चलचित्रमार्फत गुरुङ भाषा, कला संस्कृतिको उन्नयनमा गणेश

Read Time = 10 mins

काठमाडौं ।नेपाली चलचित्र ‘आमा’देखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढाव आएको पाइन्छ । त्यसो त हामीकहाँ विभिन्न भिडियो चलचित्रदेखि लिएर विभिन्न भाषाभाषीका चलचित्रले त्यत्तिकै महत्व राख्दछन् । नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुक हो ।

हजारौं वर्षदेखि यहाँ परम्परित संस्कृतिले नेपालको पहिचानलाई विश्वमै चिनाउन सफल छ । नेपालमा बसोवास गर्ने जनजाति तथा आदिवासीका संस्कृति र परम्परामा पछिल्लो समय चलचित्र निर्माण भइरहेका छन् । यीमध्ये गुरुङ भाषामा बनेका चलचित्र नेपाल तथा विश्वका विभिन्न मुलुकमा प्रदर्शन भइरहेका छन् । गुरुङ संस्कृति र भाषामा आधारित रहेर विगत दुई दशकदेखि गणेश गुरुङ ‘सुवाश’ले चलचित्र बनाउँदै आउनुभएको छ ।

गुरुङको मौलिक परम्परा, भेषभूषा, भाषा-संस्कृति जर्गेना गर्ने लक्ष्यका साथ उहाँले चलचित्रमा काम गरिरहनुभएको छ । यसबीचमा उहाँले गुरुङ जातिलाई आधार बनाएर दर्जनभन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ । लमजुङमा २०३४ साल भदौ ७ गते पिता स्व.सिंहबहादुर गुरुङ र माता स्व.पदमकुमारी गुरुङको कोखबाट जन्मिनुभएका गणेशले आइएसम्म अध्ययन गर्नुभएको छ ।

उहाँले ०५८ सालमा राष्ट्रिय नाचघरबाट अभिनय तथा नाटक निर्देशनको प्रशिक्षण लिनुभयो । तत्पश्चात् उहाँ सिनेमा क्षेत्रमा सक्रियतापूर्वक लाग्नुभयो । गणेशले ०५८ सालमा गुरुङ सिनेमा काँशी (कान्छी)मा पहिलोपटक कलाकार तथा सहनिर्देशकको भूमिका निर्वाह गर्नुभयो । उक्त चलचित्रले गुरुङ समाज र समुदायमा राम्रो प्रभाव पार्न सफल भएको उहाँ सुनाउनुहुन्छ । त्यसपछि उहाँ चलचित्र निर्माणमा निरन्तर लाग्नुभयो । ‘मैले २०६० सालतिर आफैँले ‘ठूलो मान्छे’ (म्हिथेवा) भन्ने चलचित्र निर्माणसँगै मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गर्दै चलचित्र कथा वस्तु लेखन तथा निर्देशनमा लागे’, उहाँ भन्नुहुन्छ ।

आइएफएबाट निर्देशन तालिम तथा स्क्रिप्ट राइटिङको कोर्षसमेत लिए पश्चात उहाँ निरन्तर लेखन तथा निर्देशनमा क्रियाशील रहँदै आउनुभएको छ । गणेशले ०६१ सालमा चलचित्र ‘ङै नासा’ (मेरो गाउँ)को लेखन तथा निर्देशन ०६२ सालमा ‘भुलिगए पाप लाग्ला’, ०६३ मा ‘ङै जिन्दगी’ (मेरो जिन्दगी), ०६३ सालमै ‘ङै क्या’ (मेरो बाटो), ०६५ सालमा म्होरा (सपना), ०६६ मा आस्यो (मावली)लगायत चलचित्रको लेखन तथा निर्देशनको भूमिका निभाउनुभएको छ ।

यस्तै, उहाँले ०६८ सालमा कर्मरेखा चलचित्र बनाउनुभयो । उहाँका अनुसार सो चलचित्रको ५० प्रतिशत छायांकन हङकङमा र ५० प्रतिशत नेपालमा गरिएको थियो । त्यसैगरी, ०७३ सालमा उहाँले चलचित्र ‘भेँडीगोठाले’ को लेखन तथा निर्देशन गर्नुभयो । यो चलचित्रले ०७४ सालको चलचित्र विकास बोर्डबाट आदिवासी जनजाति उत्कृष्ट चलचित्र अवार्ड पाउन सफल भएको थियो । ०७४ सालमा उहाँले चलचित्र ‘खै ओ म्हिथेवा’ (फर्कि आयो ठूलो मान्छे) कुटुम्बेरी साइनो एकै साथ लेखन निर्देशन गर्नुभएको थियो । उहाँले अहिले सो चलचित्र प्रदर्शनको तयारीमा रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले बनाएका सबै चलचित्र आफ्नै गुरुङ समुदायमा आधारित छन् ।’

