प्रभावशाली महिला व्यक्तित्व : किरण

विनोद दाहाल वत्स
Read Time = 29 mins

किरण आचार्य मोफसलमा बसेर साहित्य सिर्जना गर्नुहुन्छ । भेरी अञ्चल र सेती महाकालीसम्म पनि उहाँको प्रभाव फैलिएको पाइन्छ । उहाँको नाम यतिमात्र होइन केन्द्रसम्म फैलिएकै छ । उहाँ पेशाले शिक्षिका हुनुहुन्छ तर शिक्षिका मात्र हुनुहुन्न, उहाँका अनेकौं व्यक्तित्व छन् । तिनै व्यक्तित्वका कारण सबैजनालाई काबुमा राख्न सक्ने सामथ्र्य पनि उहाँमा छ । बहुमुखी व्यक्तित्वकी धनी किरण आचार्य आफ्नो साहित्यको प्रवद्र्धन तथा सेवा निवृत्त जीवनमा आफन्तहरूसँगको भेटघाटका सिलसिलामा राजधानी आएका बेला उहाँसँग मेरो भेट भयो । एउटा मिर्मिरे साँझमा सिनामङ्गल चोकमा ।

मैले उहाँलाई केही समय कुरेपछि उहाँ केएमसी अस्पतालनेर उतैतिरकी साहित्यकार साथी कल्पना खरेलका साथ आइपुग्नुभएको थियो । कल्पनाजीसँग भने मेरो यसअघि एक पटक भेट भएको थियो । साहित्यकार तिलक लुइँटेलले यसका लागि चाँजोपाँजो मिलाइदिनुभएको थियो । त्यसदिन चिया खाजा खाएर सामान्य कुराकानी गरी हामी अर्को दिन भेट्ने गरी छुट्टियौँ । अर्कोदिन फेरि सिनामङ्गलस्थित कल्पना खरेलकै कोठामा बसेर कुराकानी गर्‍यौँ र यो लामो अन्तरसंवाद यसरी नै तयार भयो ।

आचार्य अङ्ग्रेजीको र समाजशास्त्रको विद्यार्थी भए पनि धार्मिक आध्यात्मिक क्षेत्रमा उहाँको रुचि रहेको मात्र होइन उहाँ यसबारे गहिरो जानकारीसमेत राख्नुहुन्छ । उहाँ धर्मशास्त्रका प्रकाण्ड विद्वानहरूसँग विभिन्न जिज्ञासा राख्नुहुन्छ र आफ्नो धारण पनि उहाँहरूलाई सुनाएर त्यस्ता विषयमा बहस गर्न रुचाउनुहुन्छ ।

नेपालगञ्ज घरबारी टोलमा गोपालप्रसाद पौडेल तथा विद्यादेवी पौडेलकी सुपुत्रीका रूपमा उहाँ २०१५ साल असोज १९ गते जन्मिनु भएको हो । पितामाताकी पहिलो सन्तान उहाँ, उहाँका दुई भाइ राकेश र राजेश पौडेल तथा तीनजना बहिनी अनिता भण्डारी, सङ्गीता दवाडी र रोसी ज्ञवाली हुनुहुन्छ । प्रा.डा. जनार्दन आचार्य उहाँका श्रीमान्, उहाँहरूको विवाह भने धनगढीबाट २०३७ साल वैशाख २८ गते भएको होे तर श्रीमान्को घर भने दाङ हो ।

किरण आचार्यका पिता गोपालप्रसाद पौडेल पनि दाङकै हुनुहुन्थ्यो तर पछि बाँकेको नेपालगञ्ज जानुभएको थियो र जागिरको सिलसिलामा धनगढीमा रहेका बेला त्यहीबाट छोरी किरणको विवाह गरिदिनु भएको थियो । किरण आचार्यका श्रीमान्ले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालगञ्ज कलेजमा राजनीतिशास्त्र प्राध्यापन गर्नुभयो र हाल सेवा निवृत्त हुनुहुन्छ । उहाँहरूका दुईजना छोरामा एकजना डा.विपिन आचार्य हाल भेरी अस्पतालको मुटुरोग विज्ञका रूपमा कार्यरत हुनुहुन्छ ।

