फिक्सिङ भएको हल्ला भ्रामक : क्यान

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राजधानीमा जारी नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधि भएको जानकारी भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टीमा फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-ट्वान्टी लिगको एन्टी करप्सन युनिट (एसयू) मा उजुरी गर्न आग्रह गरेको हो । क्यानले प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला भ्रामक र मिथ्या भएको समेत जनाएको छ ।

‘नेपाल क्रिकेट संघको आयोजनामा पुुस ९ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टी–ट्वान्टी प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलाइएको अनेक भ्रामक तथा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्ने नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउँदै यसप्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–ट्वान्टीको एन्टी करप्सन युनिट (एसयू) मा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।’

यस्तै, क्यानले संघ र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन आग्रह गरेको छ । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले मंगलबारमात्रै आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियू) लाई जानकारी दिएको बताउनुभएको थियो ।

‘अरू टिमबारे थाहा भएन । हाम्रो टिमको एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको थियो । हामीले नियमअनुसार त्यो एसियूलाई भनेका थियौँ । प्रस्ताव र फिक्सिङ फरक हो । प्रस्ताव गर्‍यो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन । प्रस्ताव जो र जसले जसरी पनि गर्न सक्छ । हामीले रिपोर्ट गरेका छौँ । एसियूले हेरिसकेको छ’, ज्ञानेन्द्रले भन्नुभएको थियो ।

निष्पक्ष छानबिन होस् : पूर्वकप्तान पारस खड्का
यस्तै, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल टी–ट्वान्टी लिगको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । काठमाडौंमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्वकप्तान खड्काले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको हो ।

पूर्वकप्तान खड्काले नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस खेलमा समर्पित सम्पूर्ण सरोकारवालाको विश्वासलाई सो घटनाले चोट पुर्‍याएको उल्लेख गर्नुभएको छ ।

मंगलबार नै आधिकारिक प्रसारणमा कमेन्टेटरका रूपमा काम गर्दै आउनुभएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको आरोप लगाउनुभएको थियो । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उहाँले नेपालीसहित विदेशी खेलाडीहरूसमेत मिलेमतोमा रहेको बयान दिनुभएको हो ।

उहाँले कमेन्टरका रूपमा आफूले प्रत्येक बल हेर्ने गरेको र त्यसक्रममा खेल भावनाविपरीतका गतिविधि भइरहेको देखेको बताउनुभएको छ । उहाँले त्यसबारे एन्टी करप्सन युनिट, क्यानका पदाधिकारीलगायत सम्पूर्णलाई जानकारी दिए पनि कसैले चासो नदेखाएको बताउनुभएको हो ।

उहाँले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जालगायत खेलाडीहरूको गतिविधि सामान्य नरहेको समेत उदाहरण दिनुभएको छ । त्यसबाहेक नेपाली टोलीका एक बलरले पनि खेल भावनाविपरीत नो बल फालेको उहाँको भनाइ छ ।

सिआइबीले थाल्यो अनुसन्धान
जारी नेपाल टी-२० लिगमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ । म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमितता भएको सार्वजनिक भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आवश्यक छानबिन गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो । गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सिआइबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो ।

लुम्बिनी प्ले अफमा
लिगमा बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाइट्सलाई १०२ रनले पराजित गरेको छ । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याइएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ दशमलब चार ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो ।

काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले १६ रन बनाउनुभयो । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५–१५ रनको योगदान दिनुभयो । बलिङतर्फ लुम्बिनीका लागि हृयारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई–दुई विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिनुभयो । यस्तै, लाहिरू मिलान्थाले २६, गुलसन झाले २१, हृयारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेलले १५ रन बनाउनुभयो । बलिङतर्फ काठमाडौंका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिनुभयो ।

जितसँगै लुम्बिनीले हालसम्म खेलेका नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अंकसहित शीर्षस्थानमा छ । हारसँगै काठमाडौंले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अंक जोडेको छ । काठमाडौं अंकतालिकाको तेस्रो स्थानमा छ ।

यस्तै, विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई ६ विकेटले पराजित गर्‍यो । टियु क्रिकेट मैदान कीर्तिपुरमा फारवेस्टले दिएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । फारवेस्टका लागि नुर अहमद, प्रकाश जैशी, करण केसी र हसमतुल्लाह साहिदीले समान १-१ विकेट लिनुभयो ।

त्यसअघि ब्याटिङ रोजेको फारवेस्टले २० ओभरमा नौ विकेट गुमाएर १५६ रन बनायो । फारवेस्टका लागि विनोद भण्डारी ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाउनुभयो ।

विराटनगरका लागि साहब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिनुभयो । आठ खेलमा तीन जित, पाँच हारसहित विराटनगर ६ अंकका साथ अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । सात खेलमा एक जित हात पारेको फारवेस्ट दुई अंकका साथ अंकतालिकाको पुछारमा रहेको छ । हारसँगै फारवेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?