उहाँले ०७० सालमा सर्टमुभि ‘अ फाइन सटडे’ बनाउनुभयो । त्यसका साथै गणेशले थुप्रै गीति भिडियोको निर्देशन गरेको सुनाउनुहुन्छ । नेपालका मौलिक भाषा र संस्कृतिमा बनेका चलचित्र ओझेलमा परेको तीतो अनुभव आफूसँग रहेको उहाँ गुनासो गर्नुहुन्छ । उहाँले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरुक बानाउन चलचित्रले विशेष भूमिका खेल्ने भएकाले आफू यस क्षेत्रमा निरन्तर लागिरहेको स्पष्ट पार्नुहुन्छ । ‘हाम्रो भाषा भेषभूषा, संस्कार, संस्कृति ओझेलमा पर्न गइरहेको हाम्रो मौलिकतालाई जर्गेना गर्ने लक्ष्यका साथ गुरुङ संस्कृतिमा आधारित, साथ भाषिक चलचित्र बनाइरहेको छु ।

यसको उद्देश्य भनेको नयाँ पुस्ताले भाषा, संस्कार, संस्कृति बिर्सिँदै गएकाले त्यसलाई उजागर गर्नु हो । आगामी दिनमा त्यसलाई बचाउनु पर्छ भन्ने लागेर नै म गुरुङ सिनेमा निर्माणमा निरन्तरता लागिरहेको छु’, उहाँ भन्नुहुन्छ । भविष्यमा हाम्रा चलचित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्न सफल हुनेमा आशावादी रहेको बताउनुहुने उहाँ ‘हाम्रो चलचित्रको आफनै कथा, मौलिकता र महत्व रहेको छ’, भन्नुहुन्छ ।

गणेशले गुरुङ भाषाको चलचित्र भन्ने बित्तिकै सबैले सुरुमै आफ्नो नाम सम्झने गरेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोही पनि पुरापुर जानेरै आएको हुँदैन । तैपनि अहिलेसम्म मैले गरेको कामको समुदायले गरेको प्रशंसा, मूल्यांकन र दर्शकले दिएको प्रतिक्रियाले राम्रै गरेको रहेछु भन्ने लाग्छ ।’ उहाँ दर्शकले दिएको मायाले यस क्षेत्रमा आफूले अझै केही गर्नुपर्छ भन्ने लागेको बताउनुहुन्छ । लेखक तथा निर्देशक गणेशले बाउबाजेले धान्दै ल्याएका परम्परा, भाषा, संस्कृति, भेषभूषालगायत मौलिक विषय आउँदो पुस्तालाई दिन श्रब्य दृश्य माध्यमबाट दिन अलिक सजिलो हुने बाताउनुहुन्छ ।

पोखरामा गुरुङ चलचित्र कर्मीहरूको साझा सस्था गुरुङ फिल्म एसोसिएसन को सस्थापक उपाध्यक्ष्यसमेत रहनुभएका उहाँ पछिल्लो समय कोरोनाका कारण समस्या आएपनि अब भने फरि निरन्तरता चलचित्रहरू बन्नेमा आशावादी देखिनुहुन्छ । सांस्कृतिक संरक्षणका साथै आर्थिक उपार्जनमा पनि यसले टेवा पु¥याएको बताउनुहुने उहाँ भन्नुहुन्छ, ‘हरेक समुदाय, गाउँगाउँसम्म, गुरुङको बाहुल्यता भएको ठाउँसम्म लगेर, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा लगेर सिनेमा प्रर्दशन गर्ने गर्छौ ।

त्यसरी एउटा भेगमा बनाएको चलचित्र अर्को भेगमा देखाउन पाइएको छ यसरी प्रदर्शन गर्दा एक ठाउँबाट अर्को ठाउँमा भएको केही बोलाई, काम गराई भिन्न्तालाई पनि सजिलै बुझाउन सकिने भएको छ । त्यो हिसाबले पनि दर्शकले दिएको प्रतिक्रिया अनी धेरै ठाउँको प्रदर्शनीबाट आर्थिक हिसाबले सन्तुष्ट मिलेको छ ।’ आफूले गाउँपाखा, पखेरादेखि सिनमा बनाएर बेलायत, युरोप, अमेरिका, हङ्कङ, सिंगापुर र गल्फलगायत देशमा च्यारिटीको रूपमा प्रदर्शन गर्ने गरेको उहाँले सुनाउनुभयो ।

गणेशले अहिले पिआर लिएर युके, अष्ट्रेलिया, अमेरिका, हङ्कङमा स्थायी रूपमा बसेका गुरुङ समुदायका बालबच्चाले अंग्रेजीमात्रा बोल्ने आफ्नो पन भुल्दै लोप हुँदै जाने अवस्थामा चलचित्रको माध्यम बाट पनि सिक्न र आफनो भाषा जान्न चलचित्र सहयोगी हुने विचार व्यक्त गर्नुभयोे । ‘हाम्रो गाउँघरको एकदमै मौलिकता कमसेकम त्यहाँ नेपालीसमेत बोल्न छाडिसकेको अवस्थामा हामीले भाषा तथा संस्कृतिका विषय चलचित्रमार्फत देखाउँदा उनीहरू पनि अचम्म मानेर ‘हैन यो कुरा त हाम्रो पुर्खौलीले गरेको रहेछ’ भनेर सिक्नका लागि लालयित बनेको देखिन्छ’, उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ । गणेशले कलाकर्मकै दौरानमा थुप्रै मान सम्मान, पुरस्कार तथा अवार्ड प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?