नेपाली हस्तकला प्रवर्द्धन गर्न एनआरएनएलाई आग्रह

Read Time = 5 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामग्री विदेशमा निर्यात तथा प्रवर्द्धनका लागि छलफल भएको छ । मन्त्रालयको सहजीकरणमा मन्त्रालयमै आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवालीले नेपालमा उत्पादित सामग्रीको प्रवर्द्धनका लागि गुणस्तर, उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र वैदेशिक बजारको मागलगायतमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एनआरएनएले विश्वका विभिन्न देशमा नेपालका सामग्रीको प्रवद्र्धनमा सहजीकरण गरिदिन सक्ने उहाँको भनाइ थियो । सचिव ज्ञवालीले भन्नुभयो, ‘नेपालका मौलिक हस्तकलाका सामग्री एनआरएनले आफू बसेको सम्बन्धित देशमा प्रवद्र्धन गर्न मद्दत गर्न सक्नेछन् । तर, ती सामग्रीको गुणस्तरीयता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादनपूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको मूल्य तथा बजार मागको मूल्यांकनलगायत महासंघमा आबद्ध सबैले ध्यान दिनुपर्छ ।’

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले गुणस्तरमा ध्यान दिने हो भने विश्वका कुनै पनि देशमा नेपाली मौलिक सामग्रीको प्रवद्र्धन गर्न सकिने बताउनुभयो । सन् २००९ देखि नै एनआरएनएले नेपाली उत्पादन विदेशी बजारमा लैजान पहल गरिरहेको उहाँले दाबी गर्नुभयो । अध्यक्ष केसीले विश्वभर ६० लाख बढी नेपाली भएको र एनआरएनएकै सञ्जाल ८५ देशमा पुगिसकेकाले पनि नेपालको मौलिक उत्पादन विदेशी बजारमा लैजान कुनै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली हस्तकला वा जुनसुकै मौलिक सामग्री प्रवद्र्धनमा कुनै समस्या छैन तर तपार्इंहरूले गुणस्तर, प्याकेजिङ, नेपाली उत्पादनबारे अध्ययन अनुसन्धानलगायतका विषयमा गहनरूपमा काम गर्नैपर्छ, नेपालका सामग्री विदेशी बजारमा बेच्ने हो भने त्यहीँको गुणस्तर र मापदण्ड अपनाउन सक्नुपर्छ ।’

हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपाली पनि इच्छुक रहेको भन्दै उहाँले सरकारलाई लगानीका लागि सहजीकरण गरिदिनसमेत आग्रह गर्नुभयो । नेपाली कला र मौलिक सामग्रीलाई प्रवद्र्धन गर्न हाल कतिपय देशमा नेपाली हाउस सञ्चालनमा रहेकाले आगामी दिनमा पनि एनआरएनएका सञ्जाल रहेका देशमा समेत नेपाली हाउस स्थापनाका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । एनआरएनएअन्तर्गतको नेपाल प्रवद्र्धन समितिका उपसंयोजक तथा एनसिसी हङकङका अध्यक्ष गोकर्ण ढकालले नेपाली उत्पादन विदेशमा माग भए पनि मागअनुसार गुणस्तर र मापदण्डअनुसार सामग्री सप्लाई गर्न नसक्दा समस्या हुने गरेको बताउनुभयो ।

एनआरएनएका युवा संयोजक अब्दुल वासिद्ले नेपाली हस्तकलाका प्रवद्र्धनका लागि सरकारले सहजीकरण गर्दै कुन देशमा प्रवद्र्धन गर्ने हो, त्यसपूर्व सम्बन्धित देशको मापदण्ड, गुणस्तरलगायतका विषयमा पनि सचेत हुनुपर्ने बताउनुभयो ।

हस्तकला महासंघका उपाध्यक्ष किरणकुमार स्थापितले विदेशमा रहेका नेपालीकै उत्पादनसँगै सहकार्य गरेर नेपाली हस्तकला पनि समेटेर सँगसँगै प्रवर्द्धन गर्न आग्रह गर्नुभयो । महासंघका सदस्य स्वयम्भूरत्न तुलाधरले विदेशमा नेपाली मौलिक सामग्रीको प्रवर्द्धनका लागि सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?