पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ, पाइलट डङ्गोल निलम्बित, दुईपक्षीय समझदारी

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । केही दिन पहिले माघ ०५ गते दिउसो स्याङ्जा जिल्ला वालिङ न.पा. वडा नं. -०८ स्थित मालेबगर खेल मैदानमा फुटबल खेल भईरहेको अवस्थमा अचम्मको घटना भयो । खेल मैदानमा खेल चलिरहेको थियो । खेलको आयोजक थियो वालिङ युनाइटेड फुटबल क्लब ।

पौष ३० गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको थियो । प्रथम वालिङ गोल्ड कपको सेमिफाइनल चलिरहेको थियो । युनाइटेड क्लब रातो र एभेनियर क्लब क्यामरूनका बिचमा खेल जमिरहेको थियो ।

सबैको ध्यान खेल मैदानमा थियो । एक्कासी आकाशमा हेलिकोप्टरको आवाज सुनियो । हेलिक‍ोप्टरको आवाजले सबैको ध्यान त्यही आवाजतिर मोडियो । हेलिकप्टर म‌ैदानमै आउँदा धुलोले वरिपरि कुहिरी मण्डल बनेको थियो । खेलमा मन्त्रमुग्ध भईरहेका खेलाडी र दर्शक एक्कासी हेलिकप्टर ल्यान्ड हुँदा पुरै डिस्टर्ब भएका देखिन्थे भने केही आक्रोसित पनि देखिन्थे ।

'सुरूमा त केही इमर्जेन्सी होला भनेर सबैले गम्भीरतापूर्वक नियालिरहे । तर खेलाडी र दर्शकले सोचेजस्तो केही गम्भीर कुरा त्यहाँ भएको थिएन । त्यहाँ त एउटा नाटक भइरहेक‍ो थियो ।' खेल हेर्न आएका एक जनाले भने ।

त्यहाँ हेलिकप्टर चलाएर ल्याउने पाइलट ५० वर्षीय क्या.रानेश डंगोल थिए भने चार जना यात्रु सवार थिए । यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना थिए । हेलिकप्टर थियो प्रभु कम्पनीको । यी यात्रुहरूले चालक डंगोललाई जबर्जस्ती उक्त खेल मैदानमा पुर्याएका थिए । जबर्जस्ती पाइलटलाई हेलिकप्टर खेल मैदानमा ल्याण्ड गर्न लगाएपछि पाइलट ल्यान्ड गर्न बाध्य भएका थिए ।

पोखराबाट वालिङ्मा उडान भरेर मैदानमा ल्याण्ड भए पश्चात आयोजक पक्षका याम ब. गुरूङ र सुरेश श्रेष्ठले पाईलट रानेश डंगोललाई कुटपिट गरेका थिए । उनीहरूले अभद्र व्यवहार गरेका थिए । पाइलट आयोजक टिमको आक्रोशको शिकार भए ।

तर उक्त घटना तल्लो स्तरको भन्दै स्याङ्जाको प्रतिष्ठामा असर पुर्याएको टिप्पणी भइरहेका बेलामा कुटपिटमा संलग्न व्यक्तिहरूले क्षमायाचना गर्ने, घाइते पाइलटको उपचार क्लबले बेहोर्ने, घाइते क्याप्टेन चालकलाई समापनमा सम्मान गर्ने लगायतका ६ बुँदामा दुईपक्षीय सहमति भएको छ ।

वालिङ फुटबल क्लबका अध्यक्ष डा.लालबहादुर ज्वारचन र प्रभु एयर कम्पनीका तर्फबाट स्टेसन म्यानेजर सुजन जोसीले हस्ताक्षर गरी ६ बुँदे सहमतिपत्र तयार गरेका हुन् । वालिङका मेयर कृष्ण खाँडको रोहबरमा उक्त सहमति भएको छ ।

नागरिक उड्डयनले भने पाइलट डङ्गोललाई निलम्बन गरेको छ । विनाअनुमति हेलिकप्टर अवतरण गरेको भन्दै रानालाई निलम्बन गरिएको बताइएको छ ।

यता प्रहरीले भने उक्त घटनामा संलग्न ६ जना व्यक्तिहरूलाई माघ ०९ गते नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ भने माघ १० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धन कार्यमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?