चिसोले जुम्लाको जनजीवन प्रभावित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । एक सातादेखि बढेको चिसोले जुम्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या बढेको छ । अस्पतालमा उपचारका लागि पहिलाभन्दा यो याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डाक्टर राजेन्द्रमणि गिरीले जानकारी दिनुभयो । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको संख्या बढेको छ । डाक्टर गिरीले भन्नुभयो, ‘सामान्य अवस्थामा औसतमा एक सयजना बिरामी उपचारका लागि आउने गरेकोमा यो समयमा दैनिक २९० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।’

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको प्रतिष्ठानका डा. गिरीको भनाइ छ । चिसो हृवात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानमा धेरै चिसो हुने गरेको छ । चिसोले सदरमुकाम खलंगामा चहलपहल घटेको छ । बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर एडीले बताउनुभयो । ‘चिसोले घरबाहिर निस्किन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘चिसोले गाउँबाट ट्युसन पढ्न बजार आएका विद्यार्थीलाई सकस भएको छ । चिसोकै कारणले यहाँका स्थानीय तहले सामुदायिक विद्यालयलाई हिउँदे बिदासमेत दिएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ ।’

चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता रावतले भन्नुभयो, ‘न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने गरेको छ ।’ चिसोले बालबच्चामात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे कामलाई प्रभावित पारेको जिल्लाका स्थानीयले जनाएका छन् । जाडोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन् ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ४.७ दशमलब र अधिकतम तापक्रम १३ दशमलब सात डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोबाट जोगिन दाउरा संकलन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?