किरण आचार्यले नेपालगञ्ज र धनगढीमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । कक्षा १ देखि ३ सम्म उहाँले नेपालगञ्जको सरस्वती माविका पढ्नुभयो । कक्षा ४ देखि १० सम्म धनगढीको पञ्चोदय माविमा पढ्नुभयो । दाङको महेन्द्र क्याम्पसबाट आइए, भारतको कानपुर विश्वविद्यालयबाट अंग्रेजीमा बिए, पूर्वाञ्चल विश्वविद्यालयबाट अङ्ग्रेजीमा बिएड र भारतको अवध विश्वविद्यालयबाट समाजशास्त्र (सोसियोलोजी)मा उहाँले एमए गर्नुभएको छ ।

उहाँले नेपालगञ्जको आफूले अध्ययन गरेकै सरस्वती माविमा १९ वर्षसम्म अध्यापन गर्नुभयो । यसका साथै नेपालगञ्जको प्रसिद्ध विद्यालय धम्बोजी माविमा सुरुमा शिक्षक र पछि प्रधानअध्यापक भएर सेवा गर्नुभयो । २०४१ सालदेखि अध्यापन सुरु गर्नुभएकी आचार्य २०४६ साल जेठ ११ गते स्थायी हुनुभयो र २०७५ साल असोज १८ गते उमेर हदका कारण उहाँले अनिवार्य अवकाश लिनुभयो ।

थारू, अवधि, हिन्दी, नेपाली तथा अङ्ग्रेजी भाषा बोल्न सक्नुहुन्छ किरण आचार्य । उहाँले नेपालका आधा जति जिल्ला तथा जापान, थाइल्याण्ड, सिंगापुर, मलेसिया, बंगलादेश, भारत, इटाली, फ्रान्स र अष्ट्रेलियालगायत देशहरूको भ्रमण गर्नुभएको छ । किरण आचार्य सम्पन्न परिवारकी छोरी तथा सम्पन्न परिवारकै बुहारी हुनुहुन्छ । उहाँको माइती तथा घर दुवै परिवार तराईका जमिनदार हुन् । उहाँ शैक्षिक तथा साहित्यिक अभियन्तासमेत हुनुहुन्छ । उहाँ साहित्य र शिक्षालाई अरूसम्म पु¥याएर परिचयसमेत गराएँ भन्नुहुन्छ । उहाँ आफू सानै छँदादेखि नै साहित्य सिर्जनामा लाग्नुभएको थियो । विद्यालय तहमा अध्ययन गर्दादेखि नै उहाँले कविता र केही कथा लेख्नुभयो ।

उहाँका धेरै फुटकर रचनाहरू प्रकाशित छन् । केही अप्रकाशित पनि छन् । हालसम्म उहाँका छवटा पुस्तकहरू प्रकाशित छन् र एउटा प्रकाशनका क्रममा प्रेसमा छ । उहाँका हालसम्म प्रकाशित पुस्तकहरूमा अनुभूति (कवितासङ्ग्रह) २०६०, अस्तित्व (मुक्तकसङ्ग्रह) २०६२, सँपरजुवा-थारू भाषाको लोक कथासङ्ग्रह थारू भाषामा) २०७७, क्यन्टोनमेन्ट (कथासङ्ग्रह) २०७७, सृष्टिचक्र (लघुकथासङ्ग्रह) २०७८, जरत्कारु (उपन्यास) २०७९ र हाम्रा देवदेवी (अनुसनधानात्मक लेखसङ्ग्रह) २०७९ छन् ।

नेपालको शिक्षा प्रणालीका सम्बन्धमा उहाँको टिप्पणी कठोर छ । आचार्य वर्तमान शिक्षा प्रणालीको कमजोरी औंल्याउँदै समाधान पनि दिनुहुन्छ । उहाँ निशङ्कोच भन्नुहुन्छ, ‘हाम्रो वर्तमान शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानामात्र भएको छ ।

