विमान दुर्घटनामा ज्यान गुमाएका ४१ जनाको पहिचान खुल्यो

शव हस्तान्तरण आज हुने, दुई अझै बेपत्ता

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ४१ जनाको पहिचान खुलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका ६९ शवमध्ये ४१ को पहिचान खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पहिचान भएका शवको पोष्टमार्टम प्रक्रिया सुरु भइसकेको प्राधिकरणले जनाएको छ । काठमाडौंबाट गएको फरेन्सिक विज्ञ टोलीले शव पोष्टमार्टम तथा शव पहिचानमा सहजीकरण गरिरहेको छ । २४ जनाको शवको मात्र पोखरामा पोष्टमार्टम हुनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ जनाको पोष्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । शव परीक्षणपछि पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई शव बुझाइनेछ ।

पहिचान खुलेका शवहरूको पुष्टि गर्न प्रत्येक शवको दुईजनाको दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति प्रदान गरिनेछ । शवको क्रमसंख्याअनुसार पहिचान भएका शवहरूको परीक्षण गरिने र पुनः पुष्टि गरी परिवारलाई हस्तान्तरण गरिनेछ । मृतकका आफन्तले भने पहिचान भएका शवलाई दिनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरू शव हस्तान्तरणमा ढिलाइ गरेको भन्दै आक्रोशित बनेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४५ जनाको शव काठमाडौं ल्याइने भएको छ । विदेशी र पहिचान नभएका शव आज (मंगलबार) मात्रै काठमाडौं ल्याइने भएको हो । मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । ती शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिनेछ । यसअघि सोमबार नै शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी गरिएको थियो । काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । ७२ मध्ये ७० जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबार बिहानबाट पुनः उनीहरूको खोजी सुरु गरिनेछ ।

जाँच आयोगले सुरु गर्‍यो काम
विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले सोमबारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे हुनुहुन्छ ।

दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा
बिमा दाबी भुक्तानीमा कुनै समस्या छैन : अध्यक्ष सिलवाल
विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाईयात्रुको २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक-फरक हुने प्राधिकरणले जनाएको छ । यता, नेपाल बिमा प्राधिकरणले विमान दुर्घटनामा परेर निधन भएकाहरूको बिमा दाबी भुक्तानी सम्बन्धमा कुनै समस्या नरहेको जनाएको छ । प्रमाणको आधारमा बिमा दाबीमा कुनै समस्या नहुने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।

‘ब्ल्याक बक्स’ भेटियो
पोखरामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । सोमबार बिहान ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार भेटिएको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार ब्ल्याक बक्स हस्तान्तरण गरेको हो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ ।

तंग्रिँदै गरेको पर्यटनमा ठूलो धक्का : होटल व्यवसायी
पर्यटन व्यवसायीले जहाज दुर्घटनाका कारण तंग्रिँदै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्ने गुनासो गरेका छन् । होटल संघ पोखराले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली उड्डयन क्षेत्र इयुको कालोसूचीबाट हट्ने प्रयास गर्दै गर्दा भएको ठूलो दुर्घटनाले कोभिड–१९ को मारबाट भर्खरै पुनरुत्थानतर्फ अग्रसर हुँदै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको उल्लेख गरेको छ । नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन व्यवसायीले नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्नसमेत आहृवान गरेका छन् ।
यस्तै, होटल संघ नेपाल (हान)ले हवाई यात्रालाई पूर्ण रूपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै हानले यतीको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह हुने चिन्ता व्यक्त गर्दै यात्रालाई पूर्ण रूपमा सुरक्षित बनाउन माग गरेको हो । यसले हवाई क्षेत्र मात्र नभई सिंगो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने हानको भनाइ छ । आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुरक्षित यात्राको प्रत्याभूति दिलाई हवाई जहाज तथा हवाई यातायात व्यवस्थाको सुरक्षा मापदण्ड सुनिश्चित गर्नसमेत हानले माग गरेको छ ।

नेपालका सबै एटिआर जहाजमा भेटिएन त्रुटि
दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन प्राधिकरणको आग्रह
नेपालमा उड्ने सबै एटिआर जहाजमा कुनै त्रुटि फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि गरिएको विस्तृत प्राविधिक परीक्षणमा नेपालमा उड्ने कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतबारको दुर्घटनालगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरूले नेपालमा सञ्चालित सबै एटिआर–४२ र एटिआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरेका थिए । नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्डअनुसार हुने गरेको प्राधिकरणले जनाएको छ । दुर्घटनालगत्तै बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यस्तै, प्राधिकरणले पोखरामा भएको विमान दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्व-कर्मचारी तथा अन्य व्यक्तिबाट भएको टीकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको हो । दुर्घटना, खोज तथा उद्धारका सम्बन्धमा सर्वसाधारणको जानकारीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयसमेत)मार्फत प्राप्त हुने सूचना तथा जानकारीलाई मात्र आधिकारिक मान्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?