रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छः अध्यक्ष गोल्छा

तस्बिरः न्यूज एजेन्सी नेपाल

Read Time = 6 mins

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

बिहीवार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स,निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको हो ।

उहाँले सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको बताउनु भयो । उहाँले अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिनुभयो ।

नेपाली निर्यातजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौति भएको उल्लेख गर्नुभयो । उहाँले सरकारले निर्यात प्रोत्साहनको लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको गुनासो गर्नुभयो । अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुईङ विजनेस बढीरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताउनु भयो । उहाँले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रुपमा पाउनको लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा छ । खास गरेर बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्रको यो स्थिति आएको हो । विदेशी मुद्राको आय स्रोत एउटा मात्रै भयो । त्यो रेमिट्यान्स मात्रै हो । ९० प्रतिशत आय रेमिट्यान्स छ । पहिला पर्यटनबाट पनि विदेशी मुद्रा आर्जन हुने गरेको थियो । निर्यातको पनि प्रतिशत बढी थियो । अहिले सबैले निर्यात बढाउन जरुरी छ । निर्यात बढाउनको लागि निर्यात क्षेत्रमा रहेका भूपरिवेष्ठित राष्ट्र भएकाले चुनौतिहरु रहेको छ । हाम्रो कष्ट अफ डुईङ विजनेश बढीरहेको छ । हाम्रो लागत खर्च देखि श्रमिक खर्च समेत महँगो छ । लागत धेरै भएकाले निर्यातको धेरै वस्तुहरुमा प्रतिष्पर्धी बन्नसकेका छैनौं । यो प्रतिष्पर्धी बन्न जरुरी रहेको छ । अहिले सरकारले निर्यातलाई प्रोत्साहन गर्नको लागि निर्यातमा नगद अनुदान दिने घोषणा गरेको छ । त्यसको नियमावली पनि बनेको छ । तर निर्यातकर्ताहरुले अनुदान आउनसकेका छैनन् । निर्यातकर्ताहरुले इन्सेन्टिभ दिनको लागि एस्पोर्ट हाउसको अवधारणा ल्याएका छौं । एस्पोर्ट हाउसले निर्यात हुने वस्तुको इन्सेन्टिभ पाउनको लागि पनि यो अवधारणा अघि सारिएको हो । समग्रमा मुलुकको अर्थतन्त्र जुन विमान हो जसको एउटा मात्रै इन्जिन रेमिट्यान्स चलेको छ । अर्को इन्जिन निर्यात हुनसक्छ । तेस्रो इन्जिन पर्यटन बन्नसक्छ । तीन वटै इन्जिन चल्ने हो भने अर्थतन्त्र बलियो हुन्छ । यसमा सरकारले ध्यान दिन जरुरी छ । सबैले निर्यात अनुदान पाउनुपर्छ । हाम्रो मौलिक वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न जरुरी छ ।’

निर्यात परिषद्ले २५ औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा शुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरु राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?