स्थानीय र प्रदेश सरकारको प्रतिवद्धता : विकास र समृद्धिका लागि सहकार्य छौं

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । स्थानीय सरकार र प्रदेश सरकारले विकास र समृद्धिका लागि आफुहरु एक आपसमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । पाल्पाको रामपुरमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको स्थानीय र प्रदेश सरकारसँगको अन्तरक्रिया कार्यक्रममा दुवै तहका सरकारले विकास र समृद्धिका लागि सहकार्य र समन्वय गरी आफुहरु अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।

विकास र समृद्धि एक्लैले सम्भव नरहेको भन्दै स्थानीय र प्रदेश सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीले औल्याएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले दुवै तहको सरकारले काम गर्ने भूूगोल एउटै भएकाले दुवै तह बिच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको बताउनुुभएको छ । विकास र समृद्धिका लागि सबै तह मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो । संघ र प्रदेशबाट योजना सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगर्दा योजना दोहोरिने समस्या रहेको भन्दै त्यसलाई न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको सचिव काफ्लेले बताउनुभयो । उहाँले आगामी दिनमा प्रदेशले योजना छनौट गर्दा हरेक स्थानीय तहसँग समन्वय गरेर मात्रै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको ऐन बनाईसकेको र जारी गर्न मात्रै बाँकी रहेको बताउँदै उहाँले रामपुर अस्पतालमा डाक्टर र कर्मचारीको व्यवस्थापनका लागि तत्काल पहल थालिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगर सरकारका प्रमुख रमणबहादुर थापाले प्रदेश सरकारबाट टुक्रे योजना आँउदा समस्या भएको बताउनुुभयो । उहाँले नगर भित्र प्रदेश सरकारमार्फत सञ्चालनमा रहेका योजनाहरुको बारेमा जानकारी गराँउदै टुक्रे र साना योजनाका कारण आफुहरुलाई कार्यान्वयनमा समस्या भएको औल्याउनुभयो । नगर प्रमुख थापाले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरी बजेट विनियोजन गर्दा अति आवश्यक पर्ने क्षेत्रमा समेत बजेट विनियोजन हुन नसक्ने अवस्था रहेकाले त्यसतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय तहले थाहै नपाई योजना सञ्चालन हुन्छ , आवश्यक ठाँउमा पर्याप्त बजेट विनियोजन हुँदैन त्यसैले स्थानीय तहसँग समन्वय गर्न आवश्यक छ ।’ नगर प्रमुख थापाले स्थानीय तहको सिफारिसका आधारमा बजेट विनियोजन गर्न प्रदेश सरकारलाई सुुझाव दिनुभयो ।

नगर प्रमुख थापाले प्रदेश सरकार मातहतमा सञ्चालनमा रहेको रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन समेत प्रदेश सरकारलाई आग्रह गर्नुभयो । अस्पतालमा प्रयोग हुने आवश्यक सामग्रीको व्यवस्थापन र डाक्टरको व्यवस्था तत्काल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारको बजेटमार्फत सञ्चालन हुने गरी डिपिआर तयार पारिएको खालिवन रामपुर सडक निर्माण कार्य तत्काल गर्नु पर्ने समेत नगर प्रमुख थापाले बताउनुुभयो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव राम प्रसाद पाण्डेले स्थानीय र प्रदेश सरकारसँगको सहकार्य आवश्यक रहेको बताउनुुभयो । उहाँले स्थानीय तहसँगको समन्वयमा आगामी दिनमा प्रदेश सरकारले योजना छनौट गर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका उप–सचिव यमकान्त पाण्डेले स्थानीय तह र प्रदेशको विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकारबिच समन्वय र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुुभयो । लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारले विनियोजन गरेका बजेटमार्फत सञ्चालन भएका योजनाको अवस्था, सञ्चालनको क्रममा भएका जटिलता, समन्वय लगायत प्रदेश सरकार र स्थानीय तह बिचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?