यसरी उहाँले साहित्यका कथा, कविता, लघुकथा, मुक्तक तथा उपन्यासमा समेत कलम चलाउनु भएको पाइन्छ । यसका साथै उहाँको अनुसन्धानात्मक लेखहरूको सङ्ग्रह पनि प्रकाशनको क्रममा रहेको जानकारी पाइनाले उहाँ साहित्यका प्रायः सबैजसो विधामा कलम चलाउनुहुन्छ भन्ने देखिन्छ । धार्मिक आध्यिात्मिक क्षेत्रमा उहाँको गहिरो रुचि रहेको छ । हालैमात्र उहाँको एउटा ‘जरत्कारु’ शीर्षकको पुस्तक प्रकाशित भएको छ । जरत्कारु पनि पौराणिक पात्र नै हो । आचार्य अङ्ग्रेजीको र समाजशास्त्रको विद्यार्थी भए पनि धार्मिक आध्यात्मिक क्षेत्रमा उहाँको रुचि रहेको मात्र होइन उहाँ यसबारे गहिरो जानकारीसमेत राख्नुहुन्छ । उहाँ धर्मशास्त्रका प्रकाण्ड विद्वानसँग विभिन्न जिज्ञासा राख्नुहुन्छ र आफ्नो धारण पनि उहाँहरूलाई सुनाएर त्यस्ता विषयमा बहस गर्न रुचाउनुहुन्छ । त्यो सामथ्र्य उहाँमा रहेको छ ।

अरूले त्यसको अर्थ नबुझी वाचन गर्ने गरेका स्तोत्र र श्लोकहरूको अर्थ खोज्ने र विश्लेषण गर्ने स्वभाव उहाँको रहेको छ । के कारणले तपाईं यसतर्फ आकर्षित हुनुभएको हो ? भन्दा उहाँ हाम्रो धर्मका बारेमा अरूले गरेको अपव्याख्याका कारण म यसतर्फ गहिरिएकी र आकर्षित भएकी हुँ भन्नुहुन्छ । ‘त्यसैले म हाल अरूले लेख्ने गरेको यौन, प्रगतिशीलता, प्रेम, मनोविज्ञान, प्रकृतिचित्रण जस्ता चल्तीका विषय र भावलाई छोडेर अध्यात्मकै क्षेत्रमा गहिरिँदै गएकी हुँ’ उहाँ भन्नुहुन्छ । यस क्षेत्रमा पाठकहरूको कमी छ तर उहाँले त्यसलाई मात्र हेर्नु भएन, धर्मशास्त्रका प्रकाण्ड विद्वानहरूको पंक्तिमै रहेर यसको खोज अनुसन्धान र लेखनमा लागिरहनु भएकै छ ।

तैपनि उहाँ कुनै कारणले नभई आत्मासन्तुष्टिका लागि लेख्ने गर्छु भन्नुहुन्छ । लेखन क्षेत्रमा लागेका कारण आत्मसन्तुष्टि र आनन्द पाएकी छु, आपूmले लेखनबाट पाएको प्राप्ति यही हो भन्नुहुन्छ उहाँ । आपूmले नेपाली साहित्यका क्षेत्रमा एउटा इँटा थप्न सकेकी छु जस्तो उहाँलाई लाग्छ । घरका लागि दिने केही समय साहित्यलाई दिएँ, यसैले साहित्यका केही पुस्तकहरू लेख्न र प्रकाशित गर्न पाएँ । यस कारणले आपूmले बरु केही प्राप्ति नै गरेको केही नगुमाएको भन्ने उहाँलाई लाग्छ । उहाँको यो प्राप्ति र लेखनमा लागेका कारण केही नगुमाएको सन्दर्भ नेपालका अधिकांश साहित्यकारकै समान छ । उहाँको अबको योजना पनि अध्ययन र लेखन नै हो ।

उहाँ पुराण र उपनिषद्हरूको अध्ययनमा लागिरहेकी छु र केही पौराणिक पात्रहरूका बारेमा गहिरो गरी अध्ययन गरेर तिनमै आधारित भई तिनैलाई बिम्ब बनाएर केही लेख्ने सोचाइमा छु भन्नुहुन्छ । यसबाट उहाँको अध्ययन र लेखन नेपाली साहित्यको सालाखाला लेखनभन्दा पृथक छ भन्दा अन्यथा नहोला । राजनीतिक विचारका बारेमा पनि मैले उहाँलाई प्रश्न गरेँ तर उत्तरका लागि बाध्य बनाइनँ । जवाफ दिन चाहनुहुन्छ भने दिनुहोस्, नदिँदा पनि हुन्छ भनेको थिएँ ।

