जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति : राष्ट्रपति

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गर्नुभयो ।

उहाँले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमापरेका मुलुकहरु रहेको बताउनु भयो ।

उहाँले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ । पहाडी संवेदनशील भूबनावट र कमजोर आर्थिक, सामाजिक कारणहरुले गर्दा हिन्दकुश हिमालय जस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ । यो अवस्थामा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौति छ । आज हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्शानी भोगिरहेको छ । नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ । केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा मैले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरका सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण गर्दछु । जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमापरेका मुलुकहरु हुन् । यस क्षेत्रको जलवायु परिवर्तन वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरु राष्ट्रिय सीमाना भित्र नभइ सीमापारी र विश्वस्तरमा समेत पर्न जान्छ । हामी सदस्य राष्ट्रहरुले यस्ता समस्या समाधान गर्न एकजुट भएर सहकार्य गरौँ र हाम्रा मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत म आग्रह गर्दछु ।’

सदस्य राष्ट्रहरुले जलवायु परिवर्तनजन्य समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत आह्वान गर्नुभयो । उहाँले आगामी दिनमा अहिले देखिएका महत्वपूर्ण मुद्दाहरुलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झन्डै २ अर्ब नागरिक तथा सामुन्द्रिक तटका देशहरूलाईसमेत साथ लिइ थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?