नेपाली यू-१५ टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बंगलादेशमा अर्काे महिना हुने महिला यू-१५ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको हो । बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका थिए । सानीमाया स्याङ्तान, सिवांगी स्नेही, दिलमाया घिसिङ, यशोदा बोहरा, निर्मला आचार्य, सन्जी थिङ र अनिषा बिकले टोलीमा स्थान बनाउन सक्नुभएन ।

महिला यू–१५ साफ च्याम्पियनसिप कात्तिक १५ देखि २५ गतेसम्म हुने बंगलादेशको ढाकास्थित बिएसएसएसएमके स्टेडियममा हुनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश र भुटानको मात्रै सहभागिता रहेको छ । खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा भुटानसँग कात्तिक १७ गते खेल्नेछ ।

नेपालले कात्तिक १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले फेरि कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ । मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी रहनुभएको छ ।

घोषित नेपाली टोलीको गोलरक्षकमा राधिका ओली, सुजाता तामाङ र रूपा धिमाल, डिफेन्डरमा सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बू र विपना स्नेही, मिडफिल्डरमा सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली र मनिषा सेन तथा फरवार्डमा दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली र सेनु परियार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?