मुलुकलाई प्रतिगमनबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका हौं : काँग्रेस नेता सतार

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले मुलुकलाई प्रतिगनबाट जोगाउन वर्तमान सरकारलाई विश्वासको मत दिएको बताउनुभएको छ ।

उहाँले एमाले अध्यक्ष केपी ओलीले संसद्मा पहिलो पटक गरेको भाषणले देशलाई पुनः प्रतिगमनतर्फ धकेल्न सक्ने देखिएकाले कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउनुभएको हो ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिबार तानसेनमा राखेको अन्तक्र्रियामा बोल्दै सतारले मुलुकलाई प्रतिगमनबाट जोगाउनका लागि मात्र विश्वासको मत दिएको बताउनुभएको हो । ठूलो दल र प्रमुख पद एमालेले लिने प्रयास गरेको देखिएको थियो,’ उहाँले भन्नुभयो ‘पुनः केपी ओलीको मनोमानी रोक्नका लागि नै विश्वासको मत दिएको हो ।’

उहाँले केपी ओलीले पहिलो पटक संसद्मा बोलेका शब्द र कांग्रेसले विश्वासको मत दिएपछिको बोली फेरिएको बताउनुभयो । नेता सतारले कांग्रेसका समग्र कार्यकर्ता र मुलुकका लागि हित हुने गरी विश्वासको मत दिएको बताउनुभयो । फरक प्रसंगमा उहाँले कांग्रेस बलियो अवस्थामा रहँदारहँदै पनि नेतृत्वको पदलोलुपताका कारण कांग्रेस प्रतिपक्षमा पुगेको बताउनुभयो । ‘केन्द्रीय कार्यसम्पादन समितिको अदूरदर्शिताले हजार अवसर गुमाउनु परेको छ,’ उहाँले भन्नुभयो, ‘सही समयमा गोल गर्न नसकेकाले अहिलेको परिस्थिति आएको छ ।’

उहाँले सरकारले विश्वासको मत दिए पनि काँग्रेस प्रतिपक्षमा बस्ने बताउनुभयो । ’ ‘संविधानले व्यवस्था गरेको मन्त्रिमण्डल गठन गर्नका लागि विश्वासको मत दिने कुरा हो, यो त काँग्रेसले सरकारका लागि मात्र दिएको विश्वासको मत हो, कुनै पनि मन्त्रिमण्डल बनाउनका लागि विश्वासको मत दिएका होइनौं,जुन संविधानमा व्यवस्था गरेको छ ,त्यो व्यवस्था अनुसार नै हामी प्रतिपक्षकै व्यवस्थामा छौं,त्यस कारण यसमा कन्फ्युजन हुनुपर्ने कुरा छैन्’ नेता सतारले भन्नुभयो ।

सभामुख र राष्ट्रपतिमा भने दावी गर्ने उहाँले बताउनुभयो । लोकतन्त्र र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिमा दावी गर्ने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?