल सत्ता र स्वार्थमात्र देखे, त्यसैको भोक निरन्तर जागिरहृयो । जुन अहङ्कारको आगो थियो, जसले स्वयम् दुर्योधनलाई जलायो । फलस्वरूप पाण्डवको विजय भयो ।

गतिशील समयको पदचापसँगै हरेक विषयवस्तुमा परिवर्तन आउँछ । समयचक्र निरन्तर चलिरहेको हुन्छ । यही चक्रमा परिवतर्तित हँुदै अघि बढ्नुको विकल्प छैन । समयले व्यक्तिलाई स्वतः परिवर्तित बनाइरहेको हुन्छ । नचाहेर पनि समयको प्रवाहमा चल्नुपर्दछ । अझ भनौँ संसारमा अहङ्कार गर्न मिल्ने कुरा केही छैन । रूप, यौवन, धन आदि सांसारिक वस्तु क्षणिक हुन् ।
‘जरा रूपं हरति हि धैर्यमाशा मृत्युः प्राणान्धर्मचर्यामसूया ।
क्रोधः श्रियं शिलमनार्यसेवा हृयं कामः सर्वमेवाभिमानः ।।’ (विदुर नीति)
अर्थात् वृद्ध भएपछि रूप नष्ट हुन्छ, यौवन अवस्थाले धैर्यलाई नष्ट गर्छ, मृत्युले प्राणलाई नष्ट गर्छ, निन्दाले धर्म नष्ट गर्छ भने क्रोधले आर्थिक उन्नति नष्ट गर्छ । दुर्जनको सेवाले सज्जन नष्ट हुन्छन्, कामभावले लज्जालाई नष्ट गर्छ भने अहङ्कारले सबै कुरा नष्ट हुने गर्दछ । प्रकृतिको नियम विपरीत चल्न खोज्नु अहङ्कारको प्रदर्शन हो ।

यसरी समयसँगै हरेक कुरामा परिवर्तन आउने गर्दछ । बुढेसकालले रूपलाई नष्ट गर्छ भनिएको छ । अर्थात् समय ढल्किदै गएपछि रूप पनि बिग्रन थाल्छ । प्रकृतिको नियम बाल्य, यौवन, वद्धावस्था अवश्यम्भवी छन् । रूपको अहङ्कार कहिल्यै गर्नु हुँदैन किनकि आज फुलेको फूल निश्चित समयपछि विस्तारै ओइलिएर जान्छ । यो सत्य कुरा हो । यसैले रूपको अहङ्कार प्रदर्शन गर्नु व्यर्थ छ । यसैगरी यौवन अवस्थाले व्यक्तिको धैर्य नष्ट गर्छ । धैर्यपूर्वक गरिएका कार्य नै फलदायी रहन्छन् । यसैले शक्ति छ भन्दैमा अधैर्य प्रदर्शन र प्रयोग गर्नु हुँदैन । समभावको वृत्तिले नै उन्नतिका शिखरमा चढ्न सकिन्छ ।

आजको जस्तो शक्ति र सामथ्र्य भोलि रहँदैन भन्ने कुराको हेक्का राखेर गरिएका कार्य नै कल्याणकारी हुन्छन् । वीर पराक्रमी कहलिएका भीम र अर्जुन पनि महाभारतको युद्ध सकिएपछि सामान्य व्यक्तिको युद्धमा पराजित हुनपुगेका थिए । भिल्लले लखेटेका कथा प्रसङ्ग पाइन्छन् । वानर रूप हनुमानजीले पनि भीमको परीक्षा लिएको प्रसङ्ग महाभारतमा पाइन्छ । बलशाली भीमले एक वानरको पुच्छर उठाउन नसकेपछि उनको अहङ्कार सकिएको थियो । भीमजन्य प्रवृत्ति यौवन अवस्थामा हुने गर्दछ । जहाँ बल (शक्ति)को अहं हुन्छ । जसरी भीमले कमजोरी स्वीकार गरे त्यसैगरी संसारमा सबैभन्दा शक्तिशाली म नै हुँ भन्ने वृत्ति त्याग्न सक्नुपर्दछ ।