उहाँले कुशलतापूर्वक यसको जवाफ दिनुभयो र भन्नुभयो ‘म प्रजातन्त्रप्रति विश्वास राख्छु तर दबाबमा होइन चिन्तन भने स्वतन्त्र हुनुपर्छ ।’ उहाँ राति उठेर लेख्नुहुन्थ्यो र परिवारले पनि उहाँको लेखनलाई सहयोग पु¥याए भन्ने उहाँलाई लाग्छ । अहिले त सेवानिवृत्त जीवन छ उहाँको । त्यसैले लेखनका लागि पहिलेको भन्दा अलिक बढी समय उपलब्ध हुँदै आएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्न केही असजिलो लाग्यो कि लागेन ? उहाँ यसलाई मानिसको मनोविज्ञानमात्र त्यस्तो हो सिर्जना जहाँ बसेर गरे पनि उस्तै हो । कर्म गर्ने हो आपूm अरूतिर लागिएन र यसैमा लागेपछि त्यस्तो भावना नै आएन भन्नुहुन्छ ।

महिला भएर चाहिँ केही असजिलो भयो कि भन्दा उहाँ भन्नुहुन्छ, ‘अलिकति डोमिनेसन त हुन्छ नै तर मैले भने त्यस्तो महसुस गरिनँ’ । उहाँ निर्भीक महिला धम्बोजीमा प्रधानअध्यापक भएका बेला उहाँको छायाँ देख्दा विद्यार्थीलाई तर्सिन्थे हातमा लठ्ठी लिनै पर्दैनथ्यो । यतिमात्रै होइन उहाँको प्रशासन देखेर जिल्लास्थित प्रशासकहरू पनि हच्किन्थे भन्नुहुन्छ उहाँ । उहाँले धेरै असहाय, गरिबहरूलाई स्नेहका साथ विद्यालयमा आएर पढ्न प्रेरित पनि गर्नुभयो । कतिको मासिक शुल्क तिरिदिनुभयो र चनाचटपटे बेच्ने बालबालिकालाई आधा समय विद्यालयमा पढाएर आधा समय पेशा गर्न छुट दिनुभयो ।

यसरी पढेका धेरै विद्यार्थीहरूले अहिले राम्रो उन्नति गरेको र अत्मानिर्भर भएको देख्दा आपूmलाई हाल अपार आनन्द लाग्छ भन्नुहुन्छ आचार्य । केही सहकर्मी शिक्षक, केही बाहिरियाहरू र राजनीतिक व्यक्तिहरूले बक्रदृष्टि राख्दा ती सबैलाई तह लगाएको अनेक प्रसंग छन् उहाँसँग । उहाँले अवधि र थारूभाषी विपन्नहरूको टोलमा उनीहरूको भाषा बोल्दै उनीहरूका छोराछोरी ल्याएर विद्यालयमा पढाउनुभयो । गरिबहरूलाई लुगा दिनुभयो, खाना दिनुभयो । उहाँले सहयोग गरेका विद्यार्थी अहिले माथि पुगेका छन् । ‘बच्चाहरूको पढाइमा मैले कुनै सम्झौता गरिनँ बरू प्रधानअध्यापक भएका बेला घरव्यवहार र साहित्य सिर्जना छोड्नु पर्‍यो’ उहाँ भन्नुहुन्छ ।

