भुवन केसीको गुनासो : मुद्दा हालेर मलाई काम गर्न दिइएन

Read Time = 4 mins

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताउनु भयो । उहाँले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको बताउनु भयो ।

उहाँले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताउनु भयो । उहाँले कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली फिल्म बनाउन धेरै गाह्रो भइरहेको छ । कुनैबेला स्टुडियो हुँदैन, प्रहरीको भ्यान चाहिन्छ, त्यो स्वीकृति लिँदालिँदै सात दिन लाग्छ । सुटिङ अहिले ड्रोन नभइ हुँदै हुँदैन, त्यो अनुमति लिन जाँदा ४ ठाउँ पुग्नुपर्छ । यो समस्या छ । साथै सबैभन्दा ठूलो समस्या नेपाली निर्माताहरुलाई एउटा निर्माताले घरखेत बेचेर सुटिङ गरिरहेको हुन्छ, क्यामेरा ल्याएर खिचेर त्यो युट्युबमा हालिदिन्छ । सुटिङको दृश्य आउट । हल भित्र गएर सिनेमा हेर्छ, सिनहरु हाल्दिहाल्छ । यसले हामीलाई ठूलो मर्का परेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो क्रियाकलाप गर्छ भने त्यसलाई कडा भन्दा कडा सजाय मात्रै होइन, जरिबाना र क्षति पनि तिराउनुपर्छ भनेर माग राखेका छौँ ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५/६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गर्नुभयो । उहाँले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरु एकजुट हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?