‘ए’ डिभिजनका लागि १४ वटै क्लब दर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि १४ वटै क्लबले नाम दर्ता गराएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले क्लब दर्ताका लागि शुक्रबारसम्म तोकेको अन्तिम मितिसम्म सबै क्लबले नाम दर्ता गराएका हुन् ।

अन्तिम दिन शुक्रबार मनाङ मस्र्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले नाम दर्ता गराएका थिए । त्यसअघि चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेका थिए ।

यस्तै, एन्फाले दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिइसकेको जनाएको छ । एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै तीन लाख पुराईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

विमल मछिन्द्रमै रहने
राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगरले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गर्नुभएको छ । मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको हो । विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता नविकरण गर्नुभएको हो । यसअघि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?