मूलधारसँग नजोडिएको ‘सुदूरपश्चिम पर्यटन’

Read Time = 16 mins

✍️ टेकराज अवस्थी

सुदूरपश्चिम प्रदेश सुदूरपश्चिमको सुदूरपश्चिम नै रहृयो, पहिले पनि र अहिले पनि । पर्यटन नेपालको समृद्धिका लागि मुख्य आधार हो र पर्यटकिय संभावना नभएको नेपालको यस्तो कुनै क्षेत्र सायदै नहोला । कुनै न कुनै रूपमा मुलुकका ७७ वटै जिल्लामा पर्यटकीय गन्तव्य छन् अनेक आकर्षण र विधामा । तथापि समानुपातिक विकासको अवधारणा अनुरूप राज्यले न्यायिक रूपमा हेर्न सकिरहेको छैन ।

पञ्चायतकालमा नाम दिईएको सुदूरपश्चिम गणतन्त्रमा पनि त्यही नामले परिचित हुँदैछ, सुदूरका नौ जिल्ला प्राकृतिक, धामिृक तथा संस्कृतिक रूपले अत्यन्त धनी छन् तर सुदूरपश्चिमका लागि सोच्ने र यथोचित रूपमा काम गर्ने नीति तथा नेतृत्व नपाएको सुदूरपश्चिम जहिले पनि अभाव र पीडाको पर्याय बन्दै गएको आजको यतार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।

एशियाकै पहिलो नमूना मोटरेबल भनिएको कर्णाली पुल देखि एशियाकै सबै भन्दा लामो भनिएको दोधारा-चाँदनी झोलुंगे पुल भारतसँग जोड्ने अंग्रेजका पालामा निर्मित महाकाली पुल लगायत प्रदेशको पूर्वपश्चिम सिमानामा रहेका यि नमुना सेतुहरूले यस क्षेत्रका जनताको जनजीविका, भौतिक राजनीतिक र मानवीय रूपले राज्यको मूलधारसँग जोडे पनि यस क्षेत्रको संभावनालाई अपेक्षित रूपमा छुन सकेको छैन । सुदूरका टल्किने हिमाल अपी, साइपाल, जेठी बहुरानी हिमालदेखि तराईको फाँटमा अवलोकन गर्न सकिने बाघहात्ती तथा लोपोन्मुख बाह्रसिंगे र शुक्लाफँटा सम्मको भुगोलमा रहेका बहुचर्चित पश्चिम सेती र पञ्चेश्वर जलविद्युत् परियोजना जस्ता पर्यटकीय गन्तव्यलाई राज्यले पर्यटकीय क्षेत्र घोषणा गर्न तथा कार्यान्वयनमा ल्याउन सकेन ।

देशका अन्य हिमशृंखला जस्तै सुदूरमा पनि उल्लेख्य हिमालहरू छन्, दार्चुलामा रहेको सात हजार १३२ मिटर अग्लो अपी र बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल र जेठी बहुरानी जस्ता दर्जनौं सानासाना हिमचुचुरामा हिमाल चढ्नेहरूका लागि प्रशिक्षणयुक्त मनोरम प्राकृतिक छटा छन् ।

रोजगारी, स्वरोजगारी र आर्थिक समृद्धिका धेरै संभावनाका क्षेत्रमध्ये पर्यटन महत्वपूर्ण हो, देशमा रोजगारी र स्वरोजगारीको उचित वातावरण नपाएपछि लाखौं युवा वर्षेनी विदेशिन बाध्यमात्र छैन मुलुकको उत्पादनशील जनशक्ति पनि विवश भएर सिमानाबाहिर रगत पसिना बगाउन बाध्य छन् ।