अर्काको आलोचना गर्नु अहङ्कारको प्रदर्शन गर्नु हो । सकेसम्म अरूको निन्दा नगर्नु भनिएको छ, किनकि अरूको निन्दा गर्नाले आफ्नो धर्म नष्ट हुने गर्दछ । आफ्नो धर्म नष्ट हुनुभनेको आफ्नो स्वकीय शक्तिमा ह्रास आउनु हो र स्वयं आफू नै उन्नतिको बाधक बन्नु हो । यसैगरी क्रोधलाई पनि मान्छेको मूलशत्रु भनिएको छ । क्रोधले आर्थिक उन्नतिमा बाधा पु¥याउने गर्दछ । क्रोध गर्ने व्यक्तिले धन गुमाइरहेका हुन्छन् । विनय भावले पात्रता र पात्रताले मात्र धनको आगम हुन्छ । क्रोधले पात्रता नै नष्ट गर्ने भएकाले क्रोध गर्ने व्यक्तिले लक्ष्मीलाई गुमाइरहेका हुन्छन् ।

डर र लाज पनि जीवनमा उन्नतिका सूचक हुन् । डर भएन भने व्यक्तिले उन्नति गर्न सक्दैनन् । यसैगरी लज्जा व्यक्तिको गुण पक्ष हो । भनौँ कामशक्तिले लज्जालाई नष्ट गर्दछ । कामान्ध हुनु पनि अहङ्कारको वशमा पर्नु हो ।

‘संगात् सञ्जायते कामः’ भनिएको छ । संसारमा संगतले नै व्यक्तिलाई महान् र खराब बनाउँछ । अहङ्कारी व्यक्तिको संगतले अहङ्कारी नै बन्न प्रेरित गरिरहेको हुन्छ । यसैले संगत गर्दा सज्जन व्यक्तिको गर्नु पर्दछ भनिएको छ । दुर्जन व्यक्तिको सेवा गर्नाले सज्जन हराएर जान्छन् । सत्वृत्तिको लोप हुन्छ र जीवन अवन्नतिको मार्गमा लाग्न थाल्छ । जसरी भीष्म, द्रोणजस्ता व्यक्तिले जीवन गुमाउनु पर्‍यो । कामभाव पनि जीवनमा उन्नतिको बाधक हो किनकि काममा लिप्त भएको व्यक्तिले लाज मान्न छोड्छ । ‘कामातुराणां न भयं न लज्जा’ अर्थात् काममा आतुर व्यक्तिले डर र लाज छोड्दछन् ।

डर र लाज पनि जीवनमा उन्नतिका सूचक हुन् । डर भएन भने व्यक्तिले उन्नति गर्न सक्दैनन् । यसै गरी लज्जा व्यक्तिको गुण पक्ष हो । भनौँ कामशक्तिले लज्जालाई नष्ट गर्दछ । कामान्ध हुनु पनि अहङ्कारको वशमा पर्नु हो अवनतिको मार्गमा लाग्नु हो । काम, क्रोध, लोभ, मोह हाम्रा शत्रु हुन् । यी सबै वृत्ति मनका कारण उत्पन्न हुन्छन् । मनलाई बुद्धिको लगाममा चलाउन सकियो भने अहङ्कारले डेरा जमाउन सक्दैन । ममेति (मेरोमात्र हो) को भावना अहङ्कार हो भने नममेति (मेरो केही पनि होइन)को भावना अहङ्काररहित हो ।

पौरस्त्य दर्शन, इतिहास, पुराणको सार पनि यही अहङ्काररहित हुनुपर्छ भन्ने नै छ । राम्रा नराम्रा दुबै पक्ष हामीमै अन्तर्निहित छन् । कुन पक्षको प्रसार गर्ने भन्ने कुरा हाम्रो मस्तिष्कमा निहित हुन्छ । मनले स्वार्थको दिशा दिन्छ । बुद्धिलाई पनि मनको लगाम बनाउन सकियो भने अहङ्कार नाशिन्छ र सर्वकल्याण सम्भव रहन्छ । यसैले अहङ्कार सर्वकल्याणका निम्ति सर्वथा त्याज्य रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?