काँग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः सांसद भट्टराई

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डाैं । नेकपा एमालेका सांसद योगेसकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि काँग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताउनु भयो । उहाँले काँग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दाबी गर्नुभयो । उहाँले काँग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ दिने र लिनेको पनि कुरा भयो, आज धेरै तीतो इतिहास नसम्झिऔँ भन्ने लागेको थियो । फेरि पनि सम्झना गर्ने बाध्यता आयो । नेपाली काँग्रेस र नेकपा एमालेको सम्बन्ध त्यस्तै छ । विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली काँग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ । २०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन । हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन, त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो । प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । निधारले हो भने केही भन्न सकिँदैन ।’

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उहाँलाई सभामुखमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?