बालमैत्री संरचनामा खेल्दै पढ्दै रमाउँदै बालबालिका

ज्ञानेश्वर नमूना माविमा अध्ययनरत बालबालिकाहरुले खेल्दे रमाउदै । तस्बिरः डम्बर बोहरा 

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 7 mins

बैतडी । आकर्षक र खुल्ला कक्षाकोठा । त्यसमाथि झनै आकर्षित शैक्षिक सामाग्री । जसले बालबालिकाहरूलाई विद्यालय सम्म नियमित तानिरहन्छ । विद्यार्थीहरू हास्दै खेल्दै र रमाउँदै पढिरहेका छन् । बैतडीको पाटन नगरपालिका-९ को सरस्वती आधारभुत विद्यालयमा बालमैत्री र बालउद्यानका संरचनाहरूको निर्माणपछि बालबालिकाको उपस्थिति बढेको छ । उनीहरु आफूलाई मन पर्ने बालउद्यानका सामाग्रीमा खेल्न पढ्न पाउदा दंग छन् ।

प्रधानाध्यापक केशव बहादुर चन्दले कक्षाकोठा आकर्षक र बसाइ सहज हुँदा सिकाइमा मद्दत पुगेको बताउनुभयो । बालउद्यानका सामग्री, शौचालय र कक्षाकोठा बालमैत्री भएकाले बालबालिकाहरूलाई सिकाइमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहज हुने गरेको चन्दको अनुभव छ ।

दुई वर्षअघि मात्रै विद्यालयमा बालमैत्री संरचरना तथा बालउद्यान निर्माण गरिएको थियो । त्यस यता बालबालिकाहरूको उपस्थिति पनि बढ्दो छ । ‘बच्चाहरू नियमित विद्यालय जाँदैनथे,’ पाटन ९ की मनिषा भण्डारीले भन्नुभयो, ‘अहिले छोराछोरी नियमित विद्यालय जान्छन् । पढाईमा पनि प्रगति भएको छ ।’

जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ को नागार्जुन आधारभुत विद्यालयमा पनि बालमैत्री संरचना निमार्ण गरिएको छ । बालबालिकाहरू कक्षाकोठामा बस्न कार्पेटमाथि कुसुम राखिएको छ । भित्तामा कोरिएका आकर्षित गर्ने कार्टुनका चित्रहरू छन् । ‘बालउद्यानका सामाग्री र बालमैत्री संरचनाले विद्यार्थीको पहिलो तुलनामा उपस्थिति पनि बढेको छ,’ प्रधानाध्यपक सुरेश राम सार्कीले भन्नुभयो ‘शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुनुका साथै प्रभावकारी समेत बनेको छ ।’

बैतडी जिल्लाका सबै पालिकामा ५६२ सामुदायिक र संस्थागत विद्यालयहरू छन् । यहाँका सबै विद्यालयमा बालमैत्री शैक्षिक संरचना निर्माणको लहर नै चलेको छ । पालिकाहरूले शिक्षा विकास तथा समन्वय इकाईसँग पनि समन्वय गरेर काम गरिरहेका छन् । कुनै विद्यालयमा नयाँ संरचना निर्माण गर्नुपर्दा त्यसलाई अनिवार्य रुपमा बालमैत्री बनाइने गरिएको जानकारी शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।

हावा र प्रकाश छिर्ने कक्षा कोठा, ससाना बालबालिकाले सहजै प्रयोग गर्नसक्ने धारा र सबैखाले अपांगता भएका विद्यार्थीहरूका लागि अवस्था अनुसार प्रयोग गर्न सकिने संरचना निर्माणलाई यहाँ अनिवार्य शर्तका रुपमा लिइएको छ । ‘विद्यालयमा रहुन्जेलको समयमा विद्यार्थीहरूले रमाएर सिक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसोभयो भने छिटो सिक्ने र सकारात्मक आनीबानीको पनि विकास हुन्छ, र शिक्षण सिकाइमा गुणात्मक विकास हुने गर्दछ,’ मेलौली नगरपालिका-७ स्थित मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले बताउनुभयो ।

शौचालय, धारा, बालउद्यान, खेल्नेचौर सबै बालबालिकाहरूका लागि उपयुक्त हुने किसिमले निर्माण गरिन लागिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयले जानकारी दिनुभयो । भट्टका अनुसार सुरुवाती कक्षाबाटै सुधार गर्ने लक्ष अनुरूप काम भइरहेको छ । पाटन नगरपालिकाले बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप र बालमैत्री शासन कायमका गर्नका लागि शिक्षकहरूलाई समयसमयमा प्रशिक्षणका कार्यक्रमहरू आयोजना गरिरहनुपर्ने पनि ठानेको छ ।

बालमैत्री संरचना नभएका विद्यालयहरूले पनि नयाँ संरचना निर्माण गर्दा बालबालिकाको सहजता अनुरूपको निर्माण गर्ने योजनामा छन् । बालमैत्री संरचनाले विद्यालयमा सिकाइ सहजता र विद्यार्थीको उपस्थितिमा वृद्धि भई गुणस्तरमा समेत टेवा पुग्ने गरेका कारण नयाँ संरचना बनाउँदा बालमैत्री संरचनामा जोड दिइने सुर्नया गाउँपालिका-४ मा रहेको नेपाल राष्ट्रिय माविका शिक्षक प्रकाश भाटले बताउनुभयो ।

बालमैत्री संरचनाको लागि पालिकाबाट नयाँ कार्यक्रमको थालनी गरिन लागिएको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले बताउनुभयो । ‘सामुदायिक विद्यालयको जग बलियो बनाउने लक्षमा छौँ, त्यसको सुरुवात पूर्वप्राथमिक शिक्षाबाटै गर्ने योजनामा छौं । बालमैत्री संरचना पनि मुख्य प्राथमिकताको विषय हो,’ पालिका अध्यक्ष धामीले भन्नुभयो ।

‘सबै विद्यालयमा आकर्षक कक्षाकोठा समेत थिएन । दुई वर्षदेखि प्रत्येक विद्यालयमा आकर्षक कक्षाकोठा अनिवार्य गरेका छौँ,’ सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले भन्नुभयो, ‘सुधारको सुरुवात पूर्व प्राथमिक कक्षाबाटै गरिरहेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?