शारदा खनालको पुस्तकमा ‘बिपीको व्यक्ति, कृति र प्रवृत्ति’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको पुस्तकमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको छ । उहाँको ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला व्यक्ति, कृति, प्रवृत्ति’ नामक समालोचनात्मक कृतिमा कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको हो ।

अध्ययन र साहित्य सिर्जनामा सक्रिय खनालले कोइरालाको जीवनी, व्यक्तित्व, कृतित्वलाई पुस्तकमा समावेश गर्नुभएको छ । उहाँको पुस्तकमा कोइरालाको साहित्यिक र राजनीतिक पाटोलाई अत्यन्त सटिकरूपमा उल्लेख गरिएको छ । सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनको प्रकाशनमा उक्त पुस्तक बजारमा आएको हो । १५६ पृष्ठ रहेको पुस्तक पठनीय रहेको छ । पुस्तकको गत वर्ष काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको थियो ।

यस पुस्तकमा कोइरालाका कथाकृतिबारे दुुईवटा छोटा परिच्छेदमात्र राखिएका छन् । विगत २४ वर्षदेखि प्राध्यापन कार्यमा संलग्न रहनुभएकी खनालले बिपीको व्यक्तित्व र कृतित्वबाट प्रभावित भएकै कारण खोज, अनुसन्धान गरी पुस्तक निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोइरालाको व्यक्तित्व, कृतित्व र आख्यानले मनमा गहिरो छाप पारेपछि पहिलेदेखि नै कलम चलाउने गर्थेँ र कोइरालासम्बन्धी मेरा थुप्रै लेखहरू पत्रपत्रिकाहरूमा प्रकाशन हुन थाले, त्यसैको फलस्वरूप म पुस्तक निकाल्न सफल भएकी हुँ ।’ बिपीको जीवनी, व्यक्तित्व र आख्यान कृतिबारे नेपाली साहित्यका विभिन्न विद्वान्हरूले थुप्रै अनुसन्धानमूलक कृतिहरू प्रकाशित गरेको अवस्थामा मेरो पुस्तकले तीभन्दा विशेष र नवीन ज्ञान दिन नसके पनि कोइरालाको कृतिबारे सरल भाषामा सजिलो तरिकाले आधारभूत ज्ञान भने प्रदान गर्ने समालोचक खनालले विश्वास व्यक्त गर्नुभयो ।

कोइरालाको उपन्यास र कथाको विश्लेषण गरेर लेखिएको खनालको पुस्तक कोइरालाका साहित्य र आख्यानका प्रवृत्तिबारे जान्न चाहने जिज्ञासु तथा विभिन्न तहका विद्यार्थीहरूका लागि उपयोगी सामग्री बन्ने प्राडा ताराकान्त पाण्डेयले पुस्तकमा उल्लेख गर्नुभएको छ । उहाँले कोइरालाका जीवनी र व्यक्तित्वका आलोकमा उहाँका कृतित्व र त्यसमा पाइने प्रवृत्तिको उल्लेख गरिएको सो पुस्तक कोइराला विषयक अध्ययन परम्परामा एउटा पाइलो र प्रयासका रूपमा अगाडि आएको बताउनुभएको छ । पाण्डेयले खनालको पुस्तक शोधको सह-उत्पादन नभए पनि शोधकार्यमा रहेको संलग्नताले पुस्तकभित्रको सामग्री विश्लेषण र मूल्यांकनलाई वस्तुपरक बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । आख्यानकार विश्वेश्वरप्रसाद कोइराला ‘व्यक्ति, कृति, प्रवृत्ति’ कृति उपलब्धिमूलक र अनुसन्धानमूलक कृतिका रूपमा रहेको डा. शैलेन्दुप्रकाश नेपालले बताउनुभयो । उहाँले पुस्तकमार्फत् लेखक खनाललाई शुुभकामना दिँदै कोइरालाको लेखनले सबैका लागि उत्प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्क–५ वाङ्लामा जन्मिनुभएकी खनालले नेपालीमा एमए गर्नुभएको छ भने बिएड र एलएलबीसमेत गर्नुभएको छ । उहाँको यो पुस्तक पहिलो कृतिका रूपमा बजारमा आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?