गीतसंग्रह ‘आमआलाप’ विमोचन

Read Time = 3 mins

काठमाडौं । कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)को गीतसंग्रह ‘आमआलाप’ विमोचन गरिएको छ । नेपाली वाङ्मय परिषद्द्वारा काठमाडौंमा आयोजित एक विशेष समारोहबीच वरिष्ठ गीतकार प्रा.डा.कृष्णहरि बराल तथा संगीतकार वसन्त मुकारुङले संयुक्तरूपमा ‘आमआलाप’को विमोचन गर्नुभएको हो ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि प्रा.डा.बरालले कवि तथा गीतकार त्यागीका गीतहरूले भावकका मन र मस्तिष्कलाई झंकृत गराउने बताउनुभयो । ‘यस संग्र्रहमा समाविष्ट गीतकार त्यागीका गीतहरूमा राष्ट्र, राष्ट्रियता, माया-प्रेमका साथै समाज र संस्कृति सजीवरूपमा चित्रित भएका छन्’, उहाँले भन्नुभयो ।

विमोचन समारोहका सभापतिसमेत रहनुभएका वरिष्ठ संगीतकार वसन्त मुकारुङले त्यागीका गीतहरूभित्रै संगीत पाइने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘संगीतकारले धेरै सोचिरहनु नपर्ने खालका गीतहरू छन् संग्रहभित्र । यो गीतकारको सफलता हो । गीतहरू सरल छन् र सम्प्रेषणीय छन् ।’

प्राज्ञ तथा कवि धु्रव मधिकर्मीले ‘आमआलाप’भित्रका सबै गीतहरू मिठासपूर्ण रहेको बताउनुभयो । यस्तै, प्रसिद्ध गीतकार टीका चाम्लिङले त्यागीकोे कविता तथा गीत लेखनका बारेमा आफू सुरुदेखि नै साक्षी रहेको उल्लेख गर्दै त्यागी लय र स्वरलाई ध्यानमा राखेर गीत रचना गर्ने क्षमता भएका गीतकार भएको बताउनुभयो । कवि तथा अन्तर्बोध साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक होमशंकर बास्तोलाले त्यागीका गीतहरू अब्बल रहेको बताउनुभयो ।

त्यागीले गीतरचना गर्दाको अनुभूति सुनाउँदै एकान्तमा गुनगुनाउँदा गुनगुनुनाउँदै गीतसंग्रह तयार भएको सुनाउनुभयो । उहाँले गीतहरू आफ्ना भावनामात्रै नभएर समाजकै तस्वीर भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी एलिसा ढुुंगानाले गर्नुभएको थियो । संग्रहमा ८४ वटा गीत समाविष्ट छन् । यसअघि त्यागीको एक कवितासंग्रह प्रकाशित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?