मायादेवी मन्दिरका करोड बढी भेटी रद्दी बराबर

हिमालय टाइम्स
Read Time = 6 mins

भैरहवा । लुम्बिनीमा एक करोड बढी मूल्य बराबरको विदेशी मुद्रा सटही नहुँदा रद्दीझैँ थन्किएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राखिएका विभिन्न दानपेटिकामा विदेशी मुद्राहरू संकलन हुने गरेको छ, संकलित ती मुद्राहरू मध्ये विनिमय नहुने वदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो । करोडौँ मूल्य बराबरको ती मुद्राहरू प्रयोग नभएकाले मूल्यअनुसार नभई रद्दीसरह भएको छ ।

लुम्बिनी विकास कोषले दान पेटिकामा रहेको चलनचल्तीका मुद्राहरू सटही गरे पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेका नोटहरू सटही नगर्ने भएकाले सटही नभएका ३९ देशका मुद्राहरू विकास कोषले सञ्चित गरेर राखेको छ । विभिन्न देशका ती मुद्राहरू नेपाली एक करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबर रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

दानपेटिकाबाट संकलित रुपैयाँमध्ये सबैभन्दा बढी म्यानमारको ७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ रहेको छ । त्यस्तै, ओमनको १७ लाख ७९ हजार, श्रीलंकाको आठ लाख एक हजार, पेरुको ६ लाख ५१ हजार, भियतनामको चार लाख ९८ हजार, इण्डोनेसियाको दुई लाख ७० हजार, कम्बोडियाको एक लाख ९० हजार नेपाली रुपैयाँ बराबरको रहेको छ । यीबाहेक भुटान, मंगोलया, बंगालदेश, लाओस, पाकिस्तान, अजेन्टिना, अफगानिस्तान, मोरिसस, युगाण्डा, इरानी, इराक, स्वस्डेन रसिया लगायतका मुद्राहरू पनि संकलन भएका छन् । त्यस्तै, अन्य विभिन्न देशका संकलित मुद्राहरू पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेको र साट्नसमेत असहयोगका कारण सटही नहुँदा ती मुद्रा संचिती गरेर राखिएको विकास कोषले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभए पनि हरेकपटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । आर्थिक वर्ष २०७१÷०७२ देखि पुस ७ गते २०७९ सम्ममा यि ३९ देशका मुद्राहरू संकलन भए पनि तत्काल सटही नहुने भएकाले छुट्याएर राखिएको छ ।
संकलित मुद्रामध्ये राष्ट्र बैंकले खरिद–बिक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैंकमा पठाइने गरिएको छ, सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष भट्टराइले भन्नुभयो । संकलित मुद्राहरू लामो समय सटही नहुँदा कतिपय कुहिने अवस्थामा पुगेका छन् ।

सटही नहुने मुद्राको विनिमय नेपाल राष्ट्र बैंकमार्फत मात्रै हुने सम्भावना रहेकाले कोषले बारम्बार पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले चासो नदिएको कारण वर्षौंदेखि ती मुद्राहरू संचिती गरेर राख्ने गरिएको छ । अर्थमन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेका छौँ । विकास कोषले मोनाष्ट्रीहरूसँग समन्वय र सहकार्य गरेर साट्न सकिने बैकल्पिक व्यवस्था निकाले पनि सरकार, मोनाष्ट्री र राष्ट्र बैंक साक्षी बसेर मात्रै यो सम्भव हुने देखिन्छ । लुम्बिनी विकास कोषले भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काममा खर्च गर्दै आएकोे छ ।

नेपाल राष्ट्रबैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैंकमार्फत विदेशी मुद्रा कलेक्सनको लागि पठाउने व्यवस्था छ । सैद्धान्तिक रूपमा कलेक्सन गरी साट्ने व्यवस्था छ, कोभिड अगाडि सटिए पनि पछिल्लो दुई÷तीन वर्षदेखि पत्राचार भएको छैन । बैंकका सहायक निर्देशक रमेश न्यौपानेले साट्न मिल्ने मुद्राहरू यही साटे पनि चलनचल्ती बाहेकका मुद्राहरू काठमाडौं पठाएर कलेक्सनका लागि पठाउन सकिने बताउनुभयो । यो देशको यो यो दरको नोटहरू यो नम्बरको छ भनि विस्तृत खुलाएर राष्ट्र बैंकलाई अनुरोध गरे आफूहरूले पहल गरिदिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?