लेखन भनेको रुचि हो, व्यवसाय होइन उहाँको विचार हो यो । ‘म कुनै पनि पुरुषभन्दा कम छु भन्ने मैले कहिल्यै पनि ठानिनँ बरू कतिपय पुरुषहरूभन्दा बढी नै काम गरेकी छु । अहिले पनि म पुरुषहरूसँग दाँजिन सकेकी छु भन्ने लाग्छ’ उहाँ दृढताका साथ भन्नुहुन्छ । ‘टोल टोल घुमेर कतिपय विकृति र विसङ्गति हटाएकी छु र नेपालगञ्जका ठूला सामन्त र राजनीतिज्ञहरूसँग टक्कर लिएर संस्था बनाएकी छु, समाज सुधारका कामहरू गरेकी छु’ उहाँ यसरी आफ्नो निर्भीक स्वभाव प्रकट गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘यो मेरो गौरवको विषय पनि हो । मलाई खुशी लाग्ने कुरा हो यो । मेरो प्रतिष्ठा पनि यसैमा छ । मेरो प्रसंशा पनि चौतर्फी रूपमा जसरी भएको थियो त्यो मेरो यस्तै निर्भीक कार्यले गर्दा नै हो ।’ तपाईंको लामो जीवन यात्रामा आफू कहाँनेर आइपुगेकी छु भन्ने ठान्नुहुन्छ त ?’ मेरो प्रश्न थियो यो । उहाँले आफू केही गरेरै यहाँसम्म आइपुगेकी हुँ । जीवनको लामो यात्रा त गरेकै छु तर यो यात्रा केही नगरी बितेको छैन भन्नुहुँन्छ उहाँ ।

‘म केही काम गरिरहेकी छु’, उहाँ भन्नुहुन्छ । ‘मैले काम गरेको समाज हेर्दा मलाई आफूले धेरै काम गरेकी छु जस्तो लाग्छ । त्यहाँका पछौटे अवस्थाका बालबालिकालाई शिक्षित पार्न धेरै नै प्रयास गरेकी छु र तिनको जीवन बदलिदिएकी पनि छु । तिनलाई माथि उठाएकी छु, आर्थिक रूपमा र चेतनाका रूपमा । ती धेरै माथि उठेका छन्’ किरण आचार्य भन्नुहुन्छ ।

उहाँको कान्छो छोरा शाश्वत आचार्य २० वर्षको कलिलो उमेरमै बित्नुभयो २०६२ साल कात्तिक १९ गते । पढाइमा मेधावी हुनुहुन्थ्यो । पढाइका क्रममा छिमेकी देश भारतमा छँदा उहाँको असामयिक अवसान भयो । सबैभन्दा दुःखान्त बन्यो यो घटना किरण आचार्यका जीवनमा । केही कुराले पनि उहाँको मनलाई मलम बनेर बिर्साउन सक्दैन । एउटी आमाका लागि यसभन्दा दुःखको कुरा केही हुन सक्ँदैन । यो प्रसङ्गले उहाँलाई बोल्दाबोल्दै निकै भावुक बनायो ।

नेपालको शिक्षा प्रणालीका सम्बन्धमा उहाँको टिप्पणी पनि कठोर छ । उहाँ वर्तमान शिक्षा प्रणालीको कमजोरी औंल्याउँदै समाधान पनि दिनुहुन्छ । उहाँ निशङ्कोच भन्नुहुन्छ, ‘हाम्रो वर्तमान शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानामात्र भएको छ । नेपाली, सामाजिक, अंग्रेजी, गणित, विज्ञान अनिवार्य बनाउने र बाँकी तीन सय पूर्णाङ्कको प्राविधिक रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्छ, जसले गर्दा ती विद्यार्थीहरूले गरिखान सकून् ।’ नेपाली र सामाजिक शिक्षा विषयलाई एउटै बनाउनुपर्छ र यस्तो शिक्षा कक्षा ६ देखि १२ कक्षासम्म लागू गर्नुपर्छ भन्ने धारणा छ उहाँको ।

उहाँ वर्तमान साहित्यले समातेको बाटाका बारेमा पनि आफ्नो स्पष्ट धारणा राख्नुहुन्छ र भन्नुहुन्छ, ‘वर्तमान साहित्य स्वच्छन्द बाटामा हिँडिरहेको छ । त्यसैले विभिन्न धारमा विभाजित बन्नपुगेको छ । त्यो नराम्रो होइन । त्यस कारण यो अनुसन्धानात्मक लेखन भएको छ । त्यसैले पनि यसलाई राम्रो भएको छ भनेकी हुँ’ उहाँ भन्नुहुन्छ । अहिले पनि नेपाली साहित्यमा नयाँ नयाँ धार बनिरहेको उहाँ देख्नुहुन्छ र यसलाई सकारात्मक ठान्नुहुन्छ । किनभने, यसबाट प्रतिस्पर्धात्मक अवस्था सिर्जना हुन्छ र साहित्यले खारिने र माझिने मौका पाउँछ ।

