सुन्तला खेतीमा कृषकको आकर्षण, उचित मूल्य नपाउँदा चिन्तित

तस्वीरः रामचन्द्र रायमाझी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पाका धेरैजसो गाउँहरुमा अहिले ब्यावसायिक सुन्तला खेती हुँदै आएको छ । कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन्। परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा कृषकहरु व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । परम्परागत खाद्यान्न बालीले जीवन निर्वाह गर्न समेत मुस्किल परेपछि कृषक व्यावसायिकता तर्फ लागेका छन् । उनीहरुले परम्परागत रुपमा लगाईने पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तला जात फलफुल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार समेत आएको छ । दुई दशक अगाडिसम्म यहाँका कृषकले घरायसी प्रयोजनका लागि मात्र सुन्तला खेती गर्दै आएका थिए । तर अहिले भने उनीहरु व्यवसायिक रुपमा लागेका छन् । हावा, पानी, भौगोलिक भूवनोटले यहाँका छहरा, मुझुङ्ग, कुसुमखोला,देउराली, खस्यौली , भैरस्थान , वौघागुम्बा, नायर नन्तलेस ,पूर्वखोला लगायतका कृषकहरु व्यवसायिक रुपमा सुन्तला खेतीमा लागेका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारले व्यवसायिक सुुन्तला कृषकहरुका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग गर्न थालेपछि कृषकहरुले अन्य खेती छाडेर व्यवसायिक सुुन्तला खेती गर्न तर्फ लागेका हुन् । जिल्ला कृषि विकास कार्यालय , कृषि ज्ञान केन्द्र , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला खेतीलाई आधुनिक प्रणालीबाट खेति गर्नका लागि ब्लक कार्यक्रमसँगै आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिदै आएका छन् । ‘पहिले-पहिले घर खानाका लागि मात्र सुुन्तलाका बोट लगाउने गर्थ्याैँ, अहिले भने विक्री गर्ने गरी सुन्तला प्रत्येक घरमा लगाएका छौं’ छहरा अवलावासका अगुवा कृषक नित्यनन्द पोखरेलले भन्नुभयो । पाेखरेलले यस वर्ष सात लाखको सुन्तला बिक्री गरिसक्नुभएको छ । उहाँले १९ रोपनी क्षेत्रफलमा सुन्तलाको बगैचा नै बनाउनु भएकाे छ ।

अर्का कृषक सञ्जिव बस्नेत पनि विदेशबाट फर्किएर अहिले व्यवसायिक सुन्तला खेतीमा लाग्नुभएको छ । उहाँले व्यवसायिक कुखुरा पालन समेत गर्नुभएको छ । कुखुरा पालनका लागि ल्याएको ऋण समेत उहाँले सुन्तला विक्रीबाटै तिर्न सफल हुनुभएको छ ।‘घरमा पहिले २ बोट मात्र थिए । सबैले लगाउने भए पछि जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्र बनाउने भयो । त्यस पछिका दिनमा ३ सय बोट लगाएर सुन्तला विक्री गर्दै आएकी छु’ कृषक गंगा रायमाझी भन्नुहुन्छ । सुन्तलाबाट अहिले राम्रै आम्दानी हुुँदै आएको उहाँले बताउनुभयो । रायमाझीले वार्षिक ५ देखि ६ लाख अम्दानी गर्दै आउनुभएको छ ।

कृषि ज्ञान केन्द्रले बगैचा क्षेत्र विस्तार कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले यान्त्रिकरण , शित भण्डार निर्माण जस्ता क्षेत्रमा सहयोग गरेका कारण महिलाहरुको सुन्तला खेतीमा आकर्षण मात्र होइन् समुह नै बनाएर व्यवसायिक खेतीमा लागेको अगुवा कृषक गीता भट्टराईले बताउनुभयो । पूूर्वखोलाकी पार्वती न्यौपानेले पनि यस वर्ष सुन्तला बिक्रीबाट ४ लाख आम्दानी गर्न सफल हुनुभएको छ । कृषि ज्ञान केन्द्रकी कामना अधिकारी कृषकलाई व्यवसायिकरुपमा लाग्ने प्रेरणा दिने गरी सुन्तला जात फलफुल पकेट क्षेत्र कार्यक्रममार्फत काम गर्दैै आएको बताउनुहुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख दिपक भट्टराईले प्राविधिकसँगै यान्त्रिकरणमा कृषकहरुलाई सहयोग गर्ने गरेका कारण कृषकहरु अहिले व्यवसायिक बनेको बताउनुभयो । अहिले मुझुङ्गाका गाउँबाट मात्र वार्षिक रुपमा ७० लाख देखि १ करोडसम्म सुन्तला विक्री हुँदै आएको छ ।

उचित मूल्य नहुँदा भने चिन्तित

सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका कृषकउचित मूल्य नहुँदा भने चिन्तित छन् । ‘वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ’, कृषक सञ्जिव बस्नेतले भन्नुभयो । व्यवसायिक सुन्तला खेती गर्दै उहाँले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्यको अभावले किसानलाई चिन्तित बनाएको बताउनुभयो । उत्पादित वस्तुमा कृषकले भन्दा बिचौलियले बढी मुनाफा कमाएकोमा सुन्तलाखेतीतर्फ उत्साहित कृषक पछिल्लो समयमा निरास भएका छन् । कृषकका घर बारी बगैचामा पुगेका व्यापारीले प्रति के.जी ४० देखि ५० रुपैयाँमा खरिद गर्दा कृषकको लागत मूल्यसम्म उठाउन नसकेको कृषक बस्नेत बताउँनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?