लगातार तेस्रो जित निकाल्दै प्रदेश १ सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

इटहरी । लगातार तेस्रो जित निकाल्दै प्रदेश १ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीस्थित जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै प्रदेश-१ ले लगातार तेस्रो जित हात पारेको हो ।

मैदान ओसिलो भएका कारण ११ ओभरमा छोट्याइएको खेलमा कर्णालीले दिएको ४० रनको लक्ष्य प्रदेश १ ले ४ ओभर ५ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले २२ र काजल श्रेष्ठले १३ रन जोड्नुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो । कर्णालीकी रमा बुढाथोकीले १८ बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन । प्रदेश १ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १-१ विकेट लिनुभयो ।
जितसँगै प्रदेश-१ ले तीन खेलमा ६ अंक जोडेको छ । प्रदेश-१ समूह ‘बी’ को शीर्षस्थानमा रहेको छ । कर्णाली तीन खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार पाउनेछन् ।

एसपिएफ स्तब्ध
यस्तै, प्रतियोगिताअन्तर्गत दिउँसो भएको अर्को खेलमा उपाधि दाबेदार एपिएफलाई सुदूपश्चिम प्रदेशले स्तब्ध पारेको छ । सुदूरपश्चिमले एपिएफलाई ४ विकेटले हराएको हो । योसँगै सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्यो ।
एपिएफले दिएको ९२ रनको लक्ष्य सुदूरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । सुदूरका लागि डाली भट्टले सर्वाधिक ३३, ऋतु कजोनियाले १० रन जोड्नुभयो । एपिएफका लागि नेरी थापाले ३ विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित रहँदै सर्वाधिक २६, रोमा थापाले १५ तथा इन्दु बर्माले ११ रन थप्नुभयो ।

यस्तै, ज्योति पाण्डे १४ रनमा आउट हुँदा कप्तान सीता राना मगरले ४ रन जोड्नुभयो । सुदूरका लागि कविता जोशीले ३ तथा ऋतु कजोनियाले २ विकेट लिनुभयो । यस जितसँगै सुदूरले समूह ‘ए’बाट विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । सुदूरले तीन खेलमा ६ अंक जोडेको छ । एपिएफले भने तीन खेलमा चार अंक जोड्यो । एपिएफ उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?