नेपाल र नेपालीले जनताकै पक्षमा भनेर दर्जनौं परिवर्तन गरे, नागरिकको सुखद् जीवनयापन र देशको विकास र समृद्धिका लागि पुस्तौंसम्म पर्खिए तर यहाँका प्रचुर संभावनामाथि गम्भीर रूपले कहिलै छलफलसम्म नहुनु विडम्बनाको विषय बन्दै गयो र दशकौं मात्र नभई यो सताब्दीको उत्तरार्धसम्म उपेक्षित हुँदै गयो । सुदूरका यी चारकिल्लाभित्र तीनजनालाई मुलुकको बागडोर सम्हाल्ने अवसर प्राप्त भएको छ तर कुनै पनि प्रधानमन्त्री तथा दर्जनौं मन्त्री र उच्च पदस्थ कर्मचारीतन्त्रमा रहेका सबै तहतप्काका शासकले सुदूरपश्चिमलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सकेनन् वा यो क्षेत्रमा रहेका कस्तुरीको सुगन्धरूपी धरोहरलाई देशका अन्य स्थान जस्तै नीतिमा समेटन सकेनन् जसले गर्दा सुदूर सुदूर नै रहृयो ।

सुदूरका समग्र जनताले अनुभूति गरेकै कारण सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा जति पनि महोत्सवहरू आयोजना भए त्यसको उद्देश्य थियो यस क्षेत्रलाई अघि बढाउने । शासनसत्तामा रहँदा नरहँदा शीर्ष नेतृत्वहरू सुदूरपश्चिमा आउँदा भव्य स्वागतका साथै सुदूरका आवाजलाई प्रतिबिम्बित गरियो तर मोफसलका ती आवाज नीति-नियम र विकासका पूर्वाधारको खाका निर्माण गर्ने शासक वर्ग तथा जनप्रतिनिधिका खोक्रा प्रतिबद्धतामा सीमित रहनुका साथै प्रतिफलमा देखिने अपवादबाहेक अरू केही कामको अनुभूति जनताले गर्न सकेनन् ।

देशका अन्य हिमशृंखला जस्तै सुदूरमा उल्लेख्य हिमाल छन्, दार्चुलामा रहेको सात हजार १३२ मिटर अग्लो अपी र बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल र जेठी बहुरानीजस्ता दर्जनौं सानासाना हिमचुचुरामा हिमाल चढनेहरूका लागि प्रशिक्षणयुक्त मनोरम प्राकृतिक छटा छन् । प्रत्येक पहाडी जिल्लामा अत्यन्त शक्तिशाली शक्तिपीठ, देवीदेवताका मन्दिरदेखि कैलाश मानसरोवर प्रस्थान गर्ने दिव्यमार्गको समेत सहजता रहेको देवभूमिलाई राजनीतिले मनन् गर्न सकेन ।

तेस्रो मुलुकभन्दा सुदूरपश्चिम छिमेकी राष्ट्र भारतीय पर्यटकका लागि धार्मिक तथा सांस्कृतिक रूपले पनि उचित र आरामदायी गन्तव्य हो, सिमावर्ती क्षेत्र कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी पुल, भम्केनीधाम, लिंगाधाम, बेदकोटताल र कैलालीको कर्णाली पुल, टीकापुर पार्क, रामजानकी मन्दिर, नैनादेवी मन्दिर, वनदेवी मन्दिर, शिवपुरीधाम, बेहडाबाबा, जाखोर ताल र प्रसिद्ध घोडाघोडी तालसम्मका क्षेत्र पर्यटकको मुख्य रोजाइमा पर्न सकिरहेका छैनन् । पछिल्लो समय केही प्रचारप्रसार निजी क्षेत्रबाट भई संरक्षण तथा प्रबद्र्धन भएपछि आन्तरिक पर्यटक बढे पनि राज्यको नीतिसँग प्रदेशको भुगोल नजोडिदा अपेक्षित लाभ यहाँका स्थानीय जनता, व्यवसायी र पर्यटकले लिन सकिरहेका छैनन ।

