नेकपा एसको निष्कर्ष : गठबन्धन टुट्नुको मुख्य कारक देउवा र दाहाल, एमालेसँग एकताको कुरा निराधार

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय मीनभवनमा शनिबारबाट सुरु पार्टी स्थायी कमिटीको बैठकमा गठबन्धन टुट्नुको कारणबारे भएको छलफलपछि नेकपा एसले देउवा र दाहालको कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको हो । बैठकपछि नेकपा एसका प्रवक्तासमेत रहनुभएका उपमहासचिव जगन्नाथ खतिवडाले कांग्रेस सभापति देउवा र माओवादीका अध्यक्ष प्रचण्डका कारण गठबन्धन टुटेको बताउनुभयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको र त्यसबारेमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पनि थाहा भएको बताउनुभयो ।

बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको आफूलाई थाहा भएको उल्लेख गर्नुभएको छ । देउवाले वचन पूरा नगरेपछि प्रचण्डको प्रतिक्रियास्वरुप गठबन्धन टुटेको बताउँदै प्रवक्ता खतिवडाले गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड रहेको जिकिर गर्नुभयो । पूर्व सत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका नरहेको नेकपा एसको जिकिर छ ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपाल असन्तुष्ट रहँदै आउनुभएको छ । बैठकको सुरुवात गर्दै अध्यक्ष नेपालले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताउनुभयो । यसअघि पनि नेपालले कांग्रेस र सभापति शेरबहादुर देउवाले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताउनुभएको थियो ।

बिहीबार भूगोलगत कमिटीका अध्यक्षहरूसँगको भर्चुअल छलफलमा पनि अध्यक्ष नेपालले कांग्रेस र माओवादी केन्द्रको मुख्य नेतृत्वका कारण गठबन्धन टुटेको जानकारी गराउनुभएको थियो । बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणमा अबको कार्यदिशा भन्ने बारेमा मन्तव्य राख्दै सशक्त संगठन भएको, युवाहरूको सहभागिता भएको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका महासचिव बेदुराम भुसालले पार्टीको संगठनलाई अगाडि बढाउन के कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।

पार्टी अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव गरिएको छैन : खतिवडा
नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको प्रष्ट पारेको छ । शनिबार स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षलाई यस प्रकारको कुनै पनि कुरा नआएको जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो, ‘पार्टी अध्यक्षसँग त्यस प्रकारको प्रस्ताव कसैले गरेको पनि छैन । औपचारिक÷अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा भएको छैन ।’ उहाँले एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताउनुभएको हो । वाम एकता र पार्टी सुदृढीकरणमा पार्टीको ध्यान रहेकाले राष्ट्रपति पाउने या सरकारमा जानेबारे अहिले नै कुनै निर्णय भइनसकेको उहाँले बताउनुभयो ।

प्रवक्ता खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको टिप्पणी गर्नुभएको छ । प्रवक्ता खतिवडाले पार्टी विलय वा एकीकरणका हल्लामा नलाग्न आग्रह गर्नुभएको हो । बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको र यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्ला मात्र भएको उहाँको दाबी छ । एमालेसँग एकता हुनेबारे पार्टीमा हालसम्म कुनै छलफल नचलेको र अहिलेको सन्दर्भमा कुनै पनि पार्टीसँग एकता नगर्ने पक्षमा पार्टी रहेको नेताहरूको भनाइ छ । एमालेसँग एकता केबल हल्ला मात्र रहेको अधिकांश नेताहरूको भनाइ छ । पार्टी प्रवक्ता खतिवडाले पार्टी एकीकरण वा विलय गराउने बारेमा कुनै काम नगरेको र त्यसबारेमा रुचि पनि नरहेको पनि प्रष्ट पार्दै भन्नुभयो, ‘वाम एकता गर्ने, एजेण्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुचि छ । यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदै छ भन्ने कुरा निराधार हल्ला मात्र हो । आम जनतालाई म यही कुरा सुसूचित गर्न चाहन्छु ।’ स्थायी कमिटीका सदस्य भविश्वर पराजुलीले बैठकमा एमालेसँग एकता हुने विषयमा छलफल नभएको जिकिर गर्दै भन्नुभयो, ‘अहिले अवस्थामा कुनै राजनीतिक दलसँग एकता हुँदैन ।’

सरकारमा जाने/नजाने निर्णय आज गर्ने
नेकपा एकीकृत समाजवादीले आजसम्ममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने भएको छ । पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने जानकारी दिँदै स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले भन्नुभयो, ‘अहिलेसम्म सरकारको बारेमा हाम्रो नीति भनेको पर्ख र हेर भन्नेमा छ । समसामयिक राजनीतिक विषयमा अध्यक्ष र सम्मानित नेताले बोल्नुभयो । अन्य सदस्यहरूले बल्ल बोल्न सुरु गर्नुभएको छ । आइतबारसम्म यस विषयमा औपचारिक निर्णय गर्नेछौँ ।’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो सरकारमा जाने वा नजाने विषय पोलिटब्युरो बैठकसम्ममा पुगेर रायसल्लाह लिने काम हुने जानकारी दिनुभयो ।

वामपन्थीबीच एकताका लागि सक्रिय छौँ : बस्नेत
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीहरूबीच एकताका लागि सक्रिय भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बस्नेतले निर्वाचनले गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको जिकिर गर्दै अब आफूहरू वामपन्थीबीच एकताका लागि सक्रिय भएको बताउनुभएको हो । पुराना दलप्रति जनताको केही वितृष्णा देखिएको उल्लेख गर्दै बस्नेतले भन्नुभयो, ‘पुराना दलप्रतिको आक्रोशका कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनेको छ । अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस् भन्नेतर्फ सबै सचेत हुनुपर्छ ।’

जसपाका मन्त्रीबारे निर्णय गर्ने जिम्मा राजनीतिक समितिलाई
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ ।

सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरू तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समितिसमेत बनाएको छ । तर, त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले जानकारी गराउनुभयो । बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे र अन्य पार्टीहरूसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?