जनजागृति मावि प्रदेशकै उत्कृष्ट विद्यालय

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको जनजागृति माध्यमिक विद्यालयले उत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कार पाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेलको सोल्मास्थित डाँडागाउँमा रहेको विद्यालयले प्रदेशभित्रका सामुदायिक विद्यालयहरूमध्येमा ‘उत्कृष्ट व्यवस्थापन विद्यालय’को पुरस्कार पाएको हो । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रममा जिल्लाबाट मूल्यांकनमा सहभागी भएका विद्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापन भएको सफल सामुदायिक विद्यालयका रूपमा उक्त विद्यालयलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विराटनगरमा कार्यक्रम गरी विद्यालयलाई १४ लाख ५० हजार नगदका साथमा ट्रफी र सम्मानपत्र प्रदान गरेको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र सामाजिक विकासमन्त्री राजन राईले विद्यालयका प्रबन्ध निर्देशक सूर्य राई र प्रधानाध्यापक सविता ढकाललाई पुरस्कार प्रदान गर्नुभएको छ । शुभद्रा–मदन फाउण्डेसनको सहयोगमा २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानका रूपमा जीवनोपयोगी शिक्षा सञ्चालन गर्दै आएको पूर्ण आवासीय विद्यालयमा कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठ्यक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र हुबहु व्यवहारमा उतार्र्दै आएको छ ।

नेपालकै नमुना विद्यालयका रूपमा स्थापित भइरहेको उक्त विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विद्यार्थीहरू पूर्ण आवासीयरूपमा बसेर सैद्धान्तिक र प्रयोगात्मक अध्ययन/अनुसन्धान गरिरहेका छन् । मूलतः व्यक्तिका लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षाअन्तर्गत १२ सय रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा गाई, भैंसी, बंगुर, बाख्रा, कुखुरा, परेवा, माछा, घोडा पाल्न, बारी खनजोत गर्न, गाईभैंसीको मलमूत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन÷खान, भाँडाकुँडा माझ्न, गाडी, कम्प्युटर बनाउन/चलाउन, कपडा सिलाउन, मानवीय मलमूत्रबाट प्रांगारिक मल बनाई तरकारी उत्पादन गर्नेलगायतका शिक्षा दिइँदै आएको छ ।

मानव जीवनसँग प्रत्यक्ष जोडिएको विद्यालयलाई छिट्टै ‘मानव स्कुल’का रूपमा नामकरण गर्ने तयारीसमेत भइरहेको प्रबन्ध निर्देशक राईले बताउनुभयो । व्यापक चर्चा कमाइसकेको विद्यालय भ्रमण तथा अवलोकन गर्न मात्रै देशविदेशबाट सयौं मानिसहरू आउने गरेका छन् । नेपालका विद्यालयहरूले शैक्षिक भ्रमणको पहिलो गन्तव्य नै यही विद्यालयलाई बनाउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?