भौतिक संरचना निर्माण कामलाई अघि बढाउँदै सघन सहरी विकास कार्यालय जुम्ला

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले भौतिक संरचना निर्माण कामलाई तिब्र गतिमा अघि बढाउने भएको छ । सो आयोजनाले जिल्लाको चन्दननाथ नगरपालिका – ५ मा रहेको राजासिममा सुविधा सम्पन्न अत्याधुनिक रंगशाला निर्माण गर्ने भएको छ ।

निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्रबहादुर खड्काले कुल १३ करोड लागतमा सुविधायुक्त रंगशाला निर्माणको टेन्डर आह्वान भएको छ । जिल्लामा रंगशाला नहुँदा खेलाडीहरूलाई खेल खेल्न र अभ्यास गर्न समेत निकै सकस हुने गरेको थियो । अबको दुई वर्ष भित्र रंगशाला निर्माण भएपछि जिल्लास्तरीय विभिन्न खेलकुद आयोजना गर्न सहज हुने भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव– इन्जिनियर खड्काको भनाइ छ । कर्णाली प्रदेशकै नमुना रंगशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले जनाएको छ । रंगशाला सहितका अन्य संरचना समेत निर्माण हुनेछन् ।

कुल ५० करोड बजेटमध्ये १३ करोड लागतमा रंगशालामा खर्च हुने भएको छ । बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्ने भएकाछन् । रंगशाला निर्माण प्रदेश गौरवकै आयोजनामध्ये एक हो । पहिलो विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको नाममा रंगशाला निर्माण हुने भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव– इन्जिनियर खड्काले बताउनुभयो ।

रानी ताल पार्क निर्माण, रंगशाला अगाडि सटर निर्माण, चन्दननाथ नगरपालिका वडा नं. ८ को पक्की भवन निर्माण, जुम्ला बजारमा कटिङ ढुङ्गा छाप्ने कामदेखी कृष्ण मन्दिर – एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि राजमार्ग सडक मर्मत,छिनासांगु, कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारी गाउँसम्म सडक कालोपत्रे र मालाभिड– कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायतका संरचना रंगशाला सँगसँगै निर्माण काम अगाडि बढेको भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर खड्काले बताउनुभयो ।

सो कार्यालयले साविको कर्णालीका माथिल्ला जिल्लालाई हेर्ने गरेको छ । डोल्पाको ठुली भेरी नगरपालिकामा २५ करोड लागतमा रंगशाला र त्रिपुरासुन्दरी नगरपालिकामा २५ करोड लागतमा सडक, पार्क र गेस्टहाउस निर्माण हुने र कालिकोटको रास्टकोट नगरपालिकाको २० करोडमा ३० वटा सटर निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?