अनुभूति : महिनावारीसम्बन्धी सोच

Read Time = 6 mins

✍️ सविता पुरी
गत पुस ७ गते मैले आफू पूर्णरूपमा महिला भइसकेको अनुभव गरेँ । मेरो शरीरबाट पहिलो पटक रगत बगेको थियो । मैले आफैंले आफैंलाई धेरै दिनदेखि फरक देख्न थालिसकेकी थिएँ । सायद मैले आफ्नो बाल-अवस्था छाडिसकेकी थिएँ । मेरो शरीरको आकारमा परिवर्तन आएको थियो । जब मैले महिनावारी भएको महसुस गरेँ, मलाई केहीहदसम्म त डर लागेको थियो तर मेरा लागि त्यो खुशीको पल झैं पनि थियो । यस कारणले डर लागेको थियो कि म आमाबाबाकी प्यारी थिएँ । कतै महिनावारी भएको थाहा पाएपछि मलाई मेरा साथी झैँ घरबाट बाहिर त पठाउनु हुन्न ?

यस कुराले मलाई निकै असर ग¥यो तर केही हदसम्म खुशी पनि थिएँ । खुशी यस कारणले थिएँ कि महिनावारी एउटा प्राकृतिक प्रक्रिया थियो जसले मलाई पूर्णरूपमा महिला भएको आभास गराउँदै थियो । हुन त मेरा आमाबुबाले पहिलेदेखि नै यस विषयमा भन्दै आउनुभएको थियो । आमाबुबाले मात्र होइन मलाई विद्यालयमा पनि यस विषयमा राम्रोसँग सिकाउनु भएको थियो । त्यसैले म ६ गतेसम्म ढुक्क थिएँ तर पुस ७ गते जब महिनावारी भयो, यति धेरै कुरा बुझेर पनि मभित्र स्वाभाविक रूपमै यो समाजले महिनावारीको समयमा हेर्ने दृष्टिकोणले डर जगाएको थियो ।

मेरा परिवारका अग्रज आमाबुबाबाहेक सबैजना शिक्षित नै हुनुहुन्छ । आधुनिक समयमा महिनावारीलाई सामान्य रूपमा लिइए तापनि केही समयअघिसम्म यस्तो प्रक्रियालाई अछुतो मानिन्थ्यो । त्यही समयमा जन्मे हुर्केका आमाबुबाले के सोच्नु होला भनेर म डराएकी थिएँ । आमा छोरीका लागि नजिककी साथी हुन्छिन् । यसको मतलब यो होइन कि बुबा साथी हुन सक्दैनन् । धेरैजसो छोरीले आफ्नो समस्या पहिले आफ्नी आमालाई सुनाउँछन् । छोरीहरू आमाकी प्यारी हुन्छन् । त्यस्तै म पनि आमाकी प्यारी थिएँ । मैले मेरा कुरा आमालाई सुनाउने गरेकी थिएँ ।

त्यस दिन मैले आफ्नो महिनावारी भएको खबर आमालाई निर्धक्कसाथ सुनाएँ । ममा थोरै त संकोच थियो तर आमा मेरा कुरा सुनेर ‘धत् ¤ लाटी, किन डराएकी ? यो त प्राकृतिक प्रक्रिया नै हो नि’ भनेर मुसुक्क हाँस्नुभयो । म अलिकति खुशी भएँ । आमाले मलाई प्रयोग गर्नका लागि केही सुतीका कपडा र केही प्याड दिनुभयो । म कोठामा गएँ र मोबाइल चलाउन थालेँ । अब भने मेरो डर हराइसकेको थिए । मेरी आमाले महिनावारीको समयमा दूध पिउन हुँदैन, खाना परै बसेर खानुपर्छ, बोटबिरुवा छुनु हुँदैन जस्ता कुरालाई नकार्नु भएको थियो । त्यसैले मलाई यस्ता कुरामा डर भएन ।

विचरी रमिला जसलाई महिनावारीको समयमा घरबाहिरै राखियो, उसले के कस्ता समस्या भोगिन् होला ? उसप्रति मेरो दया जागेर आयो तर मैले आपूmलाई भाग्यमानी ठानेँ । बेलुकी बाबा घर आइपुग्नु भयो । आमाले उहाँलाई सबै कुरा बताउनुभयो । मलाई सकेसम्म खुशी राख्ने प्रयत्न गर्नुभयो । अहिलेको जमानामा आएर कति विरोधमात्र गर्ने भन्ने सोचले बाबा र आमा दुवैले मलाई खाना बनाउन र गह्रौंगो काम गर्न रोक लगाउनुभयो । यस कुरामा मैले सहमति जनाएँ किनकि महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो र साथै यही प्रक्रियाले मलाई शारीरिक रूपमा परिपक्व बनाइरहेको थियो । मलाई आमाबुबाले सम्पूर्ण कार्य गर्ने अनुमति दिनुभयो ।

पल्ला घरकी दिदीलाई भने यस्तो समयमा चार दिनसम्म घरबाहिर निस्कन दिइँदैन, जबकि उनी महिनावारी हुदाँ पेट दुखेकाले रुने चिच्याउने गर्थिन् । उनी केही गर्न सक्दिनथिन् । यहाँसम्म कि खान पनि सक्दिनथिन् । विचरी कस्तो महसुस गर्छिन् होला ! मलाई सोच्दै नराम्रो लागेको थियो, उनले त झन् भोगेकी हुन् । तर म आकाशको पक्षी जस्तै थिएँ । महिनावारीले मलाई उड्न छेकेन, मेरो पढाइ छोडाएन र समाजमा झुक्न सिकाएन ।
कतै बसेका ठाउँमा रगतका टाटा त छैनन् भन्ने डर कतै भएन । त्यसै कारणले होला आज म कक्षा ९ बाट १० मा चढ्दा दोस्रो भएकी छु । महिनावारी कुनै घातक प्रक्रिया होइन । न त यसले कसैलाई असर पु¥याउँछ । नयाँ पुस्तामा महिनावारीको विषयमा राम्रो ज्ञानको विकास भइरहेको छ तर समाज अझै पुराना पुस्ताकै नीतिनियम र महिनावारीलाई नराम्रो भन्नेकै हातमा छ । महिनावारीको विषयमा गलत धारणा नबनाऔं ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Binita Mandal
Binita Mandal
2022-06-27 2:12 pm

Wow 🥰 de ekdam ramro xa

रिलेटेड न्युज

छुटाउनुभयो कि ?