हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारको ग्यारेन्टी गरौँ : नैनसिंह महर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।  राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताउनुभएकाे छ । उहाँले मुलुकको विकासका लागि नागरिकलाई उद्यमशील बनाउनु नै राज्यको पहिलो दायित्व हुने धारणा राख्नुभयाे ।

स्पेसिफिक विषय लिएर समाजमा विकासका मोडेलहरू स्थापित हुँदै जानेक्रम चलिरहेको बताउँदै उहाँले त्यसमा नेपाल पनि सफल हुनुपर्ने बताउनुभयाे । 'स्थानीय स्तरबाट विश्वव्यापी गर्ने, विश्वव्यापी स्तरबाट लोकलमा ल्याउने विचार प्रतिपादित छन् । र, दुवै विचार सफल प्रमाणित गर्न खोजिरहेका छन् । यस्तो अवस्थामा पछाडि पारिएको वर्गलाई उद्यमशीलताको मूल प्रवाहमा ल्याउनुपर्छ,' उहाँले भन्नुभयाे । उहाँले जनताको अधिकारको सुनिश्चितताका लागि मुलुकको अर्थतन्त्र बलियो हुनुपर्ने र त्यो उद्यमशीलताबाटमात्रै सम्भव भएको बताउनुभयाे ।

उद्यमशीलताका लागि सरकारले कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सरकार प्रस्ट नभएको उहाँको गुनासो छ । उहाँले संसदमा पनि यो विषयले प्रवेश पाउनुपर्नेमा जाेड दिनुभयाे । 'मैले त राजनीति गर्दा निस्शुल्क स्वास्थ्य र शिक्षासँगै व्यवस्थित, सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार नै भन्ने गरेको छु,' उहाँले भन्नुभयाे । जनताको सरकार जनताको अधिकार भन्ने नाराका साथ नै आफू हिँडिरहेको महरले प्रस्ट पार्नुभयाे ।

आफू नेविसंघको अध्यक्ष हुँदा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने प्रबन्ध गर्नुपर्छ भनेर आवाज उठाएको बताउनुभयाे । अहिले कार्यान्वयन नभए पनि यो माग सम्बोधनको चरणमा रहेको उहाँले बताउनुभयाे । नीतिको अभावले पनि यो विषय प्रक्रियागत रूपमा जान नसकेको उहाँकाे भनाई छ ।

'सामाजिक उद्यमशीलता र एनजिओ फेड्रेसनका कुरा गर्दा कहिलेकाहीँ हामी वर्गीय नाफामा कुरा गर्छौं । तर, ड्युटीका कुराबाट भाग्छौं । अधिकार सबै चाहियो भन्ने गर्छौं,' उहाँले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?