उहाँले लेखेका कारण मानसम्मान र पुरस्कार पनि प्राप्त गर्नुभएको छ । नइ, भानुभक्त, लेखक संघ, पूर्णिमा मासिकलगायत मानसम्मान र पुरस्कार पाएको उहाँ बताउनुहुन्छ । वर्तमान समयका सम्मान पाउनु भनेको कतिपय अवस्थामा लज्जाको विषय बन्ने गरेको पनि चर्चा हुन्छ । सट्टापट्टामा पुरस्कार दिने लिने गरिन्छ पनि भनिन्छ । अझै कतिपय अवस्थामा त पुरस्कार घोषणा गरिन्छ र पुरस्कारमा तोकिएको रकम त्यही पुरस्कार दिने संस्थामै राखिन्छ समेत भन्ने गरिएको छ । किरण आचार्यलाई यिनै कुरा सम्झाएर पुरस्कारको बारेमा उहाँको धारणा बुझ्ने प्रयास गरेको हुँ ।

उहाँ यस विषयमा भन्नुहुन्छ, ‘सम्मान भनेको सम्मान नै हो । केही त्यस्ता झिनामसिना कारणले यिनको अवमूल्यन गर्नुहुँदैन । कसैले बद्मासी गरे भन्दैमा सबैले त्यसै गर्छन् भन्ने होइन । असल नियतले पुरस्कार प्रदान गर्ने र मानसम्मान, अभिनन्दन गर्ने साहित्यिक संस्था छन् । तिनलाई अपमान गर्ने काम गर्नु हुँदैन ।’ आचार्य वर्तमानमा विभिन्न क्षेत्रमा दिइएको आरक्षणमा समेत नराम्रा पक्ष केलाउनुुहुन्छ ।
‘प्रतिस्पर्धा हुनैपर्छ । आरक्षणले प्रतिस्पर्धाको अवसरबाट वञ्चित गर्छ र व्यक्तिको सिर्जनशीलता र प्रतिस्पर्धा गर्ने सामथ्र्यलाई कमजोर बनाउँदै लान्छ’ उहाँ भन्नुहुन्छ । उहाँको यस धारणासँग यो पंक्तिकारको धारणा समान रहँदै आएको छ । त्यसैले उहाँको यस धारणालाई मैले यहाँ समावेश गर्न चाहेँ । उहाँ आफू जहाँ पुगेकी छु त्यो प्रतिस्पर्धाबाटै पुगेकी हुँ भन्नुहुन्छ ।

पढाइका क्रममा अधिकांश शिक्षकहरूले व्याख्यान विधिको मात्र प्रयोग गर्छन् । छलफल विधि, अभिनय विधि, प्रदर्शन विधिलगायत विभिन्न विधि पनि शिक्षणका लागि सिफारिश गरिएका छन् तर अन्य विधि त्यति प्रयोगमा आउँदैनन् । यसको कारण व्याख्यान विधिमा कक्षा तुलनात्मक रूपमा शान्त हुन्छ र विद्यार्थीहरूलाई सुन्न बाध्य बनाइन्छ । यसबाहेकका विधि प्रयोग गर्दा कक्षामा केही हल्ला हुन्छ । बाहिरबाट हेर्नेहरू र प्रशासनमा बस्नेले त्यस्तो कक्षा देख्दा शिक्षकको कमजोरीले हल्ला भएको ठान्छन् ।

त्यसैले अधिकांश शिक्षकले व्याख्यान विधि अपनाउँछन् । किरण आचार्य यसलाई उचित ठान्नुहुन्न । विद्यार्थी केन्द्रित विधि प्रयोग गरेर पढाउनुपर्छ भन्ने उहाँको सुझाव छ । यसो गर्दा कक्षा शान्त नभए पनि बढीभन्दा बढी विद्यार्थी पढाइमा संलग्न हुन्छन् । व्याख्यान विधिमात्र प्रयोग गर्नुलाई उहाँ शिक्षकको कमजोरी ठान्नुहुन्छ । अन्यथा पाठ्यक्रममा विषयगत सन्तुलन नमिलेको भए पनि दिइएको पाठ्यअंश स्तरीय रहेको उहाँको धारणा छ ।