यस्तै सुदूरका सात पहाडी जिल्ला धार्मिक, सांस्कृतिक, प्राकृतिक रूपले मात्र नभई जैविक रूपले महत्वपूर्ण पर्यटकीय आकर्षण बन्ने प्रचुर संभावना छ । हिमाली जिल्ला दार्चुला, बाजुरा, बझाङमा यार्सागुम्बादेखि बाजुराको जैतुन उत्पादन तथा प्रशोधन पर्यटकको रोजाई बन्न सक्छ, उत्तरमा रहेको मानसरोवर दृष्यावलोकनदेखि अपिनाम्पा हिमाल चढ्ने धेरैको सपना पूरा हुन सक्ने देखिन्छ । यसैबीचमा हिन्दू पर्यटकका लागि दार्चुलामै रहेको माल्लिकार्जुन भगवान, जगन्नाथ, बैतडीका प्रसिद्ध भगवती मन्दिर, त्रिपुरासुन्दरी, निङलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर तथा करिब एक किलोमिटर गुफा रहेको पाताल भुमेश्वर गुफा र विभिन्न खनिज पदार्थका खानी, अनुसनधानकर्ता पर्यटकका लागि लामो बसाईको गन्तव्य बन्न सक्दछ ।

यसैगरी बाजुरामा रहेको बडिमालिका मन्दिर, छेडे दह, बाजुरा, अछाम बझाङ र डोटी गरी चार जिल्लाको संगममा रहेको प्रसिद्ध खप्तड क्षेत्र, अछाममै रहेको रामारोशन क्षेत्र, डोटीमा रहेको प्रसिद्ध शैलेश्वरी मन्दिर, छतिवन ताल, छहरा झरना तथा डडेल्धुरामा रहेका प्रसिद्ध उग्रतारा घटाल धामिृक क्षेत्र, महाभारत पर्वतशृंखला, पर्शुराम क्षेत्र, शैलेश पर्वत शिवलिंगा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रूपमा रहेका अमरगढी किल्ला, अजयमेरुकोट, सुदूरकै सबैभन्दा ठूलो तलाउ आलिताल क्षेत्रलगायत सुदूरका अधिकांश पहाडी जिल्लाको अवलोकनसहित गर्न सकिने हिमाल र पहाडको एकै साथ दृष्यावलोकन गर्न पाउने हिलस्टेशन डडेल्धुरा सदरमुकाम पनि पर्यटक पर्खामा छन् ।

पर्यटक प्रबद्र्धनमा आवागमन पहिलो पूर्वाधारअन्र्तगत रहे पनि कतिपय जिल्लामा विमानस्थल नहुँदा यो क्षेत्र ओझेलमा परेको यतार्थ हो, सुदूरका नौ जिल्लामध्ये डडेल्धुरामा त विमानस्थल छैन । निमानस्थल भएका बाजुराको कोल्टीमा घरेलु विमान सेवा रहेको छ भने कैलालीको धनगढीमा रहेको विमानस्थलले मात्र राजधानीलाई जोडेको छ । डोटी, दार्चुलाको गोकुलेश्वर, अछामको साँफे, बझाङको देवल, बैतडीको पाटन विमानस्थल र कञ्चनपुरको शुक्लाफाँटा विमानस्थल यी वर्षौंदेखि बन्द छन् ।

सुदूरपश्चिममा पर्यटकका अन्य आकर्षक गन्तव्य छन्, यहाँका कुनाकन्दरा पखरा र जंगलमा रहेका विविध आर्युवेदिक जडिबुटी स्थानीयले उत्पादन र संकलन गरेर वर्षौंदेखि आयआर्जनको माध्यम बनाइरहेका छन्, पहाडी जिल्लाबाट उत्पादन तथा संकलन हुने जडिबुटी भारतीय बजारमा निर्यात भइरहेको छ, अधिकांश जडिबुटी प्रशोधन तथा उत्पादन बिक्रीवितरण हुने उद्योग सञ्चालनमा आए त्यसले सुदूरपश्चिमको आमजनजीवनमा आर्थिक रूपले समृद्धिमात्र हुँदैन जीवनशैलीमा परिवर्तनको संकेत गर्दछ ।

यहाँका अग्ला फाँट भएका पहाडी भेगमा प्याराग्लाइडिङ तथा कर्णाली, सेती र महाकालीमा र्‍याफ्टिङ जलयात्राका लागि त्यत्तिकै संभावना छ, पर्यटन प्रबद्र्धनका लागि लक्षित, नियमित रूपमा यी सेवाहरू सञ्चालन भए हजारौं युवाले यस पेशालाई अगाल्न तत्पर रहे पनि राज्यले कानुनी प्रावधानमा समेटन सकेन भने व्यवस्थित सञ्चालनमा आवश्यक पहल नगरेको देखिन्छ । यसले स्थानीय कृषि तथा उद्योग पर्यटनलाई टेवा पुग्ने देखिन्छ । यस्तै वनपैदावार उपजदेखि जंगल सफारी यहाँको मुख्य आकर्षक पर्यटक गन्तव्य छ ।

तराईका केही पर्यटकीय क्षेत्रमा तेस्रो मुलुकका पर्यटकहरू नगण्य रूपमा आए पनि पहाडी जिल्लामा भने विदेशी पर्यटकहरू बिरलै देखिने गर्दछन्, वर्षेनी आउने भारतीय हजारौं धार्मिक पर्यटकलाई देशको राजधानीभन्दा बाहिर सुदूरपश्चिममा पनि गन्तव्य सुनिश्चित गर्नु जरुरी छ ।

तराईका केही पर्यटकीय क्षेत्रमा तेस्रो मुलुकका पर्यटक नगण्य रूपमा आए पनि पहाडी जिल्लामा भने विदेशी पर्यटक बिरलै देखिने गर्दछन्, वर्षेनी आउने भारतीय हजारौं धार्मिक पर्यटकलाई देशको राजधानीभन्दा बाहिर सुदूरपश्चिममा गन्तव्य सुनिश्चित गर्नु जरुरी छ, पर्यटन संभवावना रहेका क्षेत्रहरूका बारेमा भए गरेका प्रयासलाई अभिवृद्धि गर्दै थप प्रचारप्रसारका लागि श्रव्यदृष्य तथा अन्य जानकारीमूलक सामग्री उत्पादन, सञ्चारमाध्यममा प्रकाशन प्रसारण, जनचेतनामूलक सचेतनासहित पर्यटन प्रबद्र्धनका लागि विज्ञ श्रोत परिचालन गरी आवश्यक प्रशिक्षण, गोष्ठी सेमिनारजस्ता क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गर्न योजना तर्जुमासँगै स्थानीय उत्पादनलाई कोशेली तथा उपहार एवं पर्यटक लोभ्याउने विभिन्न मानवीय संस्कार विकास तथा प्रस्तुतिको कार्यक्रम निर्माणलगायत पर्यटकका लागि सहज हुने वातावरण सिर्जना गर्नु अपरिहार्य छ ।

पर्यटकलाई बास बस्ने सुविधाजनक होमस्टे, होटलमा लगानी र उचित वातावरण, पर्यटकका लागि आवश्यक खाने लगाउने सामग्री तथा श्रोतसाधन, स्थानीय भाषा, भौगोलिक तथा सामाजिक परिवेशको ज्ञान, गाईड जनशक्तिको उपलब्धता जस्ता आधारभूत विषयमा पनि राज्यले स्थानीय, प्रदेश सरकारलाई पनि बाध्यकारी नीति नियम खडा गरी ध्यान केन्द्रित कार्यक्रम प्रक्षेपण गरेमात्र दशकौंदेखि उपेक्षित सुदूरको मुहार फेर्न सकिनेछ अन्यथा मूलधारसँग सुदूरपश्चिमलाई जोडने सार्वजनिक प्रतिबद्धता मिथ्याबाहेक अरू केही हुने देखिँदैन ।
वास्तविकता झल्काउँदा आलोचना गरेजस्तो हुन्छ, सरकारी टेलिभिजनबाट प्रसारण हुने वृतचित्रमा पनि सुदूरपश्चिमलाई उपेक्षा गरिएको देखिन्छ, अहिलेसम्म सरकारी तबरबाट भएका प्रयास सार्थक र पर्याप्त छैनन, निजी क्षेत्रबाट भएका प्रयास सह्रानीय नै छन्, जबसम्म सरकारका जिम्मेवार निकायबाट प्रभावकारी चासो, चिन्ता देखिँदैन तबसम्म सुदूरको यतार्थमा तात्विक रूपमा भिन्नता, परिवर्तन देखिने छैन, राजनीतिक नेतृत्वको पनि चासो नभएको प्रमाणित हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?