पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, मृतक सबै खुर्साने गाउँका

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग१ख ४९७७ नम्बरको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा राति साढे नौ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो ।

दुर्घटनामा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ ।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको ज्यान गएको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।

मृतक सबै खुर्साने गाउँका हुन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?