निर्मला कुर्मी र नकुन्नी धोबीको घटनामाथि छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै राजधानीको माइतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरी उनीहरूको माग सम्बोधन गर्ने बताउनुभएको छ । शनिबार माइतीघर मण्डलामा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मीको हत्या घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरूसँग भेट गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

केही दिनदेखि बाँकेका अधिकारकर्मीहरूको टोली माइतीघर मण्डलामा निर्मला कुर्मीको न्यायका लागि धर्नामा छन् । यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । गृहमन्त्री लामिछानेसँग अधिकारकर्मीहरूले न्याय माग्दै निर्मला कुर्मीलाई न्याय नदिउन्जेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका थिए । अधिकारकर्मीसँगको भेटमा गृहमन्त्री लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

यसअघिका सरकारले पटक-पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिने कुरामा विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो । घटनामाथि छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने लामिछानेले बताउनुभयो । ‘मलाई एकपटक राम्रोसँग काम गर्न दिनुहोला । अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरूलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईंहरूले भन्नुभएको कुरामा हामी क्रमबद्ध रूपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छु,’ उहाँले भन्नुभयो ।

बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोबीलाई राज्यले न्याय नदिएको अधिकारकर्मीहरूको आरोप छ । अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले चारबुँदे मागसहित धर्ना दिइरहेका छन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सही छाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?