शिक्षणमा संलग्न धेरैजसो शिक्षकहरूमा कमजोरी छ । पढाइमा भन्दा राजनीति तथा अन्य गतिविधिमा उहाँहरूको संलग्नता रहने गरेको छ । यस प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भन्ने उहाँको सुझाव छ । अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरू तालिमप्राप्त भएर पनि सामुदायिक विद्यालयकै पढाइको स्तर कमजोर हुनुका कारणहरू यिनै हुन भन्ने उहाँलाई लाग्छ ।

उहाँ आपूm शिक्षणमा रहँदा र प्रधानाध्यापक भएर प्रशासन चलाउँदाका बखतमा पनि आफू नारी भएकै कारण विभिन्न प्रकारका अप्ठ्यारा भोग्नु परेका उदाहरण प्रस्तुत गर्नुहुन्छ तर आफूमा भएको दृढता र प्रशासनकुशलताका कारण आपूmले डटेर त्यस्ता भेदभावपूर्ण व्यवहारहरूको सामना गरेको उहाँ बताउनुहुन्छ ।

अधिकांश शिक्षकहरूले व्याख्यान विधि अपनाउँछन् । किरण आचार्य यसलाई उचित ठान्नुहुन्न । विद्यार्थी केन्द्रित विधि प्रयोग गरेर पढाउनुपर्छ भन्ने उहाँको सुझाब छ । यसो गर्दा कक्षा शान्त नभए पनि बढीभन्दा बढी विद्यार्थी पढाइमा संलग्न हुन्छन् ।

हालका दिनहरूमा सामाजिक सञ्जालको प्रयोगका कारण घरमै बसी बसी आफ्नो मनोभावना प्रस्तुत गर्ने अवसर सबैले पाएका छन् । पहिलेको जसरी प्रकाशनगृहको ढोकासम्म पुग्नु अहिले पर्दैन तर यसबाट गैरसाहित्यलाई साहित्यका रूपमा प्रस्तुत गर्ने गरिएको छ । नराम्रो भए पनि सबैले राम्रो भनेर लाइक, कमेन्ट र शेयर गरिदिने गरेपछि लेखनका क्षेत्रमा क ख सिक्दै गरेकासमेत साहित्यकारमा दर्ज भएका छन् ।

श्रीमती किरण आचार्यलाई यसबारे प्रतिक्रियाका लागि आग्रह गरियो । उहाँ यसलाई नराम्रो मान्नुहुन्न । ‘यो सबैका लागि अवसर हो । लेख्नैपर्छ । राम्रो भए अगाडि आउँछन् नत्र आउँदैनन्, आफैँ हराउँछन् । यसबाट राम्रो साहित्यकार र साहित्य रहेछ भने त्यसले अगाडि आउने मौका पाउँछ । साहित्यको स्तर हुनैपर्छ । लेख्नेले स्तर कायम गरेरै लेख्नुपर्छ । सामाजिक सञ्जाल यसका लागि माध्यम बनेर आएको छ । यसलाई हामीले आत्मसात गर्नैपर्छ’ उहाँ भन्नुहुन्छ ।

अन्त्यमा उहाँलाई साहित्य र शिक्षा क्षेत्रका समेत नयाँ पुस्तालाई केही सल्लाह र सुझावका लागि आग्रह गरियो । उहाँले यी दुबै क्षेत्रका नवपुस्तालाई एकै साथ सल्लाह-सुझाव दिँदै भन्नुभयो, ‘आफ्नो अभिरुचिलाई अगाडि बढाउँनै पर्छ । जुनसुकै क्षेत्रमा लागे पनि स्तर कायम राखेर अगाडि बढ्नुपर्छ । शिक्षा क्षेत्रमा लागेका र साहित्य सिर्जनामा लाग्नेहरूले समेत यसलाई पालन गर्नु उचित हुन्छ । यसले मानिसको जीवन बदल्न सक्छ । यो यी दुवै क्षेत्रमा लागेकालाई मेरो सुझाब हो’ उहाँ भन्नुहुन्छ । शिक्षा र साहित्य क्षेत्रकी निर्भीक अभियन्ता किरण आचार्यज्यूलाई यी क्षेत्रमा पनि अझै सफलता मिल्दैजावस्, सुस्वास्थ्य र दीर्घायुको समेत हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?