मुस्ताङ र ढोरपाटनमा हिमपात : कृषक खुसी, जनजीवन कष्टकर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । धवलागिरि क्षेत्रको मुस्ताङ र ढोरपाटनमा यस वर्षको पहिलो पटक सोमबार बिहानैदेखि बाख्लो हिमपात भएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । समयमै हिमपात हुँदा बाली सप्रने भएकोले कृषकहरु खुसी भएका छन् भने चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ ।

मुस्ताङका सबै क्षेत्रमा बिहानैदेखि हिमपात भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिनुभयो । यस वर्ष समयमा नै पहिलो पटक हिमपात भएकोले किसानहरु खुसी भए पनि मुस्ताङ भ्रमणमा आएका पर्यटक,तीर्थयात्री र सर्वसाधारणहरुका लागि भने चिसोका कारण जनजीवन कष्टकर बनेको उहाँले बताउनु भयो ।

त्यसैगरी माथिल्लो मुस्ताङको लोमान्थाङमा झण्डै २ फिटसम्म हिउँ जमेको स्थानीय टसी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातका कारण धाराको पानी समेत जमेको छ । चिसोका कारण लोमान्थाङ भ्रमणमा आएका पर्यटकहरु प्रभावित भएका छन् ।
मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको लोमान्थाङलगायतका उच्च हिमाली भेगमा बिहानैदेखि हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसी भएको मुस्ताङका कृषक सिवान गुरुङले बताउनु भयो ।

उता बागलुङ जिल्लाको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पनि यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

‘यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो’ कँडेलले भन्नुभयोे, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।’ हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?