राष्ट्रपति, सभामुखलगायतकाे चयनका विषयमा प्रधानमन्त्रीले सहमतिको प्रस्ताव गर्नुभयो : कांग्रेस प्रमुख सचेतक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति-उपराष्ट्रपति र सभामुख-उपसभामुख पदको चयन दलहरुबीचको सहमतीमा गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राख्नु भएको हो । प्रधानमन्त्रीलले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमती गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनु भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो ।

यता, नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतीमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेका थियो ।

प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भन्नु भयो, ‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनु भयो । अर्को सत्तापक्ष र प्रतिपक्षको बारेमा पनि केही कुराहरु राख्नु भयो । नेपाली काँग्रेस संसदीय प्रतिनिधिसभामा, राष्ट्रियसभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ । र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौं । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमती गरेर अगाड बढन सकिन्छ कि भन्ने कुरा पनि राख्नु भयो । सामान्य छलफलका लागि । हामीले नेपाली काँग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्ष दलकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्ष दलमा भएर पनि हामी यसका बारेमा छलफल गर्न तयार छौं यदि प्रधानमन्त्रीजीले छलफल अघि बोलाउनु भयो भने त्यसमा हामी छलफल गर्न तयार छौं भनेर हामीले भनेका छौं । र, उहाँले चाँही यी पदहरुमा छलफल गरेर सहमतीमा जान सकिन्छ कि भनेर पनि भन्नु भएको छ । मूलतः यीनै कुराहरु भएका छन् । हामी सभामुखको निर्वाचनबारे आन्तरिक छलफल गर्छौ । राति, भोलि विहानसम्म छलफल गरेर हामी हाम्रो धारणा अघि बढाउँछौं । सहमति कुनै भएको छैन । विषय प्रवेश भएको छ । प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुखमा पनि सहमती गरेर जान सकिन्छ कि भनेर विषय प्रवेश गराउनु भयो । तर कुनै पनि सहमती भएन । हामीले हाम्रो दृष्टिकोण राख्यौं ।’

